२०८१ आश्विन १, मंगलवार
September 17, 2024, Tuesday
केआईसिंह विशेष

चुनावी घोषणा पत्रमा जाहेर गरेका प्रतिबद्धता पुरा गरेउँ : अध्यक्ष शाही

डोटी– स्थानीय सरकार स्थापना भएको चार वर्ष पुरा भएको छ । यो अवधिमा स्थानीय सरकारले गरेका गतिविधिहरु, पालिकाको विकास, पालिकाहरुमा देखिएको परिवर्तन र जनप्रतिनिधिको जीवन शैलिमा भएको परिवर्तनको चर्चा सुरु भएको छ । चार वर्षको अवधिमा जनप्रतिनिधिहरुले घोषणा पत्रमा जाहेर गरेका प्रतिवद्धताहरु र जनप्रतिनिधिहरुको विलासीनताका सवालमा थुप्रै प्रश्नहरु उठ्ने गरेका छन् ।

गाउँपालिकाको सरकार प्रमुखमा निर्वाचित भए देखि हालसम्म सामान्य जीवनशैलीमा देखिने केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाहीसँग शिखर समाचारले कुराकानी गरेको छ । प्रस्तुत छ २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा निर्वाचीत शाहीसँग शिखर समाचारले गरेको कुराकानी ।

पछिल्लो समय केआईसिंह सरकार के गर्दै छ ?

पछिल्लो समय हामी नयाँ आर्थिक वर्षको बजेट विनियोजन, योजना बाँडफाड, चालु आबका योजनाहरुको अनुगमन, भुक्तानी र निर्माण पुरा भएका योजनाहरुको उद्घाटनमा व्यस्त छौं । कोरोना भाइरस कोभिड १९ का कारण विकास निर्माणका कार्यमा केही ढीला हुन गएको छ । थुप्रै चुनौती र समस्याका बाबजुत गाउँपालिकाद्वारा विनियोजित चालु आबका योजनाहरुलाई पूर्णता दिदै छौं ।

गत आब र यो वर्ष स्थानीय सरकारलाई काम गर्न निकै कठिनाइ र बाधा आए । एकातिर जनताको स्वास्थ्यको रक्षा गर्नु पर्ने अर्का तिर नियमित कामकाज गर्न नसकिने अवस्था सिर्जना भएको थियो । बजेट देखि जनशक्तिको अभाव त्यसैमाथि महामारी यस्तो समयमा जनता र सरकारले निकै कठिनाइ भोग्नु परेको थियो । पछिल्लो समय अवस्था सामान्य बन्दै गएपछि जनताको चाहना सुझाब सल्लाह, जनशक्ति, बजेर र आफ्नो बौदिकताले भ्याएसम्मको काम तिव्र गतिमा गर्दैछौं । यो वर्ष हाम्रो कार्यकालको अन्तिम अवसर भएकाले अहिलेको बजेटलाई अझै जनमुखी, लोकप्रिय बनाउँन र चुनावी घोषणा पत्रमा प्रतिवद्धता गरेका कुराहरु पुरा गर्न लागि परेका छौं ।

निर्वाचनका बेला चुनावी घोषणापत्र मार्फत गरेका प्रतिबद्धताहरु कत्तिको पुरा गर्नु भयो ?

हामी निर्वाचित भएको चार वर्ष पुग्दै छ । यो अवधिमा हामीले धेरैजसो चुनावी घोषणा पत्रमा बोलेका कुराहरु पुरा गरिसकेका छौं । काम गर्दै जादा त्यस पछि पनि हामीले जन अपेक्षा र आवस्यकता बमोजिम प्रतिवद्धता जनाउँदै आएका छौं ।

हाम्रो प्रतिबद्धता विकास निर्माणमा मात्रै नभएर सुशासन मैत्री, जन सेवा मैत्री, आत्मानिर्भर, भ्रष्टाचारमुक्त समुन्नत समाजको निर्माण गर्नेमा पनि केन्द्रित थियो । धेरै जसो प्रतिबद्धताहरु पुरा भएका छन् भने बाँकी प्रतिबद्धताहरु सरकार बाहिर रहँदा पनि पुरा गर्नेछौं । आफ्नो कार्यकालमा हामीले निर्वाचन हुनु भन्दा पुर्व चुनावी घोषणा पत्रमा बोलेका र जाहेर गरेका प्रतिवद्धता एक पछि अर्को पूरा गर्दै गइरहेका छौं ।

