२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

डोटीको बडीकेदार गाउँपालिका भित्र आवत जावतमा पूर्ण रूपमा रोक

गणेश मौनी

डोटी- डोटीको बडीकेदार गाउँपालिकाले एक साताका लागि गाउँपालिका भित्र आवत जावतमा पूर्ण रूपमा रोक लगाएको छ ।

गाउँपालिकाको भाद्र १८ गते बिहीबार बसेको कार्यपालिकाको बैठकले गाउँपालिका क्षेत्र भित्र भाद्र २० गते राति १२ बजे देखि २६ गते राति १२ बजे सम्मका लागि गाउँपालिका भित्र आवत जावतमा पूर्ण रूपमा रोक लगाउनुका साथै गाउँपालिका सँग जोडिएका सम्पूर्ण नाकाहरू बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले बताए ।

हालकै दिनहरूमा गाउँपालिका बाहिरबाट गाउँपालिका भित्र आवत जावत गर्ने नागरिकहरूको संख्या बढ्दै गइरहेको र छिमेकी जिल्ला र स्थानीय तहहरूमा सक्रमणको संख्या बढ्दै गइरहेको अवस्थामा संक्रमणको स्थितिलाई मध्यनजर गर्दै थप संक्रमण फैलिन नदिन रोकथाम तथा उपचार सम्बन्धी कार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाई प्रतिकुल प्रभाव पार्न नदिन आवत जावत बन्द गरिएको अध्यक्ष चन्दले बताए ।

गाउँपालिकाले जारी गरेको सूचना अनुसार एक टोलबाट अर्को टोलमा आवत जावत बन्द गरिएको, गाउँपालिका सँग जोडिएका सम्पूर्ण नाकाहरू पूर्ण रूपमा बन्द गरिएको, पशु पौपाया खरिद बिक्री कार्य बन्द गरिएको, आपतकालिन र अत्यावश्यक क्षेत्र खुला रहने गरी अत्यन्त जरुरी काम बाहेक घरबाट बाहिर हिँडडुल गर्न बन्द गरिएको, एम्बुलेन्स सब वाहन, कूटनीतिक नियोग, खाद्यान्न, तरकारी औषधी, स्वास्थ्य कर्मी, सुरक्षाकर्मी, सञ्चार निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन पूर्ण रूपमा बन्द गरिएको, सबै प्रकारका भेला, सभा सम्मेलन सेमिनार, गोष्ठी, धार्मिक तथा सांस्कृतिक मेला पर्व लगायतका कार्यक्रम नगर्नुका साथै एकै ठाउँमा जम्मा भएर भिडभाड नगर्न अपिल गरेको छ ।

डोटी जिल्लामा हाल सम्म ९ सय ५१ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । जिल्लाको स्थानीय तह अनुसार सबै भन्दा कम सङ्क्रमितको संख्या बडीकेदार गाउँपालिकामा रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । प्रमुख मलासीका अनुसार दिपायल सिलगढी नगरपालिकामा १ सय २७ जना, शिखर नगरपालिकामा २ सय ९५ जना, पुर्विचौकी गाउँपालिकामा १ सय ५७ जना, के आई सिंह गाउँपालिकामा २१ जना, जोरायल गाउँपालिकामा ३० जना, बडीकेदार गाउँपालिकामा १३ जना, आदर्श गाउँपालिकामा १ सय ९६ जना, सायल गाउँपालिकामा ८४ जना, बोगटान फुड्सिल गाउँपालिकामा २८जना रहेका छन् ।

जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रले डोटी जिल्ला भर लागु हुने गरी भाद्र १४ राति १२ बजे देखि २१ गते राति १२ बजे सम्मका लागि सङ्क्रामक रोग ऐन २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम निषेधाज्ञा जारी गरिसकेको थियो ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७७ भाद्र १९

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP