२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

सुदूरपश्चिममा राष्ट्रियसभा निर्वाचनका लागि मतदान सुरु, गठबन्धनको मतभार दोब्बर



दिपायल – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहीबार ९ बजेबाट मतदान प्रक्रिया सुरु भएको सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले बताए।

सुदूरपश्चिमबाट तीन पदका लागि ६ जनाकोे उम्मेदवारी रहेको राष्ट्रियसभा निर्वाचनको निर्वाचन अधिकृतको कार्यालय धनगढीले जनाएको छ। मतदान अपराह्न ३ बजेसम्म हुने छ ।

प्रदेश सभा परिसरमा हुने मतदानका लागि एक वटा मतदान स्थल र दुई वटा मतदान केन्द्र तोकिएको छ। प्रदेश सभा सदस्यहरूका लागि “क” र स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष र उपाध्यक्षको लागि “ख” मतदान केन्द्र तोकिएको छ ।

राष्ट्रिय सभा सदस्य हरिराम चौधरी, इन्दु कडरिया र महेशकुमार महराको पदावधि आगामी फागुन २० मा सकिन लागेकाले रिक्त हुने पद्का लागि निर्वाचन गर्न लागिएको हो ।

सुदूरपश्चिममा ५२ जना प्रदेशसभा सदस्य र १७६ जना स्थानीय तहका प्रतिनिधि गरी २२८ जना मतदाता रहेका छन्। स्थानीय तहका प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष बराबर १९ र प्रति प्रदेश सभा सदस्य बराबर ५३ मतभार तोकिएको छ  जसअनुसार कूल मतभार ६ हजार एक सय रहेको छ।

निर्वाचनमा सत्ता गठबन्धन दलका उम्मेदवार र नेकपा (एमाले) का उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसबाट अन्य कलस्टरबाट कञ्चनपुरका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसङ्ख्यक कलस्टरबाट कैलालीका नारायणदत्त भट्ट र नेकपा माओवादी केन्द्रबाट महिला कलस्टरबाट बैतडीकी रेणु चन्द उम्मेदवार छन् ।

त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट अन्यतर्फ कञ्चनपुरकी ईश्वरी खरेल, महिलातर्फ कैलालीकी सावित्री घिमिरे र अपाङ्गतातर्फ कैलालीकै रामचन्द्र जोशी उम्मेदवार छन् ।

अहिलेसम्म मतभारको आधारमा कांग्रेस सबैभन्दा बलियो अवस्थामा देखिएको छ त्यसपछि एमाले, माओवादी, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादी रहेका छन् । यहाँ राप्रपाको भन्दा स्वतन्त्र जितेकाहरूको मतभार बढी रहेको छ ।
५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा अहिले ५२ जना प्रदेश सभा सदस्य रहेका छन् । बझाङको प्रदेशसभा काङ्ग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको मृत्यु भएपछि अहिले कांग्रेसका १८ जना, नेकपा एमालेका ११ जना, नागरिक उन्मुक्ति पार्टीका ७ जना, नेकपा एकीकृत समाजवादीका ४ जना सांसद छन् । राप्रपा र स्वतन्त्रका १÷१ जना छन् ।
स्थानीय तहमा पनि सबैभन्दा धेरै कांग्रेसका जनप्रतिनिधि निर्वाचित छन् । सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये प्रमुख वा अध्यक्षमा ४० जनाले जितेका छन् भने उपप्रमुख वा उपाध्यक्षमा ४८ जनाले जितेका थिए । केही दिन पहिले स्वामिकार्तिक गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको मृत्यु भएपछि अहिले ४७ जना छन् ।
कांग्रेसको एक्लै स्थानीय तहको मतभार १ हजार ६६ हुन्छ भने प्रदेश सभाको मतभार ९५४ हुन्छ । यसरी सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनको लागि कांग्रेस एक्लैको मतभार २ हजार ५८८ रहेको छ ।
एमालेले स्थानीय तहमा २४ प्रमुख र २६ उपप्रमुख जितेको छ । एमालेले स्थानीय तहको मतभार ९५० र प्रदेश सभाको मतभार ५८३ रहेको छ । यसरी सुदूरपश्चिममा एमालेको कुल मतभार १ हजार ५ सय ३३ रहेको छ ।

माओवादीले स्थानीय तहमा १४ प्रमुख र ११ उपप्रमुख जितेको छ माओवादीको स्थानीय तह र प्रदेशसभाको कुल मतभार १ हजार ५ रहेको छ । नागरिक उन्मुक्तिले स्थानीय तहमा ४ प्रमुख र ३ उपप्रमुख जितेको छ । यो पार्टीको प्रदेश र स्थानीय तहको मतभार ५०४ रहेको छ ।

नेकपा एकीकृत समाजवादीले स्थानीय तहमा २ प्रमुख र ३ उपप्रमुख जितेको छ । यो पार्टीको दुवै मतभार ३०७ रहेको । २ पालिकामा स्वतन्त्र लडेको उम्मेदवारले प्रमुख जितेका छन् भने प्रदेश सभामा पनि एक जनाले स्वतन्त्र जितेका छन् । उनीहरूको मतभार ९१ छ । राप्रपाको मतभार सुदूरपश्चिममा ५३ मात्रै छ । यहाँ एक जना प्रदेशसभा सदस्य छन् ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० माघ ११

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP