२०८१ बैशाख २९, शनिबार
May 11, 2024, Saturday
प्रवासी नागरिकसँग शिखर समाचार

इजरायलमा नेपालीहरु सुरक्षित छन्, आफन्तले चिन्ता लिनु पर्दैन : एनआरएनए अध्यक्ष गिरी

इजरायल र प्यालेस्टाइनबीच लामो समय देखि द्वन्द्व चलिरहेको छ । इजराइलमा पछिल्लो समय हवाई अनि समुद्री आक्रमण हुने गरेको छ । दैनिक जसो रकेट र गोला बारुद बर्सिने गरेकाछन् । विश्वभर नयाँ भेरिएण्ट सहितको कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिरहेको छ । तीन देखि पाँच हजार सम्म नेपाली कामदार र ६ सय बढी नेपाली बिद्यार्थीहरु रहेको इजराइलमा नेपालीहरुको हालको अवस्था के छ भन्ने विषयमा त्यहाँ स्थित गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद इजरायलका अध्यक्ष गणेश गिरीसँग शिखर समाचारका सम्पादक पवन महराले कुराकानी गरेका छन् । । प्रस्तुत छ, समसामयीक विषयमा गरिएको उक्त कुराकानीको संपादित अंश:

इजरायल स्थित नेपालीहरुको हालको अवस्था कस्तो छ ?

इजरायलमा नेपालीहरु हाल सम्म सुरक्षित रहेकाछन् । यहाँ इजरायल र प्यालेस्टाइनबीच लामो समय देखि द्वन्द्व चलिरहेको छ । प्यालेस्टाइनले दैनिक हवाई आक्रमण गर्ने गरेको छ । मध्यपूर्व गाजास्थित सीमा क्षेत्रमा केही दिन यता दुई हजार बढी रकेटहरु प्यालेस्टाइनले प्रहार गर्ने गरेको छ । प्यालेस्टाइन आतंकबाद विरुद्ध इजरायलले कारबाही गर्ने घोषणा गरेसँगै तनावपूर्ण स्थिति सृजना हुने देखिन्छ ।

अहिले सम्म यहाँका नागरिक र गैर आवासीय नेपालीहरु सुरक्षित नै छन् । इजरायल प्रबिधिमा अगाडी छ । प्यालेस्टाइनले प्रहार गरेका रकेटहरु आकासमै ध्वस्त गर्न सक्ने क्षमता इजरायलसँग छ । ९९.९ प्रतिसत रकेटहरु आकासमै ध्वस्त हुन्छन् केही मात्रामा प्राबिधिक गडबडीका कारण झर्ने गरेकाछन् । यस क्रममा हालै एक जना भारतीय कामदारको ज्यान गएको छ । यहाँका घरहरुमा रकेटले असर नगर्ने बंकर र कोठाहरु बनाएको हुन्छ । इजरायलमा कार्यरत नेपालीहरु प्राय घरमै स्याहर सुहारको काममा हुन्छन् । तसर्थ पनि धेरै असर परेको छैन । यहाँ रकेट, गोलाबारुद प्रहार हुनु कुनै नौलो घटना होइन पहिला देखि नै यस्ता घटना घट्दै आएकाछन् । २००८, २०१४ पछि अहिले ठुलो आक्रमण भैरहेको छ तर इजरायलले त्यसको सामना गरिरहेको छ र क्षेती हुनबाट जोगाइरहेको छ । नेपालीहरु र दुतावाससँग हामी निरन्तर सम्पर्कमा छौं, कहि पनि उनिहरुलाई अफ्ठेरो परेको छैन । कुनै समस्या आइपरे सम्पर्क गर्न भनेका छौं । नेपाल स्थित यहाँ रहने नेपालीका आफन्तले धेरै चिन्ता लिनुपर्ने अवस्था छैन ।

इजरायलमा नेपालीहरु कतिको संख्यामा छन् र कस्तो काममा कार्यरत छन् ?

यहाँ नेपालीहरु दुई वटा कामका लागि मात्रै आउन पाउँछन् । एक थरी यहाँका वृद्धवृद्धा, अपाङ्ग, अशक्त, अरुको साहारा चाहिने व्यक्तिहरुको रेखदेख र स्याहार सुहार गर्ने काममा आउँछन् भने अर्काथरी कृषि मुलक काम सिक्न सिमित अबधि ११ महिनाका लागि बिद्यार्थीहरु आउने गर्दछन् । हाल स्याहार सुहारमा तीन देखि पाँच हजारसम्म नेपालीहरु कार्यरत छन् भने ६ सय भन्दा बढी बिद्यार्थीहरु कृषि सिक्दै छन् । त्यो बाहेक केही नेपालीहरु भारत हुँदै आएका भेटिन्छन् त केही अनलिगल पनि बसेकाछन् ।
लिगल रुपले बसेका धेरै जसो नेपालीहरु सम्पर्कमा छन् । अहिले सम्म उनिहरुलाई काममा अफ्ठेरो परेको वा द्वन्द्वले प्रभाव पारेको देखिदैन । कुनै ठाउँमा संकट नै पर्न लाग्यो भने पनि अगाडी नै साइरन बज्छ, साइरन बजेपछि सुरक्षित स्थानहरु बनाएका हुन्छन् , त्यहा गएर सुरक्षित हुन सकिन्छ । दुतावासले पनि साइरन बज्नासाथ सुरक्षित स्थानमा जान भनेको छ । हामीले पनि सूसुचित गर्दै आएका छौं ।

त्यहाँ कृषि सिक्नका लागि आउने नेपाली विद्यार्थीहरुको अवस्था के छ ?

हाल हामीलाई प्राप्त जानकारी अनुसार ६ सय बढी नेपाली विद्यार्थीहरु कृषिमा काम गर्दै आएकाछन् । नेपाल सरकार र यहाँको सरकारको सम्झौता अनुसार ‘सिक र कमाउ’ परियोजना छ । त्यो भिसामा आएका विद्यार्थीहरु यहाँ ११ महिना बस्न पाउँछन् । ११ महिना पछि स्वदेश फर्केर यहाँ सिकेको आधुनिक कृषि प्रबिधिलाई प्रयोग गरेर व्यवसायिक खेती गर्ने हो । कतिपयले अहिले पनि यहाँ सिकेर गएर नेपालमा कृषि व्यवसाय गर्दै आएका छन् ।

अहिले नेपाली विद्यार्थीहरु ६ वटा कलेजमा छन् । उनिहरुलाई कलेजले स्थापना गरेको कृषि फर्ममा बस्ने खाने व्यवस्था गरेको हुन्छ । दुई वटा कलेजमा बंकर सहितको व्यवस्था हुन्छ । केहीमा त्यो व्यवस्था नहुन सक्छ तर नजिकै त्यस्ता सुरक्षित स्थानहरु बनाएका हुन्छन् । अहिले सम्म त्यस्तो अप्रिय घटनाहरु घटेका छैनन् । अस्ती मात्रै नेपाली विद्यार्थीहरु बस्ने नजिकै रकेट खसेको रहेछ । उनिहरु डराएका थिए । केही ठुलै समस्या परे सम्पर्क गर्न भनेका छौं । हाल सम्म सुरक्षीत नै छन् ।

यसरी कृषि पढ्न, सिक्न आएका विद्यार्थीले ११ महिना मात्रै बस्न पाउछन् तर अहिले उनिहरुको अबधि सकिएको छ । कोरोना भाइरसका कारण यहाँको अन्तराष्ट्रिय उडान बन्द छ उनिहरु फर्किन पाएका छैनन् । इजरायल सरकारले कोरोनाको महामारीका कारण ती विद्यार्थीहरुलाई केही समय बस्न पाउने व्यवस्था गरेको छ । उनिहरु काम गरेर बस्ने व्यवस्था छ । नेपालमा भुकम्प आउदा पनि यहाँ पढ्ने विद्यार्थीहरुलाई एक वर्ष काम गरेर बस्न दिईएको थियो । हाल विद्यार्थीहरुलाई त्यस्तो समस्या छैन ।

प्यालेस्टाइनसँगको टकरावका कारण नेपालमा पनि विभिन्न त्रास फैलिने खालका समाचार आएकाछन् । यहाँ त्यस्तो त्रास र समस्या केही पनि छैन । यहाँ बस्ने नेपालीहरुका आफन्तलाई नडाउन अनुरोध गर्दछु । अहिले सम्म अवस्था सामान्य नै छ । सम्पूर्ण आप्रवासी नेपालीहरु सुरक्षित छौं ।

कोरोना महामारीको प्रभाव कस्तो छ ?

पहिलो चरणमा कोरोना महामारीले इजरायलमा पनि प्रभाव परेको थियो । केहीले ज्यान पनि गुमाएका थिए । त्यसको प्रभाव नेपाली कामदारहरुमा पनि परेको थियो । एक जना नेपाली महिलाको कोरोनाको कारण निधन भएको थियो भने केही संक्रमित भएका थिए । अहिले इजरायलमा कोरोना महामारी पूर्ण रुपमा नियन्त्रणमा आएको छ । कोही पनि संक्रमित छैनन् । भिडभाडमा जादा बाहेक अरु बेला मास्क समेत प्रयोग गर्नु पर्दैन ।

यो देशमा कुनै पनि नागरिक वा कामदार खोप लगाउनबाट छुटेका छैनन् । सबैले कोरोना विरुद्धको खोप पाएका छन् । यहाँ कार्यरत नेपालीहरुले समेत खोप पाइसकेका छन् । अन्य मुलुकबाट इजरायल आउन बन्देज गरिएको छ । कोरोना भाइरसको महामारी पुरै नियन्त्रणमा आएकाले त्यसको समस्या छैन तर यहाँ चलिरहने द्वन्द्वका कारण मात्रै समस्या निम्तिनछकी भन्ने भने हो । यहाँको सुरक्षा व्यवस्था, प्रबिधिका कारण हाल सम्म अप्रिय घटनाहरु हुन सकेका छैनन् । आफ्नो मुलुकमा बढीरहेको कोरोना महामारी र त्यसले पु¥याएको क्षेतीले चै हामीहरुलाई पनि चिन्ताजनक बनाएको छ ।

हालको समयमा नेपालीहरु कामका लागि त्यहाँ आउन सक्ने अवस्था के छ ?

२००९ देखि इजरायलका लागि भिसा बन्द गरिएको छ । यो बीचमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा तीन सय जती नेपाली ल्याउने सम्झौता भएको थियो तर एक सय २० जना जती मात्रै आउन सके । हालको अवस्थामा त कोरोनाका कारण उसै पनि आउन सक्ने अवस्था छैन । अबका लागि नेपाल सरकारसँग यहाँका वृद्धाश्रममा काम गर्ने गरेर नेपाली आउन मिल्ने सम्झौता भएको छ तर कार्यान्वयन हुन सकेको छैन ।

इजरायलमा धेरै वृद्धाश्रमहरु छन् । वृद्धाश्रममा नर्स सहितको स्वास्थ्य सेवा देखि खाने वस्ने व्यवस्था मिलाइएको हुन्छ । धेरै कामदारहरुको आवस्यकता छ । कोरोना महामारीको अवस्था साम्य भए नेपालीहरु सो कामका लागि आउनसक्ने बाटो खुल्न सक्छ ।

Related News

युवा व्यवसायी कठायत एक लाख नगद सहित पुरस्कृत
युवा व्यवसायी कठायत एक लाख नगद सहित पुरस्कृत
  • २०७८ जेष्ठ १

कैलाली – युवा व्यवसायी रोशन कठायत एक लाख नगद सहित...

TOP