२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025, Friday

‘के हो सेल्फ क्वारेन्टाइन ?’, कसरी बस्ने ?

नोभल कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशङ्कामा बेलायतकी स्वास्थ्य मन्त्री नदिन डोरिज ‘सेल्फ क्वारेन्टाइन’ मा छिन् । इटालीमा क्लब फूटबल खेलिरहेका चर्चित खेलाडी रोनाल्डोसहित युभेन्टस्का अधिकांश खेलाडी, अमेरिकाका तल्लो सदनका सांसद् लगायत केही चलचित्रकर्मी पनि सेल्फ क्वारेन्टाइनमा छन् ।

इटालीले आफ्ना ६ करोडभन्दा बढी नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ । इटालीसहित अष्ट्रेलिया र दक्षिण कोरियाले सेल्फ क्वारेन्टाइनको निर्देशन पालन नगर्नेलाई दण्ड गर्ने कानून बनाएको छ । हाम्रो देशमा भने समूहमा भेला भएर गरिने क्रियाकलापलाई निषेध गर्न अनुरोध मात्र गरिएको छ । यस्तो वेला हामी आफैं सचेत भए संक्रमणको जोखिम कम गर्न सकिन्छ ।

संक्रमणको शङ्का भएको तर, स्वस्थ व्यक्तिले स्वयंलाई अन्य व्यक्तिबाट अलग राखेर संक्रमण फैलिने सम्भावना न्यूनीकरण र रोगको सहज पहिचान गर्ने व्यक्तिगत पहल नै सेल्फ क्वारेन्टाइन हो । त्यस्ता व्यक्ति आफ्नै घरभित्र वा निश्चित कोठामा, तोकिएको समयसीमा (कोभिड–१९ को शङ्कामा १४ दिन) अलग्गै बस्नुपर्छ ।

पछिल्लो समय प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिलाई आफू सेल्फ क्वारेन्टाइनमा बसेको जानकारी गराउनुपर्छ । यसका लागि सामाजिक सञ्जालको प्रयोग गर्न सकिन्छ । क्वारेन्टाइन अवधिमै संक्रमण देखिए त्यसको पनि जानकारी गराउनुपर्छ ।

सेल्फ क्वारेन्टाइनमा रहेको १४ दिनभित्र ज्वरो आए, सास फेर्न अप्ठ्यारो भए, खोकी वा अन्य श्वासप्रश्वास सम्बन्धी समस्या आए स्वास्थ्य संस्था जानुपर्छ । अस्पताल जाँदा अनिवार्य मास्क लगाउनुपर्छ । मास्क नभए नाक–मुख रुमालले छोप्नुपर्छ ।

नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेल लगायतका नेताहरु सेल्फ क्वारेन्टाइनमा बस्न थालेको नेताहरुको निजी सचिवालयले जनाएका छन् । प्रचण्डको निजी सचिवालयका अनुसार अध्यक्ष प्रचण्डले बिहीबारबाटै अत्यावश्यक कामबाहेकका भेटघाट बन्द गरिसकेका छन् । 

के हो सेल्फ क्वारेन्टाइन ? 
सेल्फ क्वारेन्टाइन भनेको सुरक्षित तवरले घरमै बस्नु हो । जसमा सामाजिक दुरी बनाएर अनावाश्यक हिँडडुल, भेटघाट र प्रत्यक्ष सम्पर्क गरिदैँन । 

आफू संक्रमणबाट बच्न तथा आफू संक्रमित भए अरुलाई संक्रमणबाट जोगाउनका लागि ‘सेल्फ क्वारेन्टाइन’मा बस्नु सबैभन्दा उचित हुने विज्ञहरु बताउँछन् ।

१, हावा ओहोरदोहोर हुने कोठामा एक्लै बस्ने । अर्को व्यक्तिसँग बस्नुपरेमा कम्तिमा १ मिटर दूरी कायम गर्ने ।

२,छुट्टै बाथरूम र शौचालयको प्रयोग गर्ने । यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफैं सफा गर्ने ।

३,आफू बस्ने कोठा आफैं सफा गर्ने ।

४, घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा आवातजावत कम गर्ने ।

५, स्वास्थ्य संस्था जान बाहेक अरु कामको लागि घर बाहिर ननिस्कने ।

६. नियमित रूपमा आफ्नो हात साबुनपानीले मिचीमिची २० सेकेन्डसम्म धुने, हात नधोइकन आँखा, नाक र मुख नछुने ।

७. आफूले प्रयोग गर्ने गिलास, कप, खाना खान प्रयोग हुने भाँडा, तौलिया, रुमाल, ओछ्यान वा अरु सामान साझा प्रयोग नगर्ने ।

८. अन्य व्यक्तिहरूसँगको प्रत्यक्ष सम्पर्क सकेसम्म कम गर्ने ।

९, अरु व्यक्तिहरूसँगको सम्पर्कमा आउनु पर्दा कम्तिमा १ मिटरको दूरी राख्ने र अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था   जाँदा मास्क लगाउने ।

१०, खोक्दा वा हाच्छ्यूँ गर्दा टिस्यु पेपर, रुमाल वा कुहिनाले नाकमुख छोप्ने ।

११,आफूले प्रयोग गरिएको टिस्यु पेपर, रूमाल, मास्क लगायतलाई छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्ने । फालेपछि तुरून्तै कम्तिमा २०   सेकेन्डसम्म हात साबुनपानीले मिचीमिची धुने ।

१२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्ने र आवश्यक सहयोगको लागि सधैं तयार रहने ।

१३, क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्ने र दिईएको फारममा रेकर्ड राख्ने । निर्देशनअनुसार १४ दिनसम्म दैनिक स्वास्थ्य स्थितिबारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिने ।

१४, कुनै पनि स्वास्थ्य समस्या देखिएमा वा क्वारेन्टाइनमा बस्दा अरु केही समस्या भएमा तोकिएको स्वास्थ्य निकायबाट प्राप्त     निर्देशनहरूअनुरूप गर्ने ।

१५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग पूर्व अनुमति बिना क्वारेन्टाइन स्थानभन्दा बाहिर नजाने ।

को बस्ने ?

१. वैदेशिक यात्रा गरेर नेपाल फर्किएका व्यक्ति।

२. कोरोना भाइरसबाट संक्रमित व्यक्तिको नजिक भएकाले पछिल्लो सम्पर्क भएको मितिले १४ दिन ।

३. कोरोना भाइरसको संक्रमितसँग नजिकिएको शङ्का लागेका व्यक्ति ।

४. चीन, इरान, दक्षिण कोरिया, इटाली, युएई, जापान जस्ता अत्यन्तै जोखिमयुक्त देश हुँदै नेपाल आएका व्यक्ति ।

५. आशङ्का गरिएका व्यक्तिलाई संक्रमणका लक्षण देखा परे प्रत्यक्ष सम्पर्कमा आएका र बिरामीको हेरचाह गर्ने पनि क्वारेन्टाइनमा बस्नुपर्छ । तर, परिवारका कोही सदस्य क्वारेन्टाइनमा बस्दा सबै जना बस्नु पर्दैन ।

कसरी बस्ने ?

१. सकेसम्म सबै सुविधा भएको एउटै कोठामा बस्नुपर्छ । घरका सम्पूर्ण कोठाको उपयोग गरिए संक्रमण देखिएको खण्डमा पूरै घर सफा गर्नुपर्छ ।

२. सिङ्गो घरमा एक्लै क्वारेन्टाइनमा बसे बाहिरी दुनियाँसँग निरन्तर फोन र मेसेज सम्पर्कमा रहनुपर्छ । यदि दीर्घकालीन रोगी भए अस्पताल वा चिकित्सकसँग सोझे फोन सम्पर्कमा रहनुपर्छ ।

३. संक्रमणको आशङ्कामा रगतको जाँच गरेर रिपोर्ट आउँदासम्मलाई घर पठाइएको भए निश्चित कोठामा मास्क लगाएर सकेसम्म परिवारका सदस्यबाट टाढा बस्ने । अलग बाथरुम र शौचालय प्रयोग गर्ने ।

४. घरपालुवा पशुपक्षीबाट टाढा बस्ने (हङकङमा मानिसबाट कुकुरलाई कोभिड—१९ सरेको थियो ।)

५. परिवारका सदस्यभन्दा बाहेकलाई घरमा आउन नदिने ।

६. स्वास्थ्य जाँचका लागि नजिकको अस्पतालमा फोन गरेर सम्पूर्ण जानकारी गराएर मात्र जाने, जसकारण अस्पतालका स्वास्थ्यकर्मीलाई सुरक्षित ढङ्गले उपचार गर्ने तयारीका लागि समय मिल्छ ।

७. लक्षण देखिनासाथ मास्क लगाउने, हाच्छिउँ गर्दा, खोक्दा आफ्नो मुख नाकलाई कपडा वा पेपरले छोप्ने । छोप्दा प्रयोग भएका वस्तुलाई बन्द फोहोर फ्याँक्ने भाँडोमा फाल्ने र २० सेकेन्ड लगाएर मिचेर हात धुने वा ह्यान्ड स्यानिटाइजरले सफा गर्ने ।

८. आफ्ना व्यक्तिगत लत्ताकपडा, भाँडाकुँडा, साबुन आदि अरूलाई चलाउन नदिने । आफूले छोएका घरको ताल्चा, चाबी, बरण्डाको डण्डी, टिभीको रिमोट, मोबाइल, कम्प्युटरको माउस, किबोर्ड आदि राम्रोसँग सफा गर्ने ।

