हिमाल जोशी
धनगढी- सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा गरी दुई हजारभन्दा बढी नेपालीहरु एक महिनादेखि सीमा क्षेत्रमा अलपत्र छन्। सुदूरपश्चिम प्रदेशका नौ वटा जिल्लामध्ये पाँच वटा जिल्ला भारतसंँग सीमा जोडिएका छन्।

कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलासँग जोडिएका सीमा क्षेत्रमा २ हजार ३८ नेपालीहरु अलपत्र अवस्थामा रहेका छन्।
दार्चुला जिल्लाको पारिपट्टि भारतीय क्षेत्रका चार वटा स्थानमा आठ सय ३० जना नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवँरले सीमा क्षेत्रको बालुवाकोट, धार्चुला लगायतका चार स्थानमा आठ सय ३० नेपालीहरुलाई क्वारेन्टिनमा राखिएको बताए।
उनले त्यहाँ भएका सबै नेपालीहरुको स्वास्थ्य अवस्थामा सामान्य रहेको बताए। उनले भने – ‘आज सीमामा रहेका नेपाली र भारतीयहरुलाई आ–आफनो जिल्ला पठाउने तयारी भएको थियो तर, दुई देशबिचको सहमतिले गर्दा अझै अन्यौल भएको छ।’
उनले भारतीय र नेपाली पक्षबीच सीमा पारि क्वारेन्टीनमा राखिएका सबैको अनिवार्य स्वास्थ्य परीक्षण गरेर मात्र ल्याउने समझदारी अनुसार उनीहरुलाई थप एक हप्ता उतै राखिने भएको बताए।
गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई दुवै पक्षबीच उक्त समझदारी भएको भन्दै तत्काल उनीहरुलाई नेपाल भित्र्याउने अनुमति नदिएको जनाएको छ। सहायक प्रजिअ कुँवरले भने –‘सम्बन्धीत स्थानीय तहका जनप्रतिनिधीहरुले आफनो क्षेत्रका मानिस लग्न आवश्यक बस पठाएका थिए । तर, भित्र्याउने अनुमति नपाएपछि सीमा पारीका नेपालीहरु त्यतै छन्।’
बैतडी क्षेत्र अन्तर्गत पर्ने भारतीय सीमाका विभिन्न १५ स्थानमा क्वारेन्टीन स्थापना गरिएको जनाइएको छ। बैतडी सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले भारतले विभिन्न १५ स्थानमा क्वारेन्टीन स्थापना गरेको बताए ।
उनले भने –‘ती क्वारेन्टीनमा बैतडीकामात्र आठ सय ३७ जनालाई राखिएको छ ।’ उनले क्वारेन्टीन बाहेक पनि अन्य स्थानमा नेपालीहरु रहेको बताए । उनले भने –‘क्वारेन्टीन क्षेत्रभन्दा बाहिर भारतमै भाडामा बसीरहेका नेपालीहरु पनि रहेका छन तर, उनीहरुको तथ्यांक आएको छैन ।’
डडेल्धुरा पनि भारतीय सीमा क्षेत्रसंग जोडिएपनि उक्त स्थानमा कुनै पनि नाका नभएका कारण दुबै देशको कुनै पोष्ट नरहेको डडेल्धुरा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए । उनले भने –‘यस जिल्लाका मानिस धार्चुला, वनवासा, लखिमपुर लगायतमा अल्पत्र छन ।’ उनले भारतसंग जोडिएको डडेल्धुराका कुनै पनि सीमामा नेपालीहरु नरहेको बताए ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार टनकपुर, खटीमा, बनबासा लगायतका विभिन्न भारतीय सीमा क्षेत्रमा दुई सय ५१ नेपालीहरुलाई क्वारेन्टीनमा राखिएको जनाइएको छ । कार्यालयले ती सबै नेपालीहरुको अवस्था सामान्य रहेको जनाएको छ ।
