२०८३ असार ९, मंगलवार
June 23, 2026, Tuesday

सुदूरपश्चिममा आजैबाट कर संकलन सुरु गर्ने सरकारको तयारी, मन्त्रिपरिषद्बाट पारित भयो अध्यादेश

धनगढी– सुदूरपश्चिम प्रदेशमा रोकिएको कर संकलन आजबाट सुचारु गर्ने सरकारले तयारी गरेको छ । प्रदेश सरकारले कर संकलन सम्बन्धी अध्यादेश पारित गरेसँगै कर सङ्कलनको गाँठो फुकेको हो । प्रदेशमा दैनिक करिब ४० लाखभन्दा बढि कर संकलन रोकिएको छ ।

तत्कालीन दीर्घ बहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि असार १ गते संसद्मा प्रस्तुत भएको बजेट पास हुन नसकेपछि साउन १ गते देखि सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था आएको थियो ।

बजेट र सम्बन्धित ऐनहरू असार मसान्तभित्र प्रदेशसभाबाट पारित भए मात्र सरकारले साउनबाट राजस्व उठाउन र खर्च गर्न पाउने कानुनी व्यवस्था छ । अहिले दुवै रोकिएको छ । ठुला खर्चहरू नभए पनि सामान्य खर्च भने उधारोमै चलिरहेको छ ।

आज सरकारले अध्यादेश ल्याएसँगै कर सङ्कलनको बाटो खुलेको आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले जानकारी दिए । उनका अनुसार प्रमाणीकरणको लागि आजै प्रदेश प्रमुखसमक्ष अध्यादेश पुराइने छ। अध्यादेश प्रमाणीकरण पछि राजपत्रमा प्रकाशित गर्ने कर संकलन सुरु गर्ने तयारी गरिएको सचिव अधिकारीले बताए ।

सुदूरपश्चिम प्रदेशमा अघिल्लो वर्ष साउन महिनामा मात्रै साढे १२ करोड राजस्व संकलन भएको थियो । तर,अहिले समयमा बजेट पारित नहुँदा राजश्व संकलन ठप्प छ ।

प्रदेश सरकारले ल्याउन लागेको अध्यादेशमा गत आर्थिक वर्षकै करका दरहरू राखिएका छन् । यसपालि प्रस्तुत भएको बजेटमा यातायात करमा केही संशोधन गरिएको भएपनि, बजेट पास नभएकाले तत्कालका लागि अध्यादेशमा पुरानै करका दरहरू समावेश गरिएको आर्थिक मामिला मन्त्रालय स्रोतले बताएको छ ।

 

Related News

होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित
  • २०८१ श्रावण २४

दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...

TOP