२०८१ मंसिर १८, मंगलवार
December 3, 2024, Tuesday

स्वास्थ्यमा शून्य दशमलब ७४ प्रतिशतले घट्यो सुदूरपश्चिमको बजेट

दिपायल- नगढी– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्यमा तीन अर्व आठ करोड ७० लाख ९५ हजार रकम विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन गरेको कुल बजेट ३१ अर्व ६२ करोड ९८ लाख २८ हजारमध्ये स्वास्थ्य क्षेत्रमा तीन अर्ब आठ करोड रकम (९ दशमलब ७६ प्रतिशत) विनियोजन गरेको हो ।
यो चालु आर्थिक वर्ष २०८०/८१ भन्दा बढी हो । आर्थिक वर्ष २०८०/८१ मा विनियोजन भएको कुल बजेट २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार मध्ये स्वास्थ्यतर्फ दुई अर्व ९४ करोड २१ लाख चार हजार (१० दशमलब पाँच प्रतिशत) छुट्याएको थियो । रकम बढेपनि प्रतिशतको हिसावले भने रकम घटेको छ ।

आर्थिक वर्ष २०७९/८० को तुलनामा चालु आर्थिक वर्ष रकम र प्रतिशतमा ह्वातै स्वास्थ्यतर्फ बजेट वृद्धि भएको थियो । चालु आर्थिक वर्षमा आर्थिक वर्ष २०७९/८० को तुलनामा स्वास्थ्यमा ह्वात्तै रकम र प्रतिशत वृद्धि गराएको प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्यतर्फको बजेट प्रतिशतमा कमी ल्याएको छ ।

आर्थिक वर्ष २०७९/८० मा ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारमध्ये स्वास्थ्यमा दुई अर्व ६८ करोड ३३ लाख ४९ हजार (सात दशमलब तीन प्रतिशत) विनियोजन गरेको थियो ।

आगामी आर्थिक वर्षमा स्वास्थ्यमा प्रदेश सरकारले औषधि उत्पादन, उपकरण तथा औजारतर्फ चार करोड ६७ लाख ७० हजार, बहिरंग सेवामा आठ करोड ६२ लाख नौ हजार, अस्पताल सेवामा ५० करोड १२ लाख ७३ हजार, सार्वजनिक स्वास्थ्य सेवामा दुई अर्व ३५ करोड ७८ लाख ४३ हजार र स्वास्थ्य अनुसन्धान सेवामा नौ करोड ५० लाख विनियोजन गरेको छ ।

ह्वात्तै बढाईयो शिक्षामा बजेट

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा शिक्षातर्फ ह्वात्तै बृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि शिक्षामा कुल बजेटमध्ये तीन अर्व ६४ करोड १२ लाख ३९ हजार (११ दशमलब ५१ प्रतिशत) रकम छुट्याएको छ ।
चालु आर्थिक वर्षमा कुल बजेटमध्ये दुई अर्व २९ करोड ८५ लाख १६ हजार (सात दशमलब ८५ प्रतिशत) रकम छुट्याएको थियो ।
आगामी वर्षको बजेटमा शिक्षाको लागि सहायक सेवाहरुमा बजेट वृद्धि गरेको हो । चालु आर्थिक वर्षमा सो शिर्षकमा एक अर्ब ७१ करोड ५२ लाख १४ हजार छुट्याएकोमा आगामी वर्षका लागि तीन अर्व तीन करोड ५९ लाख १२ हजार छुट्याएको छ ।
यस्तै अनौपचारिक शिक्षा सेवामा ५१ करोड ६७ लाख ७७ हजार, सिपमुलकमा १५ लाख ५० हजार र शिक्षा अनुसन्धान विकासमा आठ करोड ७० लाख विनियोजन गरेको छ ।

वातावरण संरक्षणमा पनि घटाइयो बजेट

आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा वातावरण संरक्षणतर्फको बजेट घटाइएको व्यय अनुमानमा उल्लेख छ ।
प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि वातावरण संरक्षणमा कुल बजेटमध्ये आठ करोड ७५ लाख (शून्य दशमलब तीन प्रतिशत) छुट्याएको थियो भने आगामी आर्थिक वर्षका लागि दुई करोड ३८ लाख ४० हजार (शून्य दशमलब शून्य आठ प्रतिशत) छुट्याएको छ ।
व्यय अनुमानमा वातावरण संरक्षण भनिएपनि ‘अन्यत्र वर्गिकृत नभएको’ उल्लेख छ ।

सामाजिक सुरक्षातर्फ एक करोड

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सामाजिक सुरक्षातर्फ वेरोजगार र सामाजिक असमावेशीतर्फ बजेट छुट्याएको छ । चालु आर्थिक वर्षमा सामाजिक सुरक्षातर्फ बजेट नछुट्याएको प्रदेश सरकारले आगामी आर्थिक वर्षमा एक करोड ३५ लाख ५१ हजार छुट्याएको छ ।

जसमध्ये वेरोजगारतर्फ ९२ लाख एक हजार र सामाजिक असमावेशीतर्फ ४३ करोड ५० लाख रहेको छ ।
मनोरञ्जनात्मक र खेलकुद सेवामा छैन बजेट सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा मनोरञ्जनात्मक र खेलकुद सेवामा बजेट नछुट्याएको व्यय अनुमानमा उल्लेख छ ।

आर्थिक वर्ष २०७९/८० मा कुल बजेटमध्ये पाँच करोड आठ लाख (शून्य दशमलब १४ प्रतिशत) विनियोजन गरेकोमा चालु आर्थिक वर्षमा कुल बजेटमध्ये पाँच करोड ८५ लाख –शून्य दशमलब २० प्रतिशत) छुट्याएको थियो ।

 

Related News

शिखरका ३३ जना महिलाहरुलाई बाख्रा वितरण
शिखरका ३३ जना महिलाहरुलाई बाख्रा वितरण
  • २०८१ असार ४

दिपायल – शिखर नगरपालिकाका ३३ जना महिलाहरुलाई बाख्रा वितरण गरिएको...

TOP