२०८२ माघ २, शुक्रबार
January 16, 2026, Friday

पन्ध्र घर पहिरोको जोखिममा

घरमाथिबाट पहिरो खस्न थालेपछि मङ्गलसेन नगरपालिका–८, सुतुडमा १५ घरपरिवार उच्च जोखिममा परेका छन् । मङ्गलसेन–जुपु–रामारोशन सडकमुनितिर रहेका घरपरिवार पहिरोको जोखिममा रहेका बताइएको छ ।

घरभन्दा माथिबाट पहिरो झर्न थालेपछि स्थानीय मीनबहादुर बोहरा, प्रेमबहादुर बोहरा र चेतमान बोहराका घरपरिवार भने आफन्तकहाँ सरेको स्थानीय नयनबहादुर बोहराले जानकारी दिनुभयो । घरभन्दा माथिबाट पहिरो आएर घर पुरिने समस्यासँगै अन्य घरपरिवार पनि त्रासमा छन् ।

पहिरोपीडितले समयमै पहिरोबाट बचाउने उपायका लागि सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । सडकमाथिबाट पहिरो झर्न थालेकाले टोल नै जोखिममा रहेको वडाध्यक्ष ज्ञानेन्द्रबहादुर बोहराको भनाइ छ ।

“सडकको तल्लो छेउमा जाली हाले पनि माथिल्लो छेउबाट पहिरो आउन थालेको छ, धेरै घर जोखिममा छन्,” वडाध्यक्ष बोहराले भन्नुभयो । पहिरोलाई नियन्त्रणका लागि उक्त सडक निर्माण गर्ने पूर्वाधार कार्यालय र सम्बन्धित ठेकेदारसँग छलफल भइरहेको छ ।

दुई दिनदेखि लगातार वर्षा भएकाले पहिरो थप खस्न सक्ने अनुमान स्थानीयको छ । सडक निर्माणका क्रममा उक्त स्थानमा चट्टान भएकाले पहिरो नआउने अनुमान भए पनि हाल पहिरोको जोखिम रहेको बताइएको छ ।

वर्षाका कारण अछामका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । मुख्य सडकमा रुख ढलेर, साना पहिरोले अवरोध भइरहेको बताइएको छ । सडक अवरुद्ध हुँदा ग्रामीण क्षेत्रमा सञ्चालन हुने यातायातका साधन अवरुद्ध भएका छन् ।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०८० भाद्र १२

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP