२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

डोटी युवती जवरजस्ती करणी प्रकरणः पीडितको जाहेरी कुर्दै प्रहरी, कानुनविज्ञ भन्छन्– ‘जाहेरी नआएपनि प्रहरीले आफै अनुसन्धान गर्नुपर्छ’

दिपायल– डोटीको बडिकेदार गाउँपालिकामा एक युवतीको जबरजस्ती करणी प्रकरणमा डोटी प्रहरीले पीडित पक्षको जाहेरी दर्खास्त नपरेको भन्दै पन्छिने प्रयास गरेको छ ।

जवरजस्ती करणी जघन्य अपराध भएका कारण प्रहरीले सूचना पाउना साथ अनुसन्धान अघि बढाउनुपर्नेमा पीडित पक्षको जाहेरी नपरेको तथा मिलापत्र गरेको कागजपत्र नभएको भन्दै प्रहरीले अनुसन्धान तथा कारबाही प्रक्रिया अघि नबढाएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता भिमलाल भट्टराइले पीडित पक्षले जाहेरी दिएमा दोषीलाई कारबाही गरिने बताए । उनले भने –‘जघन्य अपराधमा मिलापत्र गर्ने गराउने दुबैलाई कारबाही हुन्छ । मिलापत्र गराएको प्रमाणसहित कुनै पनि पक्षले जाहेरी दिनुपर्ने हुन्छ ।’ उनले उजुरी नआई प्रहरीले केही गर्न नसक्ने बताए ।

उच्च सरकारी वकिल कार्यालयका सहन्यायधिवक्ता राजेन्द्रसिंह भण्डारीले कुनै पनि घटनामा प्रहरीले सूचना पाउन साथ जाहेरीनै कुर्नुपर्ने नरहेको बताउँदै –‘सूचना पाउना साथ प्रहरीले घटनाको अनुसन्धान गर्न जरुरी हुन्छ । दोषी हो वा होइन भन्ने त्यसपछिमात्र थाहा हुन्छ । प्रहरीले जाहेरीनै कुनुपर्ने भन्ने होइन् ।’ उनले जाहेरी दर्खास्त नआएपनि प्रहरीले फरक प्रतिवेदन हालेर अनुसन्धान गर्न जरुरी रहेको बताए ।

साउन २१ गते राति गाउँपालिकाको वडा नम्बर ४ की २१ वर्षीय युवतीको दाङ निवासी पवन शाहीले जवरजस्तीकरणी गरेको बताइएको छ । अत्तरियास्थित दिव्या रोजिन एण्ड टार्पेनटाइन प्रा.लि.मा कार्यरत शाही फिल्डको क्रममा बडिकेदार पुगेका थिए । कम्पनीमै कार्यरत स्थानीय समेत रहेका भक्त जेठाराले थाहा पाएपछि घटना बाहिरीएको थियो ।

पीडकलाई पीडितको गाउँ लगेर गाउँका मुख्या रामबहादुर मौनी, भक्त जेठारा, श्री कालिका आधारभूत विद्यालय छेडाका शिक्षक चक्र बिठारीसमेत गाउँका मानिस जम्मा भएर दुई लाख ५० हजार रुपैयाँ तिरेर घट्ना मिलाउन दवाव दिएपनि पीडक शाहीले सो रकम तिर्न नसक्ने र एक लाख ५० हजार मात्र दिन सक्ने सर्तमा घटना मिलाइएको थियो ।

शाहीलाई चक्र बिठारीले ४० हजार, बडिकेदार गाउँपालिका वडा नम्बर २ खड्यौलीमा व्यवसाय गर्दै आएका मान बिठारीले १० हजार र अर्का व्यवसायी एकम जेठाराले एक लाख पीडक शाहीलाई दिएका थिए । पीडक शाहीले सो रकम पीडित युवतीको बुवालाई दिएर घटना मिलाईएको बताइएको छ । शाहीले कर्जाको रुपमा पैसा मागेकोले दिएको बताउँदै चक्र बिठारीले भने, अहिले शाहीले पैसा फिर्ता गरिसकेको बताए । पीडितकी अंकल विरभान सार्कीले भने, ‘घटना वास्तविक भएको हो । त्यसैले त डेढ लाख दिएको हो ।’

प्रहरी चौकी खड्यौंलीका ईन्चार्ज प्रहरी सहायक निरीक्षक बिरादत्त पन्तले घटनाबारे बाहिरबाट जानकारी पाएपछि पीडित भनिएकाको अंकल विरभान सार्कीको मोबाईलमा फोन गरेर पीडितको बुवासंग कुरा भएको बताए । ‘मैलै पीडितको बुवासंग कुरा गरे’ प्रहरी सहायक निरीक्षक बिरादत्त पन्तले भने, ‘पीडितका बुवाले घटना भएको स्वीकार गरेको र गरिव भएकाले लेनदेन गरेर घटना साम्य पारेको स्वीकार गरे ।’

‘मैले घटनाबारे जाहेरी दिन पीडितको बुवालाई जाहेरी दिन अनुरोध गरेको छु’ पन्तले भने, ‘आउछु त भनेका छन् तर बेलुकासम्म पुगेका छैनन् ।’

यो पनि– डोटीमा जबरजस्ती करणीमा युवतीलाई डेढ लाख दिएर मिलाईयो, प्रहरी निरीक्षक भन्छन्– ‘घटनाबारे जानकारी छैन’

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०८१ आश्विन ४

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP