विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण (कोभिड–१९) बाट जाेगिन नेपालमा पनि सरकारले उच्च सतर्कता अपनाउन थालेकाे छ।
कोरोना भाइरसको संक्रमण नेपालमा भित्रन नदिनका लागि सरकारले अन्तर्राष्ट्रिय उडानमा रोक लगाउनुका साथै भारत तथा चीनसँग जाेडिएका विभिन्न नाकामा समेत सावधानी अपनाइएकाे छ।
विश्वका १ सय ८८ देशमा कोरोनाको संक्रमण फैलिसकेको छ। अहिलेसम्म संसारभर ३ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने १३ हजारभन्दा बढीले काेराेना संक्रमणकै कारण ज्यान गुमाइसकेका छन्।
नेपालमा कोरोनाको संक्रमण एक जनामा देखिएको थियो। संक्रमण देखिएका व्यक्ति निको भएर घर फर्किसकेका छन्।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अहिलेसम्म ५ सय ७२ जना शंकास्पद व्यक्तिको नमुना परीक्षण गरिसकेको छ। परीक्षण गरिएका ५ सय ७१ जनाकै रिपोर्ट नेगटिभ आएको प्रयाेगशालाले जानकारी दिएकाे छ।
नमुना परीक्षण गरिएका जति सबैको रिपोर्ट नेगेटिभ आउँदै गर्दा कतिपय व्यक्तिले प्रयोगशालाले गरेको कामप्रति शंका गर्न थालेका छन्। यस्तो अवस्थामा प्रयोगशालाले कसरी काम गरिरहेको छ। यसै विषयमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झासँग गरिएको कुराकानीः
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको तयारी कस्तो छ?
हामीले परीक्षण गर्नका लागि चाहिने सामान मगाएका छौँ। केही मात्रमा हामीसँग छ। केही आउँदै छन्। नमुनाहरु भने दैनिक परीक्षण भइरहेका छन्।
भारतबाट नेपाल भित्रिने मानिसहरुको संख्या बढ्दो छ। यस्तो समयमा शंकास्पद व्यक्ति काठमाडौँ पुग्न सम्भव पनि छैन। यस्तो बेलामा शंका लागेका सबैले सहज रुपमा परीक्षण गर्न पाउँछन्?
सबैको पहुँचमा छ। सबैले परीक्षण गर्न पाउँछन्। नाकाबाट भित्रने सबैको टेष्ट गर्नुपर्छ भन्ने हुँदैन। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार्ट बनाएको छ।
नाकाबाट भित्रने सबैको ज्वरो नापिन्छ। यदि कसैलाई ज्वारो आएको छ भने मात्र परीक्षणका लागि अस्पताल पुर्याइन्छ। अस्पतालमा स्वास्थ्यकर्मीहरुले उक्त व्यक्तिको ‘थ्रोट स्वाब’ संकलन गर्नु हुन्छ। त्यही संकलन गरिएको नमुना परीक्षणका लागि प्रयोगशालामा आइपुग्छ र हामी परीक्षण गर्छौँ।
कोरोना भाइरसको आशंकामा के–के परीक्षण गरिन्छ?
कोरोना भाइरसको आशंकामा ‘थ्रोट स्वाब’ मात्रै परीक्षण गरिन्छ। अन्य रोगहरु जस्तो रगतको परीक्षण गर्नु पर्दैन।
कोरोना भाइरसकाे संक्रमण देखिएकाे कसरी थाहा हुन्छ?
यसमा हामीले जिन हेर्छौँ। जिनमा प्रोटिन हुन्छ। त्यही प्रोटिन खोज्ने हो।
कोरोना भाइरसका लागि भनेर प्रोटिन बनेको हुन्छ। त्यही प्रोटिन जिनसँग मिल्ने गरी रियजेन्ट बनेको हुन्छ। केही गरी कोरोना भाइरस छ भने त्यो रियजेन्ट जिनको ठाउँमा बस्छ।
धेरै पटक मेसिनले त्यसलाई मल्टिप्लाइ गर्छ। र मल्टिप्लाइ गरेपछि मेसिनले त्यसलाई ग्राफमा देखाउँछ। ग्राफ आयो भने कोरोना भाइरस पोजेटिभ र ग्राफ आएन भने कोरोना भाइरस नेगटिभ हुन्छ।
परीक्षणका लागि खर्च कति लाग्छ?
प्रयोगशालाको हकमा खर्च ‘भेरियबल’ छ। एकै पटकमा धेरै गर्दा अलि कम खर्च लाग्छ। धेरैको गर्दा तीन–चार हजार रुपैयाँमा पनि हुन सक्छ। थोरै गर्दा अलि बढी खर्च लाग्छ। तर अस्पताल भर्ना भएका शंकास्पद व्यक्तिले भने नमुना परीक्षणका लागि पैसा तिर्नु पर्दैन।
परीक्षण कति पटक गर्नुपर्छ?
ठ्याक्कै यति भनेर त अहिलेसम्म भनिएको छैन। शंकास्पद व्यक्तिको हामीले अहिलेसम्म एक पटक मात्रै परीक्षण गर्ने गरिरहेका छौँ। त्यस्तै शंकास्पद भयो भने चाहि धेरै पटक पनि परीक्षण गराउन सकिन्छ।
कस्ता व्यक्तिको नमुना परीक्षण भइरहेको छ?
लक्षण देखिएका अस्पताल पुग्ने सबै जनाको परीक्षण गर्दैनौँ। जो व्यक्ति विदेशबाट नेपाल आएका छन् र उनीहरु कुनै लक्षण देखापरेको छ वा विदेशबाट आएका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिमा कोरोनाको लक्षण देखिएको छ भने मात्र कोरोनाको परीक्षण गर्ने गरेका छौँ।
तर अहिले भने परीक्षणको दायरा बढाएर अलि धेरैलाई परीक्षण गर्न सुरु गरेका छौँ।
दैनिक कति नमुना परीक्षण भइरहेका छन्?
फरक–फरक छ। एक दिनमा ५/६ वटा देखि १५ वटासम्म नमूना परीक्षण भइरहेका छन्। आजसम्ममा हामीले ५ सय ७२ वटा नमुना परीक्षण गरिसकेका छौँ। जसमध्ये एक जनामा पोजेटिभ देखिएको छ।
कतिपयले प्रयोगशालाको विश्वासनीयतामाथि नै प्रश्न गरिरहेका छन् नि?
केहीकेहीले निजीतिर तान्न खोजिरहेका छन्। त्यसैले उनीहरुले नै यस्तो गरिरहेका छन्।
कति ठाउँ कोरोनाको परीक्षण भइरहेको छ?
टेकुमा बाहेक अन्य ठाउँमा परीक्षण गर्ने ठाउँ छैन। केही रिसर्च ल्याबहरु छन्। तर त्यहाँ कोरोनाको परीक्षण भने हुँदैन।
विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरसको संक्रमण पहिलो पटक पुष्टी...