शिक्षा, स्वास्थ्य, सडक सञ्जाल, कृषिका क्षेत्रमा चुनावी प्रतिबद्धता भन्दा बढी सक्रिय भएर काम गरेका छौं । गाउँपालिकामा स्वास्थ्यका क्षेत्रमा निकै सुधार आएको छ । गर्वपती महिला, बालबालीकाका लागि पोषण, वृद्धहरुका लागि विशेष स्वास्थ्य सेवा, गाउँपालिकामै विशेषज्ञ चिकित्सक सहितको सेवा, एम्बुलेन्स सेवा, स्वास्थ्यका भवन देखि भौतीक पूर्वाधार निर्माण, थप र सुधार गरेका छौं । जनताहरुले सहज रुपमा सशुल्क स्वास्थ्य सेवा पाइरहेकाछन् । शिक्षा क्षेत्रमा पनि उल्लेखनीय कार्यहरु भएका छन् । भौतिक पूर्वाधार निर्माण देखि शैक्षिण गुणस्तर, विद्यालय जान प्रोत्साहन, शिक्षकलाई प्रोत्साहन स्वरुप गुरु दक्षिणाका व्यवस्था । जनशक्तिको परिपूर्ती लगाएतका कार्यहरु गरेका छौं । कोरोना भाइरस कोभिड १९ का कारण शिक्षा र स्वास्थ्य क्षेत्रमा निकै असर परेको छ त्यसको सुधारका लागि पनि योजना बनाएकाछौं ।

गाउँपालिकाका सबै गाउँहरुमा सडक सञ्जालसँग जोडेका छौं । सबै क्षेत्रहरुमा सवारी साधान मार्फ यात्रा गर्न सकिने बनाएका छौं । गाउँपालिकाको केन्द्र सम्म बस सेवा नै सञ्चालन भएको छ । पहाडी क्षेत्र, भौगोलिक विकटता भएका कारण सडक सञ्जाल निर्माणमा धेरै लगानी खर्च भएको छ । कृषि क्षेत्रमा आधुनिक कृषि प्रणालीलाई प्रोत्साहन दिएका छौं । कृषिमा गाउँपालिकालाई आत्मानिर्भर बनाउन सफल भएका छौं । कृषिमा अनुदान देखि लिएर आधुनिक कृषि सामग्रीको प्रयोगलाई जोड दिदै उत्पादनमुखी कृषि योजना अघि सारेर काम गरेका छौं । परम्परागत कृषिलाई छोडेर आधुनिक उत्पादन मुखी कृषिमा लागेका जनताहरु आत्मानिर्भर बन्दै गएका छन् । बजेटले भ्याएसम्म सिंचाइ खानेपानिको व्यवस्था गरिएको छ ।

व्यरोजगारीको समस्या समाधान गर्नका लागि स्व. रोजगारी मुलक कार्यक्रमहरु सञ्चालन गरिएको छ । युवाहरुलाई कृषि, पशुपाल लगायत सिपमुलक तालिमहरु समावेस गराएका छौं । स्थानीय उत्पादनलाई बाहिरि बजार सम्म पु¥याउन थुप्रै कार्यक्रमहरु सञ्चालन गरेका छौं । गरिव जनता तथा परिवारका लागि सहुलियतमा दैनिक उपभोग्यका सामग्री, मल, औषधि उपचार उपलब्ध गराउँदै आएका छौं । महिला, दलित र अन्य लक्षित वर्गलाई सिलाई कटाइ, होजियारी लगायत विभिन्न किसिमका सीपमुलक कार्यक्रम संचालन गरिएका छन् । हामी निरन्तर रुपमा जनताका आवश्यकता र हाम्रा प्रतिवद्धता पूरा गर्न लागिपरेका छौं ।

यहाँको कला संस्कृती, इतिहाँस, पर्यटन क्षेत्रको प्रवद्र्धन, विकास र प्रचार प्रसारका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरेका छौं । गाउँपालिकाको समग्र विकासका लागि सम्बन्धित क्षेत्रका विज्ञहरुसँग समन्वय, सहकार्य गरेर अघि बढेका छौं ।

जनअपेक्षा अनुसार काम भएन भन्ने स्थानीयको गुनासो छ, तपाइँ के भन्नुहुन्छ ?

जनताहरुसँग प्रतक्ष जोडिएको घरदैलोको सरकारसँग गुनासो आउनु स्वभाविक हो । हामीले सहि समयमा सकारात्मक तवरबाट आएका जनताका गुनासा र सुझाबमै टेकेर काम गर्दै आएका छौं । सुझाव सल्लाह र जनगुनासोलाई सहजै ग्रहण गरेर मनन गर्ने गरेका छौं ।

