
काठमाडौँ- सरकारले तिर्न बाँकी ऋण करिब साढे १८ खर्ब पुगेको छ । नेपालको सार्वजनिक ऋण चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा १८ खर्ब ४८ अर्ब १९ करोड रुपैयाँ बराबर पुगेको देखिएको हो ।
शनिबार सार्वजनिक ‘आर्थिक सर्वेक्षण ०७८/७९’ अनुसार सरकारले ८ खर्ब ६३ अर्ब १९ करोड रुपैयाँ आन्तरिक र ९ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँ बाह्य ऋण तिर्न बाँकी छ । सरकारले तिर्न बाँकी सार्वजनिक ऋण हेर्दा अहिले हरेक नेपालीको भागमा ६५ हजार ५ सय ५६ रुपैयाँ बराबर ऋण छ ।
पछिल्लो ५ वर्षमा सरकारको ऋण दोब्बर भएको सरकारी तथ्यांक छ । आर्थिक वर्ष ०७४/७५ मा यस्तो ऋण ९ खर्ब १७ अर्ब बराबर थियो । त्यसयता सार्वजनिक ऋण ०७५/७६ मा १० खर्ब ४८ अर्ब, ०७६/७७ मा १४ खर्ब ३३ अर्ब, ०७७/७८ मा १७ खर्ब ३७ अर्ब रुपैयाँ बराबर पुगेको छ चालु आर्थिक वर्षको ८ महिनामा मात्र सरकारको ऋण दायित्व १ खर्ब ११ अर्ब रुपैयाँले बढेको छ । ०७८ असार मसान्तसम्म सरकारको ऋण १७ खर्ब ३७ अर्ब रुपैयाँ बराबर थियो ।
हरेक वर्ष ऋण बढेसँगै तिर्नुपर्ने साँवा र ब्याज पनि बढ्दै गएको छ । सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ६६ अर्ब ४७ करोड रुपैयाँ बराबर साँवाब्याज तिरेको छ । साँवाब्याज भुक्तानीमा खर्च भएको यो रकम कुल संघीय खर्चको तुलनामा १० प्रतिशत बराबर हो । अर्थात् अहिले सरकार खर्च गर्ने कुल बजेटको १० प्रतिशत बराबर ऋणको साँवाब्याज तिर्नमा खर्च भइरहेको छ । पछिल्लो ४ वर्षमा यस्तो भुक्तानी क्रमशः ६.६१, ६.७६, ७.६६ र ७.९४ प्रतिशत बराबर थियो ।
चालु आर्थिक वर्षको ८ महिनामा सरकारले आन्तरिक ऋणतर्फ २९ अर्ब २५ करोड र बाह्य ऋणतर्फ १३ अर्ब ६६ करोड रुपैयाँ गरी कुल ४२ अर्ब ५१ करोड रुपैयाँ बराबर साँवा भुक्तानी गरेको छ । त्यस्तै ब्याजतर्फ २३ अर्ब ५५ करोड भुक्तानी गरेको छ । यसमध्ये आन्तरिक ऋणको ब्याज १९ अर्ब ११ करोड र बाह्य ऋणको ब्याज ४ अर्ब ५ करोड रुपैयाँ बराबर छ ।
नेपालले वार्षिक रूपमा वैदेशिक ऋण उठाउन राखेको लक्ष्यको तुलनामा आर्थिक वर्ष ०७३÷७४ मा २९.६४, ०७४/७५ मा ४६.२१, ०७५/७६ मा ३७.३१, ०७६/७७ मा ५७.९० र ०७७/७८ मा ४३.७० प्रतिशत उठाएको देखिन्छ । वैदेशिक ऋणको लक्ष्य निर्धारण वस्तुनिष्ठ हुन नसक्नु र अधिकांश खर्च आर्थिक वर्षको अन्त्यमा हुने हुँदा न्यून शोधभर्नाका कारण ऋण प्राप्ति कमजोर रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।
दिपायल – होटल व्यवसायी संघ डोटीको अध्यक्षमा लालबहादुर मन्नी निर्वाचित...