२०८१ बैशाख २१, शुक्रबार
May 3, 2024, Friday

स्वर्गीय प्रहरी जवान कठायतको परिवारलाई आर्थिक सहयोग

दिपायल – मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका प्रहरी जवानको परिवारलाई आर्थिक सहयोग गरिएको छ । दिपायल सिलगढी नगरपालिका -४ कुमालिकोट घर भई नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान स्व. कपिल कठायतको परिवारलाई आर्थिक सहयोग गरिएको हो ।

२०७४ /८/४  गते स्व. कठायतसँगै सेवा प्रवेश गरेका ब्याजीहरुले  ८९ हजार ३ सय ४० रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । सेवा प्रवेश गरेको ६ वर्ष पूरा भएको जागिरे वर्ष गाँठका अवसरमा ८९ जना ब्याजी जवानहरुले सो रकम जम्मा गरेको जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान जयन्त भाटले बताए।

ब्याजीहरु संकलन गरिएको उक्त रकम शनिबार स्व. प्रहरी जवान कठायतका बुवा जीत बहादुर कठायत एबं आमा राधा कठायतलाई हस्तान्तरण गरिएको थियो । स्व. प्रहरी जवान कठायतका बालबालिकाहरुको पढाइमा सहज होस् भन्ने हेतुले आर्थिक सहयोग गरेको प्रहरी जवान योगेन्द्र कठायतले बताए।

दुर्घटनामा ज्यान गुमाएका प्रहरी जवान कठायत मिलनसार, इमान्दार र कर्तव्यनिष्ठ साथी रहेको उनका सहकर्मी प्रहरी जवान सुरेन्द्र बोहोराले बताए । छोराका साथीहरु घरमै आएर आर्थिक सहयोग गर्दा आफ्नै छोरा घर फर्किएको महसुस भएको आमा राधाले बताइन् ।
 
२९ वर्षीय प्रहरी जवान कठायतको २०८० साउन १४ गते कैलालीको चौकीडाँडामा मोटरसाइकल दुर्घटनामा ज्यान गएको थियो । नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुरमा कार्यरत उनी  डिउटीमा फर्किदै गर्दा दुर्घटनामा परेका थिए । उनीसँगै बझाङ घर भई इप्रका दिपायलमा कार्यरत प्रहरी जवान हेमराज डाउका गम्भीर घाइते भएका थिए। उनको डेढ महिना पछि उपचारका क्रममा निधन भएको थियो भने कठायतको घटनास्थलमै निधन भएको थियो ।

Related News

डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
डडेल्धुरामा बन्चरो प्रहार गरि श्रीमतीको हत्या
  • २०८० मंसिर १६

दिपायल- डडेल्धुरामा एक जनाले बन्चरो प्रहार गरि आफ्नै श्रीमतीको हत्या...

TOP