घरमा आमा बितेपछि भारतको धार्चुलास्थित बलुवाकोटको क्वारेन्टाइनमै कोरामा बसेका दार्चुला शैल्यशिखरका वासुदेव भट्टलाई घर फर्काउने प्रकृया नयाँदिल्लीमै अड्किएको छ।

तीन दिनअघि आमाको मृत्यु भएपछि उनले अन्तिम संस्कार गर्न घर जान दिनुस् भनेर अनुरोध गरेका थिए। नेपाली अधिकारीहरूले उनको रोदन नसुनेपछि घरका जेठा छोरा उनले आमालाई दागबत्ती दिन पाएनन्। हिन्दु संस्कारअनुसार क्वारेन्टाइनमै कोरामा बस्न बाध्य भए।
भट्टको घर र उनी किरियामा बसेको ठाउँको दूरी लगभग ५५ किलोमिटर जति होला। हिँडेर आउँदा पनि यो दूरी पार गर्ने तीन दिन लाग्दैन तर कोरामा बसेका वासुदेवलाई क्वारेन्टाइनबाट निस्कन कोसौं टाढाको नयाँदिल्लीले निर्णय गर्नु पर्नेछ। जुन निर्णय अझै दिल्लीबाट भइसकेको छैन।
शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामीले भट्टलाई नेपाल ल्याउन पहल भइरहेको जानकारी दिए। उनले बुधबार नै जिल्ला प्रशासन कार्यालयमा उनलाई वारि ल्याउन पहल गरिदिन भनेका थिए।
बुधबार नै जिल्ला प्रशासन कार्यालय दार्चुलाले पिथौरागढको डिस्ट्रिक म्याजिस्ट्रेटलाई पत्र पठायो। उक्त पत्रको जवाफ बिहीबारमात्रै आयो।
‘मैले त अनुमति दिइसकें अब नाकाका कमान्डेन्टको भरमा हो,’ बिहीबार पिठौरागढका म्याजिस्ट्रेट विजयकुमार जोगडन्डेले सेतोपाटीसँग भनेका थिए।
यता जिल्ला प्रशासन कार्यालय दार्चुलाले पारिबाट अझै प्रक्रिया पूरा नभएको बताएको छ।
‘हाम्रोतर्फबाट सबै प्रक्रिया पूरा भइसकेको छ। हामीलाई लिन आऊ भनेपछि मात्रै जाने हो,’ दार्चुलाका सहायक सिडिओ टेकसिंह कुँवरले सेतोपाटीसँग भने,’कुरा उनीहरूको गृह मन्त्रालयमा पुगेको छ आजसम्म होला कि।’
डिस्ट्रिक्ट म्याजिस्ट्रेटले अनुमति दिए पनि नाका खोल्न भारतको गृह मन्त्रालयसँग अनुमति लिन पर्ने नाकामा रेहेका भारतीय सीमा सुरक्षा बलका कमान्डेन्टले बताएका छन्।
‘हामीलाई हिजो पत्र आयो र १ बजेतिर गृहमा पठायौं। त्यसको जवाफ आएको छैन,’ कमान्डेन्ट एसएसबी माधव घोशले सेतोपाटीसँग भने, ‘हामीलाई रिप्लाई आउनेबित्तिकै नाका खोलेर पठाउछौं।’
वासुदेवसँगै क्वारेन्टाइनमा बसेका नेपालीहरूले आमा बित्दा पनि उनी घर जान नपाएको आक्रोश पोखेका छन्।
‘हामीलाई नफर्काए पनि दु:ख परेको मान्छेलाई त फर्काओस् न सरकारले,’ बासुदेवसँगै रहेका मंगलेश तिवारीले भने,’हामीलाई त कहिले फर्काउने थाहा छैन तर पीडामा रहेको मान्छेलाई फर्काउन त पहल गर्नु पर्यो नि।’
यता नगरका प्रमुख धामीले वासुदेवलाई लिन जान आफू तयार रहेको बताएका छन्।
‘आजसम्म आउला कि भन्ने आशा छ,’ धामीले भने,’लिन आउनु भन्नेबित्तिकै हामी नाकामा गाडी पठाउँछौं।’
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...