२०८३ कार्तिक ३, सोमबार
October 19, 2026, Monday

धनगढीको जाखोर सिमसारमा चराको बासस्थान सुधार

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका ७ मा रहेको जाखोर ताल क्षेत्रमा चराको बासस्थानमा सुधार भएको छ । तालको जथाभावी दोहनलाई रोक्नुका साथै ताल क्षेत्रमा रहेको जलकुम्भी हटाइएपछि चराको बासस्थानमा सुधार भएको हो ।

केही वर्ष पहिले सो ताल क्षेत्रलाई पुरै जलकुम्भीले ढाकेको थियो । त्यहाँ रहेको जलकुम्भी हटाउनुका साथै जलीय वनस्पति र जीव संरक्षणको कार्य अगाडि बढाइएको वनस्पति अनुसन्धान केन्द्र कैलालीका प्रमुख गंगादत्त भट्टले बताए ।

“ताललाई जलकुम्भीले ढाकिसकेपछि चराहरु बस्दैनथे”, उनले भने, “हामीले जलकुम्भी हटाएर चराचुरुङ्गीले मन पराउने जलीय वनस्पति र जीव संरक्षण गरिरहेका छौं । त्यसले चराको बासस्थानमा सुधार भएको छ ।”

देवहरिया वनस्पति उद्यानमा रहेको जाखोर तालमा केही वर्ष अगाडिसम्म माछा पालन गर्नुका साथै मनलाग्दी दोहनको कार्य भएको थियो । हाल सो तालबाट कमलको फूल पनि टिप्न बन्देज गरिएको छ। जलकुम्भी मिचाहा प्रजाति भएकाले कथमकदाचित फेरि आएमा त्यसलाई तुरुन्त हटाउने कार्य गर्नुका साथै ताल संरक्षणमा जोड दिइएको जनाइएको छ ।

जाखोर तालमा बासस्थान सुधार भएपछि पहिलेको तुलनामा अचेल चराको उपस्थिति बढेको चराविद् हिरुलाल डङ्गौराले बताए। उनले चरा अवलोकनका लागि जाखोर ताल राम्रो गन्तव्य रहेको उल्लेख गरे।

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०८१ पुष २

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP