२०८१ आश्विन १, मंगलवार
September 17, 2024, Tuesday

९ कक्षामा पढ्ने किशोरले आमाको सुन चोरेर गर्लफ्रेन्डलाई बर्थडे गिफ्टमा किनिदिए आईफोन १५

काठमाडौं । गर्लफ्रेन्डलाई जन्मदिनको अवसरमा आईफोन १५ उपहार दिन एक किशोरले आमाको सुन बेचेको घटना बाहिरिएको छ । दिल्लीको नजफर्गाह भन्ने ठाउँमा यस्तो घटना भएको हो ।

दिल्ली प्रहरीका अनुसार किशोरले आफ्नी प्रेमिकाको जन्मदिनमा आईफोन १५ उपहार दिन र पार्टीको बन्दोबस्त गर्न आमाको सुन चोरेका थिए । किशोरकी आमाले सुन हराएपछि स्थानीय प्रहरीमा उजुरी दिएकी थिइन् ।

सुनको सिक्री, मुन्द्रा लगायतका गहना हराएपछि उनले नजिकैको प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् । पछि अनुसन्धान गर्दै जाँदा उक्त सुन दुई ओटा सुनचाँदी पसलमा भेटिएको प्रहरीले जनाएको छ ।

२ अगस्टको बिहान ८ बजेदेखि तीन बजेको बीचमा सुन हराएको ती महिलाले प्रहरीलाई बताएकी थिइन् । हिन्दुस्तान टाइम्सका अनुसार ३ अगस्टमा महिलाले उजुरी दिएपछि अनुसन्धान अगाडि बढेको थियो ।

विभिन्न स्थानमा भएका सीसीटिभी फुटेज हेर्दा पनि घरमा कोही आवतजावत गरेको देखिएको थिएन । पछि घरकै कुनै व्यक्तिले चोरेको हुन सक्ने आशङ्का प्रहरीले गर्‍यो । त्यही क्रममा किशोरले सुन चोरेर बिक्री गरेको पत्ता लागेको हो । सो घटनापछि किशोर घरबाट गायब छन् ।

पछि प्रहरीले किशोरसँगै पढ्ने कक्षाका साथीहरूलाई उनको बारेमा सोधेको थियो । त्यही क्रममा किशोरले प्रेमिकालाई ५० हजार भारु बराबरको नयाँ आईफोन खरिद गर्न सुन चोरेर बेचेको कुरा खुलेको हो । प्रहरीले किशोरलाई फेला पार्नका लागि जति ठाउँमा छापा हान्‍यो, सबै ठाउँबाट प्रहरी पुग्नु अगावै उनी फरार हुने गरेको प्रहरीले हिन्दुस्तान टाइम्सलाई सुनाएको छ ।

प्रहरीले किशोरले खरिद गरेको सो फोन उनकी प्रेमिकाको साथबाट बरामद गरेको छ । प्रहरीका अनुसार किशोरका बुबा केही वर्षअघि बिरामी भएर बितेका थिए । किशोर निजी विद्यालयमा पढ्दै आएका थिए भने कक्षामा औसत विद्यार्थी थिए ।

किशोरले कक्षाका साथीहरूलाई आफू प्रेम सम्बन्धमा रहेको कुरा बताएकाले यस घटनाको राज खुलेको हो । किशोरले पहिले आमालाई प्रेमिकाको जन्मदिनमा राम्रो प्रभाव पार्नका लागि पैसा चाहिने माग राखेका थिए । तर, आमाले दिन नसक्ने बताएपछि उनले चोरी गर्ने योजना बनाए ।

Related News

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?
  • २०८१ श्रावण २८

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

TOP