२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

बजेट न्यायोजित वितरण भएनः नेकपा एमाले नेतृ शर्मा

धनगढी — बजेट देख्यौं विचित्रको रातो किताबभित्र ।
कति पीडा पोखौं हजुर पीडा छन् मनभित्र ।।
सुदूरपश्चिममा चालु आर्थिक वर्ष ०८१/८२ को बजेटमाथिको छलफलका क्रममा सत्तारुढ दल नेकपा एमाले संसदीय दलका उपनेता सन्तोषकुमारी शर्मा थापाले आइतबार बिहान प्रदेशसभाको बैठकमा व्यक्त टिप्पणी हो यो ।

आर्थिक वर्ष सुरु भएको भन्दा दुई महिना ढिला गरी भदौ ३१ गते सरकारले बजेट ल्याएको छ । उक्त बजेटमाथि शनिबार सुरु भएको छलफल आइतबार बिहानको बैठकमा पनि जारी छ ।

कवितात्मक वाक्यमा आफ्नो टिप्पणी सुरु गर्दै एमाले उपनेता सन्तोषकुमारी शर्मा थापाले ‘बजेटमाथिको छलफल बेअर्थको त होइन, अर्थ बिनाको छलफलले के परिणाम दिन्छ ?’ भन्ने प्रश्न गरिन् ।

‘जनताको श्रोतसाधन जनतालाई समर्पित गर्दा दृष्टिभ्रम हुन गयो ?, बजेट कसैको निजी सम्पत्ति पनि होइन,’ उनले भनिन्, ‘बजेट न्यायोजित वितरण हुनुपर्थ्यो हुन सकेन । दुःखद कुरो हो ।’ उनले यस्तो बजेट विनियोजनको विरोध गर्नु रहर नभई बाध्यता भएको बताइन् । कमीकमजोरीलाई सच्याउादै अघि बढ्नुको विकल्प नभएको बताउँदै बुद्धि विवेक भएको ठूलो हिस्सा बाहिर छ । सरकारलाई हेरिरहेको भन्दै सरकारलाई सचेत हुन भनिन् ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद शिवसिंह ओलीले ‘बजेट कुन प्रक्रियाबाट बनेको छ’ भन्ने मूल प्रश्न रहेको बताए । ‘कुन योजना कसरी परे भन्ने छानबिन गर्न संसदीय छानबिन समिति बनाउनु पर्छ । हामी प्रमाणित गरिदिन्छौं,’ उनले भने ।

एमालेकै सांसद दमन भण्डारीले बजेट पुनरावलोकन गर्नुपर्ने बताए । ‘बजेट पुनरावलोकन गर्न नसक्ने भन्ने हुदैन,’ उनले भने ‘सबैतिरबाट यस्तै आवाज आइरहेको छ । मन्त्रीहरूलाई पृथ्वी गोलो भएको हेक्का गर्न सचेत गराए ।’

कांग्रेस नेतृत्वको वर्तमान सरकारले चालु आर्थिक वर्ष ०८१/८२ का लागि दुई महिना ढिलो गरी भदौ ३१ गते सोमबार प्रदेशसभामा बजेट पेस गरेको थियो । सुदूरपश्चिम साउन १ गतेदेखि बजेट शून्यताको अवस्थामा छ । कर्मचारीहरूले तलब पाएका छैनन् भने प्रदेश सरकारको प्रशासनिक कार्य पनि उधारोमा चलिरहेको छ । त्यस कारण सरकारमाथि जतिसक्दो चाँडो बजेट पारित गराउने दबाब छ । आइतबार नै बजेट पारित गर्ने तयारीमा छ ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०८१ आश्विन ६

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP