२०८१ आश्विन २९, मंगलवार
October 15, 2024, Tuesday

चीनसँग मेडिकल उपकरण सहयोग माग्दै सरकार

काठमाडौं– सरकारले कोरोना जोखिम न्यूनीकरणका लागि तयारी तीव्र पारेको छ।

यसका लागि सरकारले ५० शय्यासम्मका अस्पतालमा आकस्मिकबाहेक अन्य सेवा चैत मसान्तसम्मका लागि बन्द गर्ने, उपचारमा संलग्न चिकित्सकलाई अस्पतालमै आवासको व्यवस्था मिलाउने र कोरोना उपचारका लागि छुट्टै निर्देशिका तयार गर्ने भएको छ।

कोरोना पहिचान, परीक्षण, उपचार र रोकथामका लागि सामग्री चीनसँग अनुरोध गर्ने तयारी सरकारको छ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले शुक्रबार मन्त्रालयमा बसेको बैठकमा उपत्यकाका ५० शय्या र सोभन्दामाथिका अस्पताललाई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रियासम्बन्धी सेवा चैत मसान्तसम्मका लागि बन्द गर्न निर्देशन दिएका हुन्।

उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई कम्तीमा २० हजार नमुना परीक्षणका लागि तयारी अवस्थामा राख्न पनि निर्देशन दिए।

सरकारले कोरोना पहिचान, परीक्षण, उपचार र रोकथामका लागि आवश्यक सामग्री उपलब्ध गराइदिन चिनियाँ दूतावाससँग अनुरोध गर्ने भएको छ।

शंकास्पद बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी घर जाँदा घरमा रहेका वृद्धवृद्धा तथा केटाकेटीमा जोखिम बढ्ने भएकाले त्यस्ता स्वास्थ्यकर्मीका लागि छुट्टै आवासको व्यवस्था मिलाउन उनले सम्बन्धित अस्पताललाई निर्देशन दिए।

सरकारले वीर अस्पताल, धुलिखेल अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना भाइरस परीक्षण गर्ने अस्पताल तोकेको छ।

मन्त्री ढकालले तीनै अस्पताललाई कोरोना परीक्षण सुरु गर्न निर्देशन दिएका छन्। उनले यसका लागि राष्ट्रिय प्रयोगशालाले सहजीकरण गर्ने बताए।

अस्पतालमा कोरोना संक्रमित भएको शंकास्पद बिरामी आएमा निजलाई तत्काल आइसोलेसनमा राखी उपचार गर्न, नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन र नमुना परीक्षण पोजेटिभ आएमा तोकिएको अस्पतालमा प्रेषण गर्न मन्त्री ढकालले निर्देशन दिए।

वृद्ध उमेर समूहका शंकास्पद व्यक्ति, अन्य रोगबाट जोखिममा रहेका बिरामी र सम्भावित संक्रमणको आशंका लागेका स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकतामा राखी नमुना परीक्षणको व्यवस्था मिलाउन सबै अस्पताल र प्रयोगशालालाई निर्देशन दिइएको छ।

एक सय शय्याभन्दा माथिका सबै अस्पतालहरूलाई ज्वरो परीक्षण क्लिनिक सञ्चालन गर्न यसअघि नै निर्देशन दिइसकेकाले त्यसको अनुगमन गरी मन्त्रालयमा अध्यावधिक विवरण बुझाउन पनि मन्त्री ढकालले सम्बन्धित अस्पताललाई निर्देशन दिएका छन्।

भाइरस संक्रमण भएका व्यक्तिहरूको परीक्षणका लागि नमुना संकलन गर्ने, अन्य प्रयोगशालामा नमुना पठाउँदा पुर्‍याउनुपर्ने विधि लगायतका विषयमा समन्वय गर्ने प्रयोजनका लागि सबै अस्पतालले प्रयोगशालासँग सम्बन्धित एक जना व्यक्तिलाई फोकल पर्सन तोकी निजको नाम, सम्पर्क नम्बर इमेलसहितको विवरण तीन दिनभित्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन सबै अस्पताललाई निर्देशन दिइएको छ।

कोरोनाको पहिचान, रोकथाम, परीक्षण तथा उपचार सम्बन्धमा नेपाल मेडिकल काउन्सिल समेतको सहभागितामा राष्ट्रिय निर्देशिका तयार गरी प्रयोगमा ल्याउन सरकारले गृहकार्य थालेको छ।

मन्त्री ढकालले कोरोना संक्रमितको उपचार गर्ने अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) को व्यवस्थापन गर्न अनुरोध गरेका छन्।

कोरोना संक्रमित कुनै बिरामी आईसीयूमा रहेको अवस्थामा डायलोसिससमेत आवश्यक पर्ने भएकाले कम्तीमा एउटा डायलोसिस मेसिन र आवश्यक जनशक्ति तत्काल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाउन मन्त्री ढकालले वीर अस्पताललाई निर्देशन दिएका छन्।

स्वास्थ्य मन्त्रीले कोरोनाको शंका लागेर अस्पतालको आइसोलेसनमा राखिएका बिरामी तथा आफन्तले आइसोलेसनमा नराख्न तथा तत्काल घर पठाउन अस्पताल प्रशासन तथा सम्बन्धित चिकित्सकलाई दबाब दिने हुँदा सुरक्षा चुनौती हुन सक्ने भएकाले त्यस्ता अस्पतालमा सुरक्षाको प्रबन्ध गरिदिन गृह मन्त्रालयलाई अनुरोध गरेका छन्।

कोरोनाको गतिविधिको अद्यावधिक गर्न तोकिएका अस्पताल र महाशाखाहरूले हरेक दिन साढे चार बजे स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइमा विद्युतीय माध्यमबाट विवरण अध्यावधिक गराउने जानकारी मन्त्री ढकालले दिएका छन्।

Related News

भारतको अस्पतालमा मजदुर नेपालीको दर्दनाक छटपटी, पैसाको अभावमा ज्यान गुम्ने खतरा
भारतको अस्पतालमा मजदुर नेपालीको दर्दनाक छटपटी, पैसाको अभावमा ज्यान गुम्ने खतरा
  • २०७६ चैत्र ७

बेङ्गलुरु- भारतको बेङ्गलुरुमा रहेको मनिपाल हस्पिटलमा एक नेपाली उपचार अभावमा...

TOP