२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

प्रहरीले निर्घात कुटिएकी महिलाको जाहेरी लिन मानेन

डोटी- दुईजना पुरुष मिलेर चरम दुव्र्यवहार गर्दै निर्घात कुटिएकी एक महिलाको जाहेरी जिल्ला प्रहरी कार्यालय डोटीले नलिएर फर्काईदिएको छ ।


जोरायल गाउँपालिका–१ गैराकी पार्वती थापामगर शनिवार गैराबजारमा निर्घात कुटिएकी थिईन् । स्थानीय दुईजना पुरुषहरु वर्तबहादुर मगर र हरि मगरले उनलाई कुटपिट गरेका हुन् ।

स्थानीयस्तरमा न्याय नपाएपछि उनी सोमबार जिल्ला सदरमूकाम सिलगढी पुगेर वकिलसंग किटानी जाहेरी गर्नपुगेकी थिईन् । उनलाई जिल्ला प्रहरी कार्यालयको मुद्दा फाँटले ‘जाहेरीमा धेरै कुरा उल्लेख गरेका’ भन्दै उजुरी दर्ता नगरी फर्काईदिएको छ ।

यस्तो थियो घटना

पीडित महिलाका अनुसार शनिवार दिउँसो उनी गैराबजारमा आफ्नै पसलमा बसिरहेकी थिईन् । त्यतिबेला वर्तबहादुर र हरि बजारमा रक्सीले मातेर हल्लाखल्ला गर्दै आए । उनीहरुले बजारमा सबैलाई तथानाम गाली गर्दै हिडिरहेका थिए ।

उनीहरु पार्वती भएठाउँमा आएर अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गर्नथाले । त्यसक्रममा वर्तबहादुरले ‘म योसंग विवाह गर्नपनि सक्छु’, ‘योसंग सुतेपनि फरक पर्दैन’भन्दै दुव्र्यबहार गर्नथाले । यसक्रममा हात तानेर समेत दुव्र्यबहार भएको उनी बताउछिन् । ‘पछि मैले पहिले बोलेर प्रतिकार गर्दैथिए । हात तान्नलागेपछि केही सीप लागेन् । अनि मैले फ्राईविनले हाने,’ उनले घटनाबारे भनिन्,‘त्यसपछि दुबैजनाले मलाई कपाल तानेर सडकमा ल्याएर लात्तैलात्तैले हाने ।’ घटनाबारे अरु स्थानीय महिलालाई समेत थाहा भएको उनले बताईन् ।

घटनापछि नियमित रक्तश्राव भईरहेको उनले बताईन् । ‘बिहानसम्म धेरै रगत बगिरहेको थियो । शरीर नराम्ररी दुखिरहेको छ,’ उनले भनिन् ।

त्यसपछि उनले प्रहरी चौकी गैरामा उजुरी गरेकी थिईन् । आईतबार छलफल गर्दा स्थानीय सबैले मिल्नुपर्ने भनेपछि कुटपिट गर्नेहरुले माफि मागेर उपचार गरिदिए मान्न आफु राजी भएको उनले बताईन् । उनले भनिन्, ‘उल्टै उनीहरुले अपशब्द प्रयोग गर्दै योसंग किन माफि माग्ने ? यसको कहाँसम्म पावर छ ? जिल्लामै हेरौला भनेर उल्टै धम्क्याए ।’

चौकीमा भएको छलफलमा पुगेका जोरायल गाउँपालिका–१ का वडाध्यक्ष भजनसिँह मल्लले अभियुक्तहरुले माफिसम्म माग्न नमानेको बताए । ‘प्रत्यक्षदर्शीहरुले घटना भएको भन्छन् । उनीहरुले त्यो दिन बजारमा पुरै गालीबेईज्जती गर्दै हिडेको र ती महिलालाई कुटपिट भएको देख्नेहरु भन्छन्,’ उनले भने,‘पीडित महिलाले नै भनेको माफि मागेर उपचार गरिदिने शर्त पनि उनीहरुले मानेनन् ।’

त्यसपछि प्रहरी र स्थानीयको सल्लाहमा सोमबार पीडित पार्वती जिल्ला प्रहरी कार्यालय डोटी पुगेकी हुन् । उनी जिल्ला सदरमूकाम आउदा अभियूक्तहरु ईलाका प्रहरी कार्यालय बुडर पठाईए । उनीहरुलाई स्थानीय एकजना व्यक्तीको रहोवरमा प्रहरीले छाडिदिएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरिक्षक दीलिपसिँह देउवाले पीडित र पीडकका वीचमा छलफल गराएर निर्णय गरिने बताए । ‘घटना ईलाका प्रहरी कार्यालय बुडरले हेर्नेगरी पठाईएको थियो । उहाँ(पीडित) यता आउनुभएछ,’ उनले भने,‘अभियूक्त दुबैजनालाई यतै ल्याउन भनेको छु । पु–याएपछि छलफल हुन्छ ।’ कुरा नमिले उजुरी दर्ता हुने उनले बताए । ‘दर्ताको समय अझै बाँकी छ । कुराकानी नमिले दर्ता हुन्छ,’ उनले भने ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ असार २२

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP