२०८१ आश्विन १, मंगलवार
September 17, 2024, Tuesday

रोबोटलाई तालिम दिन मान्छे खोज्दै टेस्ला, तलब घण्टाको ६ हजार रुपैयाँ बढी

काठमाडौं । टेस्ला कम्पनीले आफ्नो मानवरूपी रोबोट ‘अप्टिमस’ लाई तालिम दिन नयाँ कर्मचारीहरू माग गरेको छ । रोबोटका लागि आवश्यक डेटा संकलन गर्न मोसन क्याप्चर शुट र भर्चुअल रियालिटी (भीआर) हेडसेट लगाएर अप्टिमसले गर्नुपर्ने गतिविधिहरू नक्कल गर्ने कामका लागि कर्मचारी माग गरिएको हो ।

टेस्लाको क्यारियर साइटमा यो पदलाई ‘डेटा कलेक्सन अपरेटर’ भनेर विज्ञापन गरिएको छ, जसको तलब प्रति घण्टा ४८ डलरसम्म पुग्न सक्छ । यस कामका लागि सात घण्टाभन्दा बढी हिंड्नुपर्ने, ३० पाउन्डसम्मको तौल बोक्नुपर्ने र भीआर हेडसेट लगाएर लामो समयसम्म काम गर्नुपर्ने उल्लेख गरिएको छ ।

यस पदका लागि आवेदन दिन इच्छुक व्यक्तिको उचाइ ५.७ इन्चदेखि ५.११ इन्चसम्मको हुनुपर्नेछ, जुन अप्टिमस रोबोटको अनुमानित उचाइ ५.८ इन्चको नजिक छ । आधिकारिक टेस्ला अप्टिमस एक्स अकाउन्टले यस भूमिकाका बारेमा केही जानकारी दिइसकेको छ, जसअनुसार यो कार्य रोबोटलाई मानव जस्तै गतिविधिहरू गर्नका लागि तालिम दिन महत्वपूर्ण हुने बताइएको छ ।

बिजनेस इन्साइडरको रिपोर्ट अनुसार टेस्लाले यस्तै पदका लागि गत वर्षमा ५० भन्दा बढी कर्मचारीहरू नियुक्त गरेको थियो ।

मोसन क्याप्चर प्रविधि रोबोटलाई मानव गतिविधिहरू सिकाउनका लागि प्रायः उपयोग गरिने सस्तो र प्रभावकारी विधि हो । यो प्रविधिले रोबोटलाई मानिसहरूकै जस्तै गति सिकाउन मद्दत पुर्‍याउँछ ।

एनभिदिया रिसर्चका वरिष्ठ अनुसन्धानकर्ता अनीमेश गर्गले अप्टिमसलाई पूर्ण रूपमा सक्षम बनाउन लाखौं घण्टाको डेटा आवश्यक पर्ने भएकाले तत्कालै उद्योग कारखानामा प्रयोगमा नआउने विश्लेषण गरेका छन् । उनका अनुसार यस किसिमका मानवरूपी रोबोटहरू र तिनीहरूमा चल्ने आर्टिफिसियल इन्टेलिजेन्स सिस्टमहरूलाई विकास गर्न कष्टकर तालिम आवश्यक पर्ने हुन्छ ।

यद्यपि, टेस्लाका सीईओ एलन मस्कले केही वर्षभित्रै अप्टिमसको व्यावसायिक उत्पादन हुने बताएका छन् । तर हालसम्म अप्टिमस अन्य प्रतिस्पर्धी कम्पनीहरूले परीक्षण गरिरहेका रोबोटहरूभन्दा धेरै अघि बढेको देखिँदैन ।

Related News

डडेल्धुरामा चरेशसहित २ जना पक्राउ
डडेल्धुरामा चरेशसहित २ जना पक्राउ
  • २०८१ भाद्र ४

डडेल्धुरा- डडेल्धुरामा चरेशसहित २ जना पक्राउ परेका छन् । अमरगढी नगरपालिका–७...

TOP