२०८३ कार्तिक ३, सोमबार
October 19, 2026, Monday

कैलालीमा धान उत्पादन वृद्धि

कैलाली । कैलालीमा किसान धान भित्र्याएर हिउँदे बाली लगाउने तयारीमा छन्। कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाका सबै ठाउँमा धान भित्र्याउने काम सकिएको छ। कतिपय ठाउँमा किसानले मुसुरो र तोरी छर्ने कार्य गरिरहेका छन्।

तिहारअघि नै धान भित्र्याएका धनगढी उपमहानगरपालिका–५ का कृषक रामप्रसाद चौधरीले अब केही दिनमै गहुँ छर्ने बताए। यसपालि नियमित पानी परेको र रोगव्याधी पनि नदेखिएकाले गत वर्षभन्दा धान राम्रो फलेको उनले बताए। तिहार सकिएलगत्तै कृषक खेतबारीको काममा व्यस्त हुन थालेका हुन्।

कृषि ज्ञान केन्द्र कैलालीले यस वर्ष धानको उत्पादन गत वर्षको तुलनामा बढेको जनाएको छ। ज्ञान केन्द्रका सूचना अधिकारी श्याम जोशीले उत्पादन ७–८ प्रतिशतसम्म बढेको आकलन गरिएको बताए। ‘तथ्यांक संकलन गरेका छौँ, एकीकृत गर्न बाँकी छ,’ उनले भने, ‘संकलित तथ्यांक हेर्दा गत वर्षको तुलनामा सात–आठ प्रतिशतसम्म उत्पादन बढेको देखिएको छ।’

जिल्लाभरि ५० ठाउँमा किसानको खेतमै गएर धान कटानी र थ्रेसिङ गरेर तथ्यांक संकलन गरिएको ज्ञान केन्द्र प्रमुख हरिप्रसाद पनेरूले जानकारी दिए। एक ठाउँमा कम्तीमा १० हेक्टर क्षेत्रमा धान उत्पादनको विवरण संकलन गरिएको उनले बताए।

यस वर्ष नियमित वर्षा भएको, रोगव्याधी नदेखिएको र बाढीले पनि धेरै क्षति नगरेकाले उत्पादन बढेको उनको भनाइ छ। ‘गत वर्ष धानमा गोबारो रोग देखिएको थियो, केही ठाउँमा बाढीले पनि क्षति गरेको थियो,’ उनले भने, ‘यस वर्ष मौसम अनुकूल भएकाले उत्पादन बढेको देखिएको छ।’

धान उत्पादनको पकेट क्षेत्रको रूपमा रहेको कैलालीमा गत वर्ष उत्पादकत्व प्रतिहेक्टर ४.७ मेट्रिकटन रहेको ज्ञान केन्द्रले जनाएको छ। आधुनिक प्रविधि र उन्नत बिउको बढ्दो प्रयोगले पनि उत्पादकत्वमा सुधार हुँदै गएको कृषि प्राविधिकहरू बताउँछन्। कृषि गणनाको तथ्यांकअनुसार कैलालीमा ६५ हजार हेक्टर क्षेत्रमा बर्खामा धान रोपाइँ हुन्छ। ज्ञान केन्द्रले भने करिब ६८ हजार हेक्टरमा धानखेती हुने अनुमान गरेको छ। कैलालीमा एक हजार हेक्टर क्षेत्रमा प्रधानमन्त्री आधुनिक कृषि परियोजनाअन्तर्गत धान सुपरजोन कार्यक्रम लागू गरिएको छ।

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जिल्लाको धनगढी, टीकापुर, सत्ती र भजनी गरी चार ठाउँमा खरिद केन्द्र राखेर गत १० कात्तिकदेखि किसानबाट धान खरिद गरिरहेको छ। खाद्यका डिपोमा गएर धान बिक्री गर्ने कृषकको संख्या भने न्यून छ।

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०८१ कार्तिक २५

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP