२०८३ श्रावण १२, मंगलवार
July 28, 2026, Tuesday

नेपालमा पहिलो पटक कल्पवृक्षको जन्मोत्सव मनाइयो

दिपायल – देशभर विश्व वातावरण दिवस मनाइरहँदा धनगढीको शिवपुरी धाममा हुर्कदै गरेको कल्प वृक्षको पहिलो जन्मोत्सव मनाइएको छ । ६ हजार वर्षसम्म बाँच्न सक्ने कल्पवृक्षको पहिलो जन्मोत्सव हिन्दू धार्मिक परम्पराअनुसार आज शिवपुरी धाममा मनाइएको हो ।

शिवपुरी धाम व्यवस्थापन समिति अध्यक्ष बलदेव भट्ट, नेपाल पत्रकार महासंघ कैलाली अध्यक्ष हिमाल जोशी, पत्रकार दीपक ओली, पुष्पराज जोशीले हिन्दू धार्मिक परम्परा अनुसार कल्प वृक्षको पूजन गरी प्रथम वार्षिकोत्सव मनाएका हुन् ।

जर्मनीबाट कल्प वृक्षको बीउ ल्याएर नेपालगन्जमा गत वर्ष उमारिएको थियो । हरित अभियान तथा कल्प वृक्ष अभियानका अभियन्ता हेमन्तराज काफ्लेका अनुसार धनगढीको शिवपुरी धाममा रोपिएको कल्प वृक्ष गत वर्ष जेठ २२ गतेकै दिन व्याडमा टुसाएको थियो । ‘कल्प वृक्ष टुसाएको अर्थात जीवन पाएकै दिनलाई हामीले कल्प वृक्ष दिवसका रुपमा मनाउने निर्णय गरेर कल्प वृक्षको पहिलो जन्मोत्सव मनाएका हौं,’ अभियन्ता काफ्लेले भने,‘संयोग विश्व वातावरण दिवस र कल्प वृक्ष दिवस एकै दिन प¥यो ।’

अहिले विश्वमा बढ्दो प्रदूषणका कारण मानव जाति र प्रकृतिलाई असर परिरहेको छ । वातावरण स्वच्छ राख्न पर्यावरण जोगाउनु पर्छ भन्ने सन्देश दिन शिवपुरी धाममा आफूले रोपेको कल्प वृक्षको जन्मोत्सव मनाइएको बताउँदै पत्रकार पुष्पराज जोशीले भने,‘हामीले मानिसको जन्म दिन धुमधामका साथ मनाउँछौं, तर त्यही मानिसलाई जीवन दिने रुख, बोट विरुवाको जन्म दिन किन नमनाउने भनेरै कल्प वृक्षको जन्मोत्सव मनाइएका हौं ।’ वातावरण स्वच्छ रहे मानव जीवन पनि जिवित रहने भएकाले वातावरण स्वच्छताका लागि वनस्पतिको उत्तिकै महत्व रहेकाले वनस्पति जोगाउन सन्देश जाओस् भनेरै कल्प वृक्षको जन्मोत्सव मनाइएको उनले बताए ।

‘मानव जीवनको अभिन्न अंग वनस्पति पनि भएकाले त्यसको अस्थित्व रहे मात्रै मानिस बाँच्न सक्छ,’ नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले भने,‘कल्प वृक्षको जन्मोत्सव मनाउँदा यसले वनस्पति पनि मानव जीवनको अपरिहार्य चिज हो र यसको संरक्षण गर्नुपर्छ भन्ने सन्देश गएको छ ।’ पत्रकार दीपक ओलीले कल्प वृक्ष एक रुख मात्रै नभई यो हिन्दू धार्मिक संस्कारमा अति महत्वपूर्ण विरुवा भएको बताए । उनले भने,‘कल्प वृक्षको महत्व अथाह छ, यो एक प्रकारको जडीबुटी अन्तर्गत पर्ने विरुवा हो, यसको संरक्षण गर्नु आवश्यक छ ।’ मानिसको जीवन बचाउने वनस्पति भएकाले यसको जन्मदिन मनाउँदा वनस्पति मास्नु हुँदैन, संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिएको ओलीले बताए ।

समुन्द्र मन्थन हुँदा निस्केका १४ रत्न मध्येको एक रत्न कल्प वृक्षलाई हिन्दू धर्ममा धार्मिक महत्वका रुपमा लिइन्छ । स्वर्गको वृक्ष मानिएको कल्प वृक्ष मुनि बसेर कल्पना गरेको बस्तु पाइन्छ भन्ने विश्वास धार्मिक ग्रन्थहरुमा उल्लेख भएको शिवपुरी धामका पण्डित हरिनारायण भट्टले बताए ।

कल्पवृक्षको जन्मोत्सव मनाइएको यो पहिलो घटना हो।

Related News

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय कार्यान्वयन
  • २०७९ जेष्ठ २२

सुदूरपश्चिममा फरार दुई दोषी पक्राउ, लागूऔषध र कुटपिट मुद्दाका सजाय...

TOP