२०८३ असार ३१, बुधबार
July 15, 2026, Wednesday

म भएको भए अहिले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउँथें : प्रचण्ड

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीकै नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर जानुपर्ने कुरा आफूले गरेको दोहोर्‍याएका छन्।

प्राइम टिभीका लागि पत्रकार ऋषि धमलालाई सोमबार राति दिएको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले राजनीतिक समझदारी र सहमति बनाउन प्रमुख प्रतिपक्षीसहित दललाई विश्वासमा लिएर जाने सन्दर्भमा उच्चस्तरीय राजनीतिक संयन्त्रको कुरा आफूले गरेको प्रचण्डले बताए।

‘राष्ट्रिय सहमति आवश्यक छ भन्ने सन्दर्भमा प्रधानमन्त्रीकै नेतृत्वमा संयन्त्र बनाएर जान सकिने कुरा गरेको हो। त्यसो भन्दैगर्दा मैले साथसाथै के पनि भनेको छु भने मुख्य कुरा सरकार हो। सरकारले बनाउने संयन्त्र जो बनेको छ ठीक छ, त्यसले नै काम गर्नुपर्छ,’ प्रचण्डले भने, ‘तर राजनीतिक समझदारी र सहमति बनाउन प्रमुख प्रतिपक्षी दललगायतका दलहरूलाई पनि विश्वासमा लिएर जाने सन्दर्भमा मैले भनेको हो।’

आफूले भनेका कुरा सरकारलाई आवश्यक छैन भन्ने लाग्छ भने जबरजस्ती गर्न नखोजेको उनले बताए।

‘मैले भनेका कुरा यदि सरकारलाई अहिले आवश्यक छैन भन्ने लाग्छ भने मैले फेरि जबरजस्ती गर्न खोजेको त होइन,’ उनले भने, ‘मैले भन्ने त फेरि त्यस्तो बन्ने हो भने पनि प्रधानमन्त्रीकै नेतृत्वमा हो है भनेको थिएँ। यदि म भएको भए त त्यसो गर्थें।’

उनले प्रधानमन्त्रीलाई जे सजिलो लाग्छ त्यो गर्ने पनि बताए।

‘सरकार हाम्रो अर्को अध्यक्ष कमरेड केपी ओलीको नेतृत्वमा छ। उहाँलाई जे सजिलो लाग्छ त्यही गर्ने हो,’ उनले भने, ‘मुख्य कुरा राष्ट्रिय सहमति, राष्ट्रिय एकता बनाउन हामी सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्छ।’

Related News

करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध
करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध
  • २०७७ बैशाख २

करार कर्मचारीको जागिर संकटमा, सरकारको नयाँ व्यवस्थाविरुद्ध सिंहदरबारमा विरोध काठमाडौं...

TOP