९. जथाभावी नथुक्ने, सिंगान नफाल्ने, फालेको पनि आफैंले सफा गर्ने ।

१०. धेरै जना एकै ठाउँमा क्वारेन्टाइनमा बस्नु परे खुला, धेरै कोठा भएको, हावा आवतजावत हुने ठाउँको प्रयोग गर्ने ।

११ लक्षणहरूबाट विचलित नहुने, लक्षण बढेको खण्डमा तुरुन्त चिकित्सकको सल्लाह लिने ।

१२. क्वारेन्टाइनमा रहँदाको अवस्थामा नजिकैको प्रहरी, अस्पताल, रेडक्रस वा अन्य सामाजिक संघसंस्थाको फोन नम्बर सुरक्षित राख्ने ।

आत्मबल बढाउने तरिका

१. परिवारका सदस्यसँग निरन्तर कुराकानी गर्ने । समाचारका लागि आधिकारिक सञ्चारमाध्यम पछ्याउने । सामाजिक सञ्जालमा आउने कतिपय भ्रामक समाचार नपढ्ने ।

२. परिवारका कम उमेरका सदस्यलाई सम्भावित संक्रमण विरुद्ध हौसला प्रदान गर्ने । दैनिक क्रियाकलाप सामान्य रूपमा गर्न प्रोत्साहित गर्ने ।

३. साथीभाइ, नातागोतासँग निरन्तर फोन तथा मेसेजमा कुरा गरिरहने ।

४. योग, ध्यान, कसरत दैनिक गर्ने । घरको प्यासेज, छत वा आँगनमा केही समय हिंड्ने र स्वच्छ हावा लिने ।

५. घरमै बसेर अनलाइनबाट गर्न मिल्ने कार्यालयको काम गर्ने ।

६. क्वारेन्टाइनको समयलाई सकेसम्म सदुपयोग गर्ने । जस्तै, पुस्तक पढ्ने, चित्र कोर्ने, वाद्यवादन आदि सिक्ने । 

सेल्फ क्वारेन्टाइनको १४ दिनसम्म कुनै लक्षण नदेखिए पुरानो दैनिकीमा फर्कन सकिन्छ । यदि त्यसका लागि ‘मेडिकल सर्टिफिकेट’ चाहिए अस्पताल वा काठमाडौंस्थित शुक्रराज ट्रपिकल अस्पतालमा सम्पर्क गर्नुपर्छ ।

यस्ता छन् सेल्फ क्वारेन्टाइनका नियमहरु

  • म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु, र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तीमा १ मिटर दूरी राख्नेछु।
  • म छुट्टै बाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु।
  • म आफु बस्ने कोठा आफै सफा गर्नेछु।
  • म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवात जावतलाई सीमित गर्नेछु। यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने अवस्थाको सुनिश्चित गर्नेछु।
  • म स्वास्थ्य संस्था जानबाहेक अन्य कामको लागि घर बाहिर जाँदिन। म काममा, विध्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन।
  • म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २० सेकेन्डसम्म धुनेछु, वा हात सफा राख्न अल्कोहल युक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु। म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु।
  • मैले प्रयोग गर्ने गिलास, कप, खाना खान प्रयोग गर्ने भाँडा, तौलीया र रुमाल, ओछ्यान, वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन। प्रयोग गरेपछि यी सामानहरू म साबन र पानीले सफासँग धुनेछु।
  • म अन्य व्यक्तिसँगको प्रत्यक्ष सम्पर्कलाई कम गर्न सक्दो प्रयास गर्नेछु।
  • यदि अन्य व्यक्तिसँगको सम्पर्कमा आउन पर्दा, म कम्तिमा १ मिटर (३ फिट) को दूरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु।
  • खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल वा कुहिनाले छोप्नेछु।
  • म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठांउमा फाल्नेछु र फाले पछि तुरून्तै कम्तीमा २० सेकेन्डसम्म आफ्ना हातहरू साबुन र पानीले मिचीमिची धुनेछु। रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु।
  • म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु।
  • म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाच्नेछु र दिईएको फाराममा रेकर्ड गर्नेछु। मलाई दिइएको निर्देशनअनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थितिबारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु।
  • कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायबाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु।
  • म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन। मैले दिएका माथिका उल्लिखित विवरणहरू पूर्ण रूपमा सहि छन्, र गलत वा अपूर्ण विवरणको कारण उत्पन्न हुने कुनै पनि समस्याहरूको लागि म स्वयं जिम्मेवार हुनेछु भन्ने कुरा घोषणा गर्दछु।


Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७६ चैत्र ९

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP