२०८३ कार्तिक ६, बिहीबार
October 22, 2026, Thursday

सुजङ्ग अस्पताल र स्कूलद्वारा टुहुरा बालबालिकालाई न्यानो लुगा र शैक्षिक सामग्री वितरण


दिपायल – सुजङ्ग अस्पताल र सुजङ्ग स्कूलले १३ जना टुहुरा बालबालिकाहरुलाई न्यानो लुगा, शैक्षिक सामग्री र खेलकुद सामग्री वितरण गरेको छ । केआइसिंह गाउँपालिका- ४ पिलेगडामा रहेको  सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई उक्त सामग्री वितरण गरिएको हो ।

जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंह, नेपाली कांग्रेसका उप-सभापति नारायण जोशी, वडाध्यक्ष जयलाल धामीको सहभागितामा एक कार्यक्रमको आयोजना गर्दै सामग्री वितरण गरिएको हो । सो विद्यालयमा १३ जना अनाथ बालबालिकाहरू अध्ययनरत छन् ।

सुजङ्ग अस्पताल र स्कूलले ४ वटा कम्मलसहित १३/१३ जोर न्यानो लुगा, टोपी, पञ्जा, स्टेसनरी र खेलकुद सामग्री गरी ५१ हजार बराबरको सामग्री वितरण गरेको सुजङ्ग अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले बताए ।

केआइसिंह गाउँपालिकाले टुहुरा बालबालिका पढाउन छात्रावाससहित सो विद्यालय सञ्चालनमा ल्याएको हो । टुहुरा बालबालिका बढाउन भर्खरै मात्र विद्यालय सञ्चालनमा आएकोले थुप्रै व्यवस्थान गर्न बाँकी रहेको प्रधानाध्यापक पदम विष्टले बताए । उनले सुजङ्ग अस्पताल र स्कूलले उपलब्ध गराएको सामग्रीहरूले विद्यालय तथा बालबालिकाहरुलाई ठूलो सहयोग पुगेको बताए ।

जिल्ला समन्वय समितिका संयोजक सिंहले सरकारका विभिन्न निकायले बालबालिकाहरुको निःशुल्क पढ्न पाउने, खेल्न पाउने र गासबास पाउनु पर्ने अधिकार सुनिश्चित गर्नुपर्ने बताए । उनले अस्पताल र स्कूलले गरेको सहयोगले बालबालिकाको नैसर्गिक अधिकारको संरक्षण गर्नसमेत मदत पुगेको बताउँदै सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

गाउँपालिकाले टुहुरा बालबालिकाहरुलाई पढाउने व्यवस्था गरेको जानकारी पाए पछि विद्यालय र बालबालिकाहरुको अवस्था बुझेर आफूहरुले सहयोग गरेको सुजङ्ग स्कूलका सञ्चालक नरेश बलायरले बताए ।

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०८१ पुष ८

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP