२०८२ बैशाख ६, शनिबार
April 19, 2025, Saturday

भन्सार कार्यालय कञ्चनपुरद्धारा लक्ष्यभन्दा कम राजस्व संकलन

कञ्चनपुर – कञ्चनपुर भन्सार कार्यालयले लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । आर्थिक वर्ष ०७९-८० मा ५८ करोड ९६ लाख ४८ हजार राजस्व संकलन गर्ने लक्ष्य राखिएको ४२ करोड ९ लाख ९९ हजार रुपैयाँ मात्रै संकलन भएको छ । जुन लक्ष्यभन्दा १६ करोड ८६ लाख ४९ हजार रुपैयाँ कम हो ।

भन्सार कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार पछिल्ला पाँच वर्ष लगातार लक्ष्यभन्दा कम भन्सार राजस्व संकलन हुँदै आएको छ । आर्थिक वर्ष ०७७र७८ मा मात्रै लक्ष्यभन्दा बढी भन्सार राजस्व संकलन भएको थियो । त्यो पनि अघिल्लो वर्षको तुलनामा लक्ष्य घटाएर प्रगति भएको पाइन्छ ।

गत वर्ष ७१ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीको तथ्यांकअनुसार पछिल्ला पाँच वर्षयता भन्सार राजस्व क्रमिक रूपमा वृद्धि हुँदै गए पनि लक्ष्य भेट्न सकेको छैन ।

आर्थिक वर्ष ०७५-७६ मा ४० करोड १२ लाख ८४ हजार लक्ष्यमा ३६ करोड ६७ लाख ८८ हजार, ०७६-७७ मा ४८ करोड ६८ लाख ७५ हजार लक्ष्यमा २६ करोड २८ लाख ९३ हजार भन्सार राजस्व संकलन भएको थियो । उक्त आर्थिक वर्षमा ५४ प्रतिशत मात्रै भन्सार राजस्व संकलन भएपछि भन्सार विभागले अर्को आर्थिक वर्षमा लक्ष्य नै घटाएको थियो ।

कोरोना महामारीले आर्थिक वर्ष ०७६-७७ मा लक्ष्यभन्दा झन्डै आधा मात्रै भन्सार संकलन भएपछि भन्सार विभागले आर्थिक वर्ष ०७७-७८ मा लक्ष्य घटाएको थियो । उक्त आर्थिक वर्षमा ३५ करोड ६७ लाख ८८ हजार भन्सार राजस्व लक्ष्यमध्ये ३७ करोड ३९ लाख २३ हजार संकलन भएको थियोे । उक्त आर्थिक वर्षमा १०५ प्रतिशत भन्सार राजस्व संकलन भएको थियो । लक्ष्य घटाएको दोस्रो वर्ष ०७८-७९ मा पनि भन्सार लक्ष्यअनुरूप राजस्व संकलन हुन सकेन । उक्त आर्थिक वर्ष ५२ करोड ७७ लाख ६ हजारको लक्ष्यमध्ये ४६ करोड २२ लाख ४३ हजार भन्सार राजस्व संकलन भएको थियो । उक्त पाँच वर्षको वार्षिक अनुपात तुलनात्मक रूपमा भन्सार राजस्व वृद्धि हुँदै गएको छ ।

खुला सीमानाका भएकाले व्यवसायीले चोरी तस्करी गरेर सामान भित्र्याउने, ल्याएको सामान अनुरूप भन्सार नकाट्ने, भन्सारदेखि सीमा क्षेत्रमा खटिने प्रहरीको मिलोमतो जस्ता विविध कारणले भन्सार राजस्व लक्ष्यअनुरूप संकलन हुन सकेको छैन । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख ध्रुवबहादुर विश्वकर्माले सीमावर्ती जिल्ला भएर चोरी तस्करीदेखि बजारमा मागअनुरूप सामानको आपूर्ति नहुँदा भन्सार राजस्व संकलन हुन नसकेको बताए ।

‘कोरोना महामारीपछि अत्यावश्यक सामानबाहेक अन्य विलासिताका वस्तु–सेवाको बजारमा माग नै छैन,’ उनले भने, ‘बजारमा माग नै नभएपछि बाह्य क्षेत्रबाट सामान आयात घट्दै छ ।’

भन्सार प्रमुख विश्वकर्माले कञ्चनपुर भन्सार आयातमुखी भएकाले समेत राजस्व संकलन लक्ष्यअनुरूप नभएको बताए । उक्त नाकाबाट भारतमा हस्तकलाका वस्तु निर्यात हुने र भारतबाट कपडा, औद्योगिक मेसिनरी, हार्डवेयर, कृषि उपकरण, फलफूल, तरकारी, पेपर, किरानालगायतको सामान आउने गरेको छ ।

Related News

नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
  • २०८० श्रावण ४

दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...

TOP