दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि ज्ञान केन्द्र डोटीले शिखर नगरपालीकासँगको समन्वयमा जिल्लामा पहिलो पटक मेसिनबाट धान रोप्न सुरु गरेको हो ।
शिखर नगरपालिका – २ कालागाडमा मंगलवार चैते धान रोप्ने क्रममा मेसिनबाट धान रोप्ने प्रविधिको परीक्षण गरिएको हो । कृषि कार्यका लागि जनशक्ति नपाइने अवस्था भएको बेला आधुनिक कृषि उपकरणहरुको प्रयोग गरी कृषि कार्यलाई सहज बनाउने उद्देश्यका साथ यो परीक्षण गरिएको ज्ञान केन्द्रका प्रमुख गंगादत्त अवस्थीले जानकारी दिए ।
उपकरणको प्रयोगले एकातिर श्रमिक नपाइने समस्या समाधान हुने र अर्कोतिर लागत पनि कम हुने बताउँदै,”अवस्थीले भन्नु भयो,”एक बिगाह जमिनमा मान्छे लगाएर रोप्दा करीब १५ हजार खर्च हुन्छ भने मेसिनबाट चार हजार रुपैयाँमै पूरा हुन्छ । मेसिनको प्रयोगले बिउ पनि कम लाग्ने र झण्झट पनि कम हुने गर्छ।”
तराईका जिल्लाहरुमा मेसिनको प्रयोग फस्टाउँदै गएको भएपनि पहाडी जिल्लामध्य डोटीमा पहिलो पटक मेसिनको परीक्षण गरिएको अवस्थीले बताउनु भयो । “डोटीमा पहिलो पटक मेसिनको प्रयोग भएको छ, यदि किसानहरुले यसलाई रुचाए भने आगामी आर्थिक वर्षमा सहुलियत दरमा उक्त मेसिन उपलव्ध गराउन सकिने छ, “उहाँले भन्नु भयो ।
जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मणवहादुर सिंहलेधान रोप्ने मेसिनको एक कार्यक्रममाबीच शुभारम्भ गर्नु भयो । मसिनको शुभारम्भ गर्दै उहाँले कृषिमा आधुनिकीकरण गर्न सके मात्रै नेपाल आत्मनिर्भर हुन सक्ने बताउनु भयो । ” प्रविधिको युगसँगै अब सवै किसानहरुले प्रविधिसंग अभ्यस्त हुनु जरुरी छ । यसले लागत पनि कम हुन्छ र समयको पनि बचत हुन्छ,” उहाँले भन्नु भयो ।
प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले कृषिमा आधुनिकीरण गर्न मेसिनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो । मेसिनको प्रयोगबाट कृषकहरुलाई सहज हुने स्थानीय अगुवा किसान नरेन्द्र शाहीले बताउनु भयो । “हामीले गोरुको सट्टा हाते ट्याक्टर (पावर ट्रेलर) प्रयोग गर्दा धेरै सहज भएको छ, उहाँले भन्नु भयो,”अब रोप्ने मेसिनले थप सजिलो हुने बिश्वास छ ।”
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...