२०८३ बैशाख ५, शनिबार
April 18, 2026, Saturday

“छात्रासँग उपमेयर”- शैक्षिक सुधारका कार्यक्रम अभियानका रुपमा संचालन


दिपायल – शिखर नगरपालिकाले विद्यालयमा “उपमेयरसँग छात्रा” कार्यक्रम सञ्चालन गरेको छ । शुक्रवार राधाकृष्ण मावि गोपघाटमा नगर प्रमुख दीर्घ बहादुर बलायर, नगर उपप्रमुख सुनिता रावल जोरा लगायतको टोली पुगेर छात्रहरूसँग अन्तरकृया गरेको हो ।

विद्यालयमा रहेका छात्राहरुको समस्या पत्ता लगाएर तिनको समाधान गर्ने उद्येश्यले कार्यक्रमको आयोजना गरिएको हो । नगर सरकारले किशोरी विद्यार्थीहरूको समस्या, समाधानका उपाय र शैक्षिक स्तर उकास्न के गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको थियो ।

छात्राहरुले आफ्ना समस्याहरू नगर सरकार समक्ष खुलेर राखेका थिए भने विद्यालयको भौतिक र शैक्षिक स्तर अझै माथि उकास्न माग गरेका थिए । विद्यालयमा हुने यस्ता कार्यक्रमहरुले  आफ्नो हौसला बढेको छात्रा उमा दासले बताइन् । उनले आफूहरुले राखेका समस्या समाधान गरिदिन नगर सरकारलाई अनुरोध समेत गरिन्।


नगर सरकारको उपस्थितिले विद्यार्थीको मनोबल बढ्नुका साथै विद्यालयको सर्वाङ्गीण विकासमा टेवा पुग्ने   प्रधानाध्यापक रमेश ओझाले बताए। “स्थानीय सरकार विद्यालयको, विद्यार्थीको अभिभावक हो,”उनले भने,”सरकारको आजको उपस्थितिले साँच्चिकै अभिभावक पाएको आभास भएको छ । विद्यार्थीहरुले आफ्ना समस्याहरू खुलेर राखेका छन् भने स्थानीय सरकारका बारेमा पनि जानकारी पाएका छन् । यो कार्यक्रम एकदमै उपयुक्त र महत्वपूर्ण छ।”

“उपमेयरसँग छात्रा” कार्यक्रममा किशोरी अवस्थामा देखिन सक्ने स्वास्थ्य समस्या, त्यसको समाधानका विषयमा नगरका स्वास्थ्यकर्मी हेमराज जोशीले जानकारी गराएका थिए । त्यस्तै छात्रा अधिकार, बाल अधिकार, बाल विवाह, शिक्षाको महत्व र विद्यालय नगर सरकार र विद्यार्थी बीचको समन्वय तथा सम्बन्धका बारेमा गैसस संयोजक हर्क बलायरले प्रस्तुति राखेका  थिए । कार्यक्रममा २ सय २२ जना छात्राहरुको सहभागिता रहेको थियो ।

छात्राहरुले विद्यालयमा ढुक्कका साथ पढ्न पाउन, किशोरा अवस्थामा देखिने स्वाथ्य समस्याबारे जानकारी होस्। आफ्ना अधिकारका विषयमा जानकारी होस् र नगर सरकारसमक्ष आफ्ना समस्या राख्न सकुन् भन्ने उद्येश्यले कार्यक्रमको आयोजना गरिएको नगर उप प्रमुख रावलले बताइन् ।

नगर सरकारले विद्यालय सुधार योजना अघि सारेको नगर प्रमुख दीर्घ बहादुर बलायरले बताए । नगर सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ,”उनले भने,”पछिल्लो समय हामी नगरको शैक्षिक स्तर कसरी सुधार गर्न सकिन्छ ? विद्यालयलाई कसरी बलियो बनाउन सकिन्छ ? नगरवासीलाई सहज स्वाथ्य सेवा कसरी उपलब्ध गराउन सकिन्छ भनेर हामी फिल्डमै उत्रेका छौं । आवश्यकता अनुसारका कार्यक्रमहरु विद्यालय तथा समुदायमा सञ्चालन गर्दै आएका छौं । यस्ले हामीलाई आवश्यकता अनुसारको कामकारबाही गर्न निर्देशित गर्ने छ ।”

विद्यार्थीहरुका अभिभावक आमाबुवा मात्रै अभिभावक होइनन् नगर सरकार पनि अभिभावक हो,” नगर प्रमुख बलायरले भने,” भोलिका कर्णधारहरुको सुनिश्चित भविष्य निर्माणका लागि हामीले पनि अभिभावकत्व ग्रहण गरेर काम गरिरहेका छौं । हामीले शैक्षिक सुधारलाई अभियानकै रूपमा सञ्चालन गर्दै आएका छौं ।”

शिखर नगरपालिकाले विद्यालयको शैक्षिक र भौतिक विकासलाई प्राथमिकताका साथ अघि सारेको छ ।शैक्षिक स्तरोन्नति गर्ने उद्देश्यले विद्यालय स्थरमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यस अघि कमजोर अवस्थाका विद्यालयमा पनि अन्तरकृया छलफल सञ्चालन गरेको थियो । विद्यालय समायोजन र दरबन्दी मिलानको काम पनि अघि बढेको नगरपालिकाले जनाएको छ ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८० फाल्गुन ५

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP