२०८३ कार्तिक ३, सोमबार
October 19, 2026, Monday

रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्यान्न अभावकाे सङ्कट आउन थाल्याे : विश्व बैंक

विश्व बैंकले रुसले युक्रेनमा गरेको आक्रमणका कारण विश्वभर खाद्यान्न अभावकाे सङ्कट उत्पन्न हुन थालेको जनाएको छ । विश्व बैंकका अध्यक्ष डेभिड मालपासले रुस–युक्रेन युद्धका कारण धेरै देशमा खाद्यान्न सङ्कट देखिइसकेको र विश्वले गम्भीर विपत्तिको सामना गर्नुपर्ने बताउनुभएको छ । युद्ध लम्बिँदै जाँदा खाद्यान्न अभाव बढ्दै जाने र चर्को मूल्य वृद्धिका कारण करोडौँ मानिस गरिबी र न्यून पोषणको अवस्थामा पुग्ने मालपासले बताएका बीबीसीले जनाएको छ ।

विश्व बैंकले खाद्यान्नको मूल्य ३७ प्रतिशतसम्म बढ्न सक्ने अनुमान गरेको छ । खाद्यान्न सङ्कटको अवस्थाले गरिब देशहरू चाँडै समस्यामा पर्ने भन्दै विश्व बैंकले यसले विद्यार्थीको शिक्षा र स्वास्थ्यमा पनि असर पुग्ने बताएको छ । रुस र युक्रेनबाट मुख्य रुपमा खाने तेल र गहुँ निर्यात हुने भए पनि यी वस्तुको अभावका कारण मकै, चामललगायतका अन्य खाद्यान्नको पनि भाउ बढ्ने जनाइएको छ । समस्याको समाधानका लागि कुनै एउटा देशले खाद्यान्न भण्डारण गरेर राख्न नहुने, विश्वव्यापी आपूर्ति सहज बनाउनुपर्ने, उत्पादन बढाउन ध्यान दिने लगायतका काम गर्नुपर्ने विश्व बैंकको सुझाव छ ।

खाद्यान्न र ऊर्जाको मूल्य बढ्दै जाँदा विकाशाेन्मुख देशले विदेशी ऋण तिर्न नसक्दा अर्को समस्या आउनेतर्फ सचेत गराउँदै विश्व बैंकले गरिब देशहरूमध्ये ६० प्रतिशत देश ऋणको सङ्कटमा परिसकेको वा अधिक ऋणको उच्च जोखिममा रहेको बताएको छ । गरिब देशहरूलाई ऋणको बोझ कम गर्ने तरिका अहिले नै सोच्न जरुरी रहेको र विकल्प खोज्न जति ढिला भयो त्यति नै सङ्कट बढ्दै जाने पनि विश्व बैंकले जनाएको छ ।

यसअघि यसै महिनाको सुरुमा संयुक्त राष्ट्र सङ्घले पनि रुस–युक्रेन युद्धका कारण विश्वमा खाद्यान्नको चरम सङ्कट हुने चेतावनी दिएको थियो । खाद्यान्नको मूल्य वृद्धिको दर हेर्दा ६० वर्षयताकै उच्च रहेको भन्दै राष्ट्र सङ्घले बेलैमा सोच्न आग्रह गरेको छ ।

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०७९ बैशाख ९

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP