२०८३ कार्तिक ३, सोमबार
October 19, 2026, Monday

असार १५ आज: धान दिवस तथा दही–चिउरा खाने पर्व देशभर मनाइँदै, सुदूरपश्चिमका किसान पनि रोपाइँमा व्यस्त

असार १५ आज: धान दिवस तथा दही–चिउरा खाने पर्व देशभर मनाइँदै, सुदूरपश्चिमका किसान पनि रोपाइँमा व्यस्त

कृषिप्रधान नेपालको सांस्कृतिक पर्व असार १५ हर्षोल्लासका साथ मनाइँदै, पर्याप्त वर्षा र मलको अभावले केही क्षेत्रमा रोपाइँ प्रभावित

नेपालभर आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्व विविध कार्यक्रमका साथ मनाइँदै छ। कृषिप्रधान देश नेपालमा धान रोपाइँको मुख्य समय मानिने यस दिन किसान खेतमा धान रोप्दै दही–चिउरा खाएर पर्व मनाउने परम्परा रहेको छ।

सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, अछाम, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा र दार्चुलासहित विभिन्न जिल्लाका किसान पनि आज धान रोपाइँमा व्यस्त छन्। मनसुन क्रमशः सक्रिय बन्दै गएसँगै प्रदेशका केही क्षेत्रमा रोपाइँले गति लिन थालेको छ।

दही–चिउरा खाने परम्पराको सांस्कृतिक महत्व

असार १५ लाई नेपाली समाजमा दही–चिउरा खाने पर्वका रूपमा पनि विशेष महत्व दिइन्छ। खेतमा दिनभरि काम गरेर थकित भएका किसानले शरीरमा शीतलता र ऊर्जा प्राप्त हुने विश्वासका साथ दही–चिउरा खाने परम्परा रहिआएको छ।

खेतीपातीमा संलग्न व्यक्तिमात्र होइन, विभिन्न पेसा तथा व्यवसायमा आबद्ध नेपालीहरूले पनि यस दिन दही–चिउरा खाएर पर्व मनाउने गरेका छन्। नेपाली संस्कृतिमा दहीलाई शुभताको प्रतीक मानिन्छ। शुभकार्यमा घरबाट निस्कँदा वा नयाँ काम सुरु गर्दा दही सगुनका रूपमा खाने चलन आज पनि कायम छ।

वैज्ञानिक दृष्टिले पनि लाभदायक

दहीलाई वैज्ञानिक तथा आयुर्वेदिक दुवै दृष्टिले स्वास्थ्यवर्द्धक खाद्य पदार्थ मानिन्छ। यसले पाचन प्रणालीलाई सुदृढ बनाउने, शरीरलाई शीतलता प्रदान गर्ने तथा पखालाजस्ता समस्यामा समेत लाभदायक हुने विश्वास गरिन्छ।

धान दिवसको इतिहास

नेपाल सरकारले वि.सं. २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन सुरु गरेको हो। कृषिमा आधारित अर्थतन्त्र भएका कारण धान उत्पादन बढाउने, कृषिप्रति आकर्षण बढाउने र किसानको सम्मान गर्ने उद्देश्यले यो दिवस मनाइँदै आएको छ।

यस अवसरमा देशभर किसानहरूले असारे भाका गाउँदै, हिलोमा रमाउँदै सामूहिक रूपमा धान रोप्ने परम्परा आज पनि जीवित छ।

पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

यस वर्ष असारको मध्यसम्म पनि देशका सबै क्षेत्रमा पर्याप्त वर्षा हुन नसकेका कारण अपेक्षाअनुसार धान रोपाइँ हुन सकेको छैन। केही स्थानमा किसानले रासायनिक मलको अभाव भएको गुनासो गरेका छन्।

यद्यपि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभर पर्याप्त मात्रामा रासायनिक मल मौज्दात रहेको जनाएको छ।

कृषि विज्ञहरूका अनुसार समयमै रोपाइँ सम्पन्न गर्न मनसुनको नियमित वर्षा र मलको सहज उपलब्धता आवश्यक रहने बताएका छन्।

Related News

डोटीमा जिप दुर्घटना, एक महिला घाइते
डोटीमा जिप दुर्घटना, एक महिला घाइते
  • २०८३ असार १५

दिपायल — डोटीको दिपायल सिलगढी नगरपालिका–६ नाचनथलीमा जिप दुर्घटना हुँदा...

TOP