२०८३ जेष्ठ १६, शनिबार
May 30, 2026, Saturday

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाईंदै

डडेल्धुरा। सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा हरेक वर्ष असोज सङ्क्रान्तिमा बुढी पोल्ने पर्व मनाउने चलन छ । डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा यो पर्व धुमधामका साथ मनाइँदै आएको छ ।

राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको दिनको सम्झनामा भाद्र सङ्क्रान्तिका दिनमा लिंगो ठड्याई बारिएको बन्ढुनी अर्थात् बुढीलाई असोज सङ्क्रान्तिको बेलुकी, राती पोलेर बन्ढुनी पर्व मनाइने गरिन्छ । यहाँका सबै गाउबस्तीहरुमा यस दिन बुढी पोलेपछि देउडा खेल खेल्ने परम्परा रहिआएको छ ।

यस पर्वमा गाईवस्तुको हेरचाह गर्ने गोठला तथा स्थानीयहरुले भाद्र सङ्क्रान्ति अर्थात् ओल्के पर्वका दिन सल्ला, बाँसको लिङ्गो ठड्याई रुखहरु, रुखका हाँगाहरु काटेर एकै ठाँउमा थुपारेर बनाएको बुढीलाई जलाउने चलन रहेको छ ।

द्वापर युगमा राक्षस पुतनाले राजा कंशको आदेशमा भगवान श्रीकृष्णलाई दुधको रुपमा विष खुवाएर मार्न लागेको बेला भगवान कृष्णले थाहा पाएर उल्टै राक्षसी पुतनाको रगत चुसी मारेको खुशीयालीमा यो पर्व मनाउने धार्मिक विश्वास छ ।

बुढी पोल्ने दिन गाई वस्तुहरुको गोबर थुपार्ने ठाँउमा काँस, अमरिसो लगायत पाँच जातको घाँसले बेरेको सल्लाको दियालोले राँको बनाएर राख्ने गर्दछन् । बेलुकी पख गाईबाच्छी पाल, बुढी निकाल, थुई बुढी थुई भन्दै काक्र मुखमा हालि फाल्दै जलाउने चलन छ । बुढी पोल्नुअघि कासको गौरा बनाई गोबर थुपारिएको माथि राखिन्छ । बारीमा भएका फलफूलका प्रत्येक रुखहरुमा कासको लुडी बनाई राख्ने चलन पनि छ । यसो गर्दा फलफूलका रुखहरु नसुक्ने र राम्रो फल लाग्ने जनविश्वास रहिआएको पण्डित टेकराज भट्टले बताए ।

दोबाटोमा जलाएको पुतना राक्षसको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन छ । यसो गर्दा गोठमा पालिने जनावरलाई कुनै प्रकारको रोग नलाग्ने धार्मिक विश्वास छ । यसै पर्वका अवसरमा डडेल्धुराका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमको आयोजनसमेत गरिँदै आएको छ । सदियौँदेखि धार्मिक, तथा सांस्कृतिक महत्व बोकेको बन्ढुनी पर्व हरेक वर्षको असोज १ गतेका दिन मनाइने गरिन्छ ।

अमरगढी नगरपालिका ७ को पोखरा बजारमा यस दिन रातभरि देउडा खेल खेल्ने चलन छ । पोखराको तिलाडी पर्केउडा र भाटागाउँबाट बाजागाजासहित धामी कामेर सल्लाको दियालोको राँको बनाई बिहान ४ बजेको समयमा बन्ढुनी पोल्ने चलन रहेको धामी लक्ष्मण कैनीले बताए । उनका अनुसार सहित देवि देवताका नारा लाउदै बाजागाजासहित बुढी पोल्ने चलन रहिआएको छ ।

कतैकतै बुढी जलाइसकेपछि वारिपारि गाउँका एक आपसमा लुतो लैजाउ भन्ने प्रचलन पनि रहेको उनले बताए । बन्ढुनी पर्व मनाउन स्थानीयहरुले बिहानैदेखि नुवाइधुवाइ गर्ने गर्छन् । असोज १ गतेदेखि नै शरदऋतुको आगमन भएको मानिन्छ । बुढी पोली सकेपछि राती वा भोलिपल्ट बिहानसम्म पानी परे गाई अर्थात् लक्ष्मीले जित्ने र पानी नपरे बुढीले जित्ने भन्ने भनाइ पनि रहेको उनले बताए ।

Related News

स्वाथ्यकर्मी बलायर सम्मानित 
स्वाथ्यकर्मी बलायर सम्मानित 
  • २०८१ आश्विन १

दिपायल – भूमिराज स्वास्थ्य चौकीमा कार्यरत एएनएम निरा भण्डारी बलायरलाई...

TOP