२०८१ जेष्ठ ३१, बिहीबार
June 13, 2024, Thursday

धनगढी उपमहानगरमा २५ प्रतिशत कमिसन मागेको आरोप (अडियो सहित)

नगर प्रमुख भन्छन– ‘भुक्तानीको सबै जिम्मा वडामा छ’


धनगढी- ‘पहिला कुल भुक्तानी रकमको २५ प्रतिशत उपमहानगरपालिकामा छोड्नुहोस । अनि तपाइको बिल पास गराउँछु’ धनगढी उपमहानगरपालिकाकी लेखा शाखाले सेवाग्राहीलाई दिएको प्रतिक्रिया हो यो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को कार्यालयसंगको सम्झौता अनुसार काम गरेवापतको रकम भुक्तानी लिन पुगेका सेवाग्राहीले २५ प्रतिशत दिन नमानेपछि फिर्ता पठाइएको हो । उनले २५ प्रतिशत उपमहानगरमा दिए भुक्तानी हुने प्रतिक्रिया दिइन । तर दिन नमानेपछि ‘कागजपत्र नमिलेको भन्दै’ भुक्तानी दिइनन् ।

सेवाग्राहीले के को २५ प्रतिशत हो भनेर प्रश्न गर्दा उनले प्रतिक्रिया दिइन् –‘पत्रपत्रिकालाई हामीले माग्ने गरेका छौं ।’
उपमहानगरपालिकाले २५ प्रतिशत कमिसन मागेको भन्दै वडा अध्यक्ष राजबहादुर ऐरलाई गुनासो गरे । तर, वडा अध्यक्ष ऐरले सो कमिसन दिएर भुक्तानी लग्न सुझाव दिए ।

धनगढीकी लेखा अधिकृत सरस्वती जोशीले लेखा शाखाले कसैबाट कमिसन मागेको नपाइएको बताइन् । उनले भनिन –‘लेखा शाखामा काम गर्ने थुप्रै कर्मचारी छन् । तर, कसैले पनि कमिसन मागेर काम गर्दैनन् । तपाइलाई भन्नेले गलत व्याख्य गरेको हुनुपर्छ ।’

पत्रपत्रिकाको कुरा उठेपछि उनले भनिन् –‘पत्रपत्रिकामा हामीले कमिसन होइन । छुट माग्ने गरेका छौं ।’ उपमहानगरमा कार्यरत सपना बोगटीका अनुसार पत्रपत्रिकाका बिलमा २५ प्रतिशत उपमहानगरले कटौति गर्दै भुक्तानी दिने गरेको बताइन् ।

सो बिलमात्र नभई वडामा उपभोक्ता समितिबाट भएका कामको भुक्तानीमा पनि २५ प्रतिशत कमिसन काटिएको आवाजमा सुनिएको छ । सहायक लेखा अधिकृतले वडामा उपभोक्ता समितिमार्फत चार लाखको भुक्तानीका लागि बिल आएको बताउँदै ‘चार लाखमा एक लाख कटौति त गर्ने हो नी ?’ तर उनले भनिन् –‘हामीले अहिले उपभोक्ता समितिमार्फत कुनै काम गराएका छैनौं । सबै ठेक्काबाट मात्र हुने गरेको छ ।’

धनगढीमा संस्था, उपभोक्ता समिति वा निर्माण व्यवसायीहरुले काम गरेवापतको भुक्तानी लिनुपर्दा उपमहानगरपालिकाले कमिसन लिने गरेको गुनासो रहेको छ । लेखा अधिकृतले कमिसन नपाए सबै कागजपत्र मिलेको भएपनि हराइदिने, भुक्तानी समयमै दिन आनाकानी गर्ने लगाएतका गुनासो उपमहानगरवासीबाट आउने गरेको छ ।

धनगढीमा सुशासन, पारदर्शी ढंगले काम गरिरहेको नगर प्रमुखको दाबी यसले छर्लगं देखाएको छ । नगरमा कमिसन नदिए वा नगर प्रमुखबारे टिकाटिप्पणी गरे काम नपाउने, समस्या झेल्नुपर्ने लगायतका भय उपमहानगरमा रहेको छ ।

नगर प्रमुख गोपाल हमालले उपमहानगरपालिकाले ठुला आयोजनाको मात्र भुक्तानी गर्ने गरेको बताउँदै लेखा अधिकृतको संरक्षण गरे । उनले भने –‘अहिले १० लाखभन्दा तलका भुक्तानी वडाबाटै हुने गरेको छ । उपमहानगरपालिका कसैले आउनुपर्दैन् । कसैले कमिसन मागेको भए, मलाई जानकारी दिनुहोस् । हामी तपाइको नाम गोप्य राख्ने छौं ।’

नगर प्रमुख हमालले वडाबाटै भुुक्तानी हुुने गरेको बताए पनि सेवाग्राहीहरुले वडामा भएका कामको भुक्तानी लिनुपरेमा उप–महानगरपालिकानै धाउनुपर्ने बाध्यता रहेको बताएका छन् । वडामा गरेको कामका आधारमा वडा अध्यक्ष र वडा सचिवको सिफारिसका आधारमा उप–महानगरपालिकाको लेखा शाखामा भुक्तानी लिन जानुपर्ने वडा अध्यक्षहरुको भनाई छ ।

Related News

कैेलाली–कञ्चनपुर सहित २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिदाँ राष्ट्रिय परिचयपत्र अनिवार्य
कैेलाली–कञ्चनपुर सहित २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिदाँ राष्ट्रिय परिचयपत्र अनिवार्य
  • २०८१ जेष्ठ २८

काठमाडौं । सरकारले १ साउनदेखि २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका...

TOP