मानिहरुका आवस्यकता इच्छा चाहनाहरु कहिले पुरा हुँदैनन् । सेवा सुविधा अनुसार चाहनाहरु पनि बढ्दै जान्छन् । गाउँसरकारको सिमित बजेर र जनशक्ति प्रयोग गरेर एकैचोटी ठुलो परिवर्तन हुँदैन । विकास, परिवर्तन भन्ने कुरा विस्तारै हुने हो । सुरुवाती चरणमा आउने गुनासाहरु समाधान भएका छन् । थपिएका गुनासा र अपेक्षा पुरा गर्न अझै समय छ । हामी जनताका लागि नै भनेर काम गरिरहेका छौं । हामी जनताकै सेवक हौं जनता हाम्रा मालिक हुन् । राजनीतिक बाटोबाट आएका कारण कसैले राजनीतिक पूर्वाग्रह राखेर बिरोध गर्ने गरेका छन् हामीले त्यसलाई समेत सुझावका रुपमा ग्रहण गरेका छौं । मुलुक संघियतामा गइसकेपछि हाम्रो स्थानीय तह मात्र नभएर देशै भरीका स्थानीय तहरुमा धेरै विकास भएको छ । स्थानीय सरकारले गर्दा गाउँ गाउँमा जनताका अधारभूत अवश्यकता प्रत्यक्ष सम्बोधन हुँदै गएका छन् । यद्यपि हाम्रो जस्तो अल्पविकसित समुदायमा अथाह माग र अपेक्षा हुँदा हामीसँग भएको सिमित बजेट, श्रोत र साधनले एकैचोटी सबै विकास र अपेक्षा पुरा हुन सक्दैन । ती जनअपेक्षा क्रमशः पुरा हुँदै गएका छन् ।

कार्यान्वयनको चरणमा रहेका थुप्रै योजनाहरुमा विवाद छ भन्ने छ नी ?

हाम्रो गाउँपालिकाबाट कार्यान्वयन भएका योजनाहरुमा त्यती विवाद देखिएको छैन । विवाद देखिए पनि स्थानीय स्थरमै गएर समाधान गर्ने गरेका छौं । जनताहरुले समग्रमा टोल–टोलबाटै योजनाहरु छनोट गरेर माग गर्ने गरेका कारण त्यस्तो देखिदैन । काम गर्दा सामान्यतया उपभोक्ता समितिको विवाद आउछ त्यो समाधान पछि मात्रै कामको सुरुवात हुन्छ ।

गाउँपालिकामा प्रदेश र संघ सरकारबाट आएका योजनाहरुमा चरम विवाद देखिन्छ । विवादका बीच पनि काम हुँदै आएको पाइन्छ । ती योजनाहरुलाई लिएर गाउँपालिकाका योजनामा विवादित भनेर जोडिन्छ । धेरैले प्रदेश र संघ सरकारबाट आएका योजनामा स्थानीय सरकारको हात हुँदैन भन्ने बुझेका हुँदैन । हामीलाई ती योजनाको सिफारिस, अनुगमन गर्ने अधिकार नै दिएको हुँदैन । आवस्यक लागे योजनाको काम गर्ने मान्छेले सिफारिस लगेर जान्छन् । धेरैले हामीसँग समन्वय सहकार्य, सिफारिस माग नगरेरै काम गर्ने गरेका छन् । हामिलाई अधिकार नभएको योजनामा आएको विवाद हामीले समाधान गर्न निकै कठिन छ । त्यस्ता योजनाहरुसँग स्थानीय सरकारलाई मिच्नु हुँदैन ।

अन्त्यमा केही भन्नु छ ?

हामी जनताले आफ्नो काम गर्न पठाएका सेवक हौं । कार्यकालको अन्तिम वर्षमा हामी छौं । आफुले गरेका प्रतिबद्धता पुरा गरेकाछौं । केही अपेक्षा अझै होलान् एक वर्षको दौरानमा ति अपक्षाहरु पनि पुरा गर्ने प्रयास गर्नेछौं ।

आफ्नो चाहना इच्छालाई खुच्याएर शुद्ध सेवाभाव राखेर, विलासीन जीवनशैलीबाट पर रहेर जनसेवा गरेको छौं । हामीले गरेको काम इमान्दारीताको मुल्याङ्कन गर्दै जनताले थप काम गर्न प्रेरणा दिनेछन् भन्ने अपेक्षा राखेका छौं । विगतका वर्ष झैं यो वार्ष पनि सहज रुपमा काम गर्ने वातावरण बन्ने र कार्याकाल सफल हुनेमा विश्वस्त छु । धन्यबाद ।

Related News

नगर विकास कोष सञ्चालक समिति सदस्यमा लम्की नगर प्रमुख शाही मनोनित
नगर विकास कोष सञ्चालक समिति सदस्यमा लम्की नगर प्रमुख शाही मनोनित
  • २०७८ असार १३

दिपायल– कैलालीको लम्की चुहा नगरपालिकाकी नगर प्रमुख शुशिला शाही नगर...

TOP