२०८२ फाल्गुन २८, बिहीबार
March 12, 2026, Thursday

बाजुरामा कालाजारका बिरामी बढ्दै

बाजुरा- बाजुरामा कालाजारका बिरामी दिन प्रतिदिन बढिरहेका छन्। जिल्लाको उत्तरी क्षेत्रका स्थानीय तहमा कालाजारका बिरामीको संख्या बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।

बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार वैशाखदेखि असारसम्म ४ जना कालाजारको बिरामी देखापरेका थिए। त्यसयता किट अभावका कारण लक्षण मिलेको भरमा उपचारका लागि नेपालगञ्ज पठाउने गरेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डाक्टर राजुराज जैशीले बताए।

उनका अनुसार बाजुराका बुढिनन्दा नगरपालिका, हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका र स्वामीकार्तिक खापर गाँउपालिकामा कालाजारको प्रकोप देखा पर्न थालेको छ।

कालाजारका बिरामी दैनिक बढेको अवस्थामा ती क्षेत्रमा रोग परीक्षण गर्ने किट नहुँदा शंकास्पद बिरामी रिफर गर्ने गरेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ। दुई महिनादेखि परीक्षण गर्ने किट नभएपछि कालाजारको लक्षण देखापरेका शंकास्पद बिरामीलाई नेपालगञ्ज रिफर गर्ने गरेको डाक्टर जैशीले बताए।

खासगरी तराईका जिल्लामा देखिने भएपनि विगत तीन वर्षदेखि बाजुरामा समेत कालाजारका बिरामी देखा पर्न थालेका छन्। कालाजार सरुवा रोग भएकाले समयमै रोगथाम गर्नुपर्ने भएपनि किट नै नहुँदा रोग फैलने सम्भावना उच्च बनेको डाक्टर जैशीको भनाइ छ।

जिल्ला स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले जिल्लामा भर्खरै कालाजार परीक्षण गर्ने किट उपलब्ध भएको र एक/दुई दिनमै स्वास्थ्य केन्द्रमा पठाउने तयारी भइरहेको बताए।

‘प्रदेश स्वास्थ्य निर्देशनालयबाट ढिलागरी किट उपलब्ध भएको छ’, स्वास्थ्य कार्यालय प्रमुख पन्तले भने, ‘आज मात्रै हामीले प्राप्त गरेका छौं, भोलि नै सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने छौँ।’

उनले कालाजारको उपचार बाजुरामा नहुने भएकाले रोग पत्ता लगाउँदै उपचारका लागि नेपालगञ्ज र धनगढी रेफर गर्ने गरेको बताए।

गत वर्ष कालाजारका कारण स्वामीकार्तिक गाँउपालिका ५ जेराकी  १३ वर्षिया भाग्य शाहीको मृत्यु भएको थियो। जिल्लामा उपचारको व्यवस्था नहुँदा नेपालगञ्ज पठाइएको र त्यहाँ पनि उपचार हुन नसकेर काठमाडौँ रेफर गरिएकी ती बालिकको उपचारका क्रममा काठमाडौँको कान्ति बाल अस्पतालमा मृत्यु भएको थियो।

Related News

सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
सुदूरपश्चिमका १६ सिट : १० मा रास्वपा, ३ मा कांग्रस र २ मा एमाले विजयी
  • २०७७ भाद्र ३१

दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...

TOP