२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

कहाँ खर्च भयो शिखर सरकारको विविध शीर्षक अन्तरगतको ४७ लाख


दिपायल– शिखर नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा विविध शीर्षकमा रकम खर्च गरेको विषयलाई लिएर आलोचना हुन थालेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा नगरलाई दिएको सुझावको विषय माथि सामाजिक सञ्जालमा टीकाटिप्पणी भए पछि शिखर समाचारले सो विषयमा खोजीनिती गरेको छ ।

सामाजिक सञ्जालमा टीकाटिप्पणी भए जस्तो बजेटको दुरुपयोग नभएको लेखा अधिकृत रतन माझीको दाबी छ । सामाजिक सञ्जालनमा पुरै ४७ लाखको खाना र खाजा खाएको गलत प्रचार गरिएको छ,“उनले भने,“त्यो गलत हो हामीले त्यो विविध खर्च शीर्षकबाट विविध क्षेत्रमा खर्च गरेका छौं । महालेखा परीक्षकको कार्यालयले प्रतिवेदनमा दिएको सुझावलाई समेत हामीले चालु आबमा आत्मासाथ गरेका छौं । नियमानुसार नै सो रकम खर्च भएको छ ।”

लेखा अधिकृत माझीका अनुसार विविध शीर्षकबाट खर्च भएको भनिएको ४७ लाख ३५ हजार ५५७ रुपैंया पारदर्शीरुपमा आवश्यक बिलभरपाईका आधारमा खर्च भएको छ । ११ वटै वडा कार्यालय र नगरपालिकाले विविध शिर्षकमा छुट्याएको रकम एकमुस्ट देखिएकोले रकम बढी देखिएको लेखा अधिकृत माझीले बताए । सो रकम नयाँ जनप्रतिनिधिहरु आउनु भन्दा अगाडी खर्च भएको उनको भनाइ छ । नयाँ जनप्रतिनिधिहरु २०७९ जेठ महिनामा आउनु भयो,“जेठ र असार महिना कार्यालय व्यवस्थापन, आन्तरिक छलफल र पुरानो भुक्तानी, योजना निर्माणमा वित्यो ।  विविध शीर्षकको रकम प्राय कार्यक्रम भएकै समय भुक्तनी गर्नुपर्ने हुन्छ,“उनले भने,“ महालेखा परीक्षकको कार्यालयलले तत्कालिन समयमा सार्वजनिक गरेको सो प्रतिवेदन २०७८ साउन देखि २०७९ असार सम्मका हो । नयाँ जनप्रतिनिधि आए पछि उहाँहरुले विनियोजन गरेको बजेट शीर्षकको खर्च विवरण अवको लेखा परीक्षणमा समावेश हुन्छ जसको अडिट हुँन बाँकी छ ।

लेखा अधिकृत माझीले उपलब्ध गराएको विवरण अनुसार विविध शीर्षक अन्तरगतको ४७ लाख ३५ हजार ५५७ रुपैंया मध्य १२ लाख तीन हजार रुपैंया ११ वटै वडा कार्यालयहरुले विविध शिर्षकमा छुट्याएको रकम हो । त्यस्तै २२ लाख २४ हजार ५५७ रुपैयाँ नगरपालिका तर्फ खर्च भएको छ, जुन रकम कार्यालयको नियमित चियाखाजा, मसलन्द, कार्यापालिका बैठक, विषयगत शाखाको बैठक, आकस्मिक हुने विविध बैठक र अतिथि सत्कारमा खर्च भएको छ ।

त्यस्तै, स्थानीय निकायका पदाधिकारी एवं सदस्यहरुले पाउने अतिथि सुविधा अन्तरगत नगर प्रमुखले मासिक ११ हजारका दरले एक लाख ३२ हजार खर्च गरेको पाइन्छ भने नगर उप प्रमुखले मासिक १० हजारका दरले एक लाख विस हजार खर्च गरेको पाइन्छ । त्यस्तै ११ वटै वडाका वडाध्यक्षहरुले मासिक ८ हजारका दरले १० लाख ५६ हजार खर्च गरेको पाइन्छ ।

महालेखा परीक्षकको कार्यालयले पालिकामा हुने आकस्मिक आतिथ्य सत्कार र बैठकमा हुने खर्चको निश्चित मापदण्ड तयार गरेर मापदण्ड स्वीकृत गरेपछि  खर्च गर्दा मितव्ययिता कायम हुने सुझाव दिएको छ ।

नगर प्रमुख दीर्घ बलायरले महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको पुरानो प्रतिवेदनलाई आधार बनाएर नगरपालिकालाई बदनामित गर्न खोजिएको आरोप लगाए । उनले आफुहरु नगरमा आउनु भन्दा पहिलाको प्रतिवेदनलाई कोट्याएर ४७ लाखको खाना र खाजा खाएको गलत प्रचार गरिनु दुःखद रहेको बताए । “विगतको सरकारले गरेका कामहरुको पूर्ण जिम्मेवारी लिदैं हामी सच्चिन र सुधार गर्न तयार छौं तर, समाजमा गलत प्रचार गरिनु राम्रो कुरा होइन । मैले नगरका कर्मचारीहरुलाई सो सम्बन्धमा सबै विवरणहरु मागेको निकायलाई पारदर्शीरुपमा उपलब्ध गराउन भनेको छु, उनले भने ।”

शिखर नगरपालिकासँग पारदर्शिता, जवाफदेहिता र इमान्दारिता छ,“नगर प्रमुख बलायरले भने,“हामीले लुकाउनु पर्ने केही गरेका छैनौं र गर्दैनौ पनि, जनतालाई संका लागेको विषयमा मज्जाले हेर्नसक्नु हुन्छ । हामीले पारदर्शीरुपमा सबै देखाइ दिन्छौं । पारदर्शितासँगै जवाफदेहिता पनि हाम्रो कर्तव्य हो उठेका प्रश्नको जवाफ हामीले एक एक गरेर जनतालाई दिनै पर्छ र हाम्रो इमान्दारिता माथि प्रश्न उठ्नै दिन्नौं । नगर सरकारप्रति वैरभाव राखेर बौद्धिक र राजनीतिक व्यक्तिहरुबाटै गलत प्रचार हुनु दुःखद हो । पछिल्लो समय शिखर नगरपालिकाले ८ करोड ४६ लाख बढी बेरुजु लगत कट्टी भइसकेको छ । फछ्र्यौट भएको सो बेरुजु पनि प्रतिवेदनमा आएको छैन । अवको अडिट पछि आउला । यसमा भ्रमित नहुन आम जनसमुदायमा अनुरोध गर्दछु ।”

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० श्रावण १६

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP