दिपायल – शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले सिप अनुसारको उद्योग सञ्चालन गर्नेलाई नगरपालिकाले सहयोग गर्ने बताए । नगरको वडा नम्बर ४ धुर्कोटमा संचालित वेत, बाँस तथा निगालोको सामग्री उत्पादन गर्ने तालिमको समापन गर्दै साना उद्योग सञ्चालन तथा स्थापना गर्न सहयोग गर्ने बताएका हुन् ।
नगरपालिकामा संचालित तालिम लिएर साना उद्योग सञ्चालन गर्न चाहने व्यक्तिलाई नगर सरकारले अनुदान सहित उद्योग सञ्चालन गर्न सहयोग गर्ने उनले बताए । “नगरपालिकाले विभिन्न समयमा सिपमुलक तालिमहरु सञ्चालन गर्दै आएको छ,” उनले भने,”यस अघि नगरमा दुना टपरी बनाउने, गुडिया बनाउने, मालापोते बनाउने, सिलाइ कटाइ र गाडी चलाउने जस्ता थुप्रै तालिमहरु सञ्चालन गरेको छ । तालिम पश्चात सिप अनुसारको व्यवसाय सञ्चालन गर्न नगरवासीहरुलाइ प्रोत्साहन गर्दै आएका छौं तर कोही अग्रसर बन्दैनन् । हामीले आगामी बजेटमा जनतालाई व्यवसायिक बनाउन अनुदानको व्यवस्था गर्छौं।”
घरेलु तथा साना उद्योग कार्यालय डोटीको सहयोग तथा शिखर नगरपालिकाको समन्वयमा एक महिने वेत, बाँस तथा निगालोको सामग्री उत्पादन गर्ने तालिम सञ्चालन गरिएको हो । तालिममा १० जनाको सहभागिता रहेको घरेलु तथा साना उद्योग कार्यालय डोटीका प्रमुख मोहन सिंह कठायतले बताए । तालिममा सहभागीहरुले बाँसका मुडा, हेंगर, दराज , -याक, कलम बुरुस राख्ने बट्टा लगायतका सामाग्री उत्पादन गरेका छन्।
नगर सरकारले बजारी कारण देखि उद्योग सञ्चालनका लागि आवश्यक सामग्री, मसिनको व्यवस्था गरिदिने नगर उप- प्रमुख सुनिता रावल जोराले बताइन् । नगरवासीलाई स्वरोजगार मुलक सिपसँगै साना उद्योग सञ्चालन गर्न प्रेरित गरिरहेको उनले बताइन् । नगरका महिलाहरुलाई विशेष प्राथमिकतामा राखेर विगत देखिनै सिपमुलक तालिमहरु सञ्चालन गर्दै आएको उनको भनाइ छ ।
दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...