काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला तीन दिनयता कुनैपनि व्यक्तिमा कोरोनाभाइरसको संक्रमण नदेखिएको जनाएको छ ।
मन्त्रालयले नियमित गर्दै आएको पत्रकार सम्मेलनमा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ‘र्यापिड टेस्ट’मा ‘पोजिटिभ’ देखिएका सबै रिपोर्ट ‘पीसीआर’ परीक्षणमा ‘नेगेटिभ’ देखिएको बताए ।
हालसम्म पीसीआर र ‘आरडीटी’ गरी २४ हजार २५३ जनाको परीक्षण गरिएको र पछिल्लो २४ घन्टामा चार हजार ८२२ जनाको परीक्षण भएको उनले बताए ।
यस्तै, मन्त्रालयले थप ३० हजारभन्दा बढी आरडीटी किट सबै प्रदेशमा पठाएको जनाएको छ ।
सोलुखुम्बु र डोल्पा जिल्लाबाहेक सबै जिल्लामा आरडीटी परीक्षण सुरु भइसकेको डा. देवकोटाले जानकारी दिए ।
यस्तै, ललितपुरको पाटन अस्पतालमा पीसीआर परीक्षणका लागि मेसिन जडान गरिएको भन्दै प्रवक्ता डा. देवकोटाले हाल देशका १४ स्थानबाट पीसीआर परीक्षण भइरहेको जानकारी दिए ।
मन्त्रालयले सुदूरपश्चिम प्रदेशमा उपचारका लागि चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठान (न्याम्स)मा एमडी, एमएस अध्ययनरत् ३४ जना चिकित्सकलाई खटाएको पनि प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।
‘ढुक्क भएर बस्ने अवस्था छैन’
पत्रकार सम्मेलनमा छातीरोग विशेषज्ञ डा. अर्जुन कार्कीले कोरोना संक्रमति धेरै व्यक्तिलाई लक्षण नदेखिने हुँदा कोरोनाको जोखिम छैन भनेर ढुक्क भएर बस्ने अवस्था नरहेको बताए ।
हाल देशभर सरकारले तोकेका स्थानमा चार हजार ६०७ जना ‘क्वारेन्टाइन’मा रहेका छन् भने ९० जना ‘आइसोलेसन’मा रहेका छन् ।
दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...