कैलाली जिल्ला प्रशासन कार्यालयका अनुसार भारतको लखिमपुर खिरिमा एक सय २० नेपालीहरुलाई क्वारेन्टीनमा राखिएको जनाइएको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेको बन्दाबन्दी (लकडाउन) का कारण महाकाली पारी भारतीय सीमामा फसेका नेपाली नागरिकले घर कहिले जान पाइएला भनेर दिन गन्न थालेका छन् ।
भारतीय क्वारेन्टाइनमा राखिएका उनीहरुका लागि बसोबासको उचित प्रबन्ध नहुँदा कोही महाकाली नदीमा पौडी खेलेर नेपाल प्रवेश गरिरहेका छन् भने कोही ट्युबमार्फत एक हजार भारतीय रुपैयाँ तिरेर समेत नेपाल आइरहेका छन् ।
साथमा पैसा हुनेहरु ट्यबुमार्फत नेपाल आए पनि बेखर्चीहरु केही उपाय नभएपछि घर फर्किन पाउने दिन कुरेरै बसेको बताएका छन् । रोजगारीका लागि भारत गएका उनीहरु अधिकांश मजदुरी गर्ने नागरिक हुन् । भारतमा पनि लकडाउनको घोषणा गरेपछि उनीहरु नेपाल फर्किएकोमा नेपाल सरकारले पनि देशैभरि बन्दको घोषणा गरेकोले सीमापारि नै परेका हुन् ।
सीमा क्षेत्रमा समस्यामा परेका मजदुर भित्र्याउन सर्वोच्च अदालतले नेपाल सरकारलाई आदेश पनि दिएको थियो। भारतीय सीमा क्षेत्रमा क्वारेन्टाइनमा बसेका ती नेपाली मजदुरले सर्वोच्च अदालतको आदेशपछि घर जान पाउने आशा गरेको भए पनि त्यो पूरा हुन सकेको छैन ।
आफूहरु निकै समस्यामा परेकाले सबैले सहयोग गरेर घर जाने बाटो खोलिदिनुपर्ने बैतडीको पुर्चौडी नगरपालिका घर भएका नवीन बोहराले बताए । उनले भने –‘भारतीय क्वारेन्टाइनमा बसोबास र खानाको पनि निकै समस्या छ, हामीलाई स्वदेश नै फर्किन दिए बरु जति दिन बस्नुपर्छ घरमै या सरकारले व्यवस्था गरेको क्वारेन्टाइनमा बस्ने थियौँ ।’
भारतले नेपाली मजदुरलाई व्यवस्थित क्वारेन्टाइन बनाएर राखेको भने पनि मन्दिरका धर्मशाला र विद्यालयका कोठाहरुमा कोचाकोच गरेर राखेको झुलाघाटमा रहेका दीर्घराज जोशीको गुनासो छ ।
उनले भने–‘बाहिर त समाजिक दूरी कायम गरेर बस्ने भनेको सुनिन्छ तर यहाँ न यस्तो सामाजिक दूरी कायम गर्ने काम भएको छ, न त सुत्ने राम्रो व्यवस्था नै छ। बसोबासको समस्या हुँदा यहाँ उल्टै अन्य सरुवा रोगको जोखिम बढेको छ, गर्मी बढ्दो छ एकै कोठामा धेरै मानिस सुत्नुपर्ने समस्याले अब के हुने हो थाहा छैन।’
स्वदेश फर्कन पाए एक महिना भने पनि क्वारेन्टाइनमा बस्न तयार भएको मजदुरहरुले बताएका छन्। क्वारेन्टाइनमा बसेका नेपालीहरुको खानपिन तथा बसोबास व्यवस्था मिलाउन पिथौरागढ प्रशासनलाई आग्रह गरिएको भए पनि व्यवस्था हुनसकेको छैन।
सीमामा रहेका नेपाली मजदुरलाई बसोबासको प्रबन्ध मिलाउन भारतको स्थानीय प्रशासनलाई अनुरोध गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीको भनाइ छ । भारतीय क्वारेन्टाइनमा बसोबासको सहज व्यवस्था नहुँदा अझै पनि ट्युबमार्फत जोखिम मोलेर नेपाल फर्कने क्रम पनि रोकिएको छैन।
लामो समयसम्म अव्यवस्थित रूपमा हुलकाहुुल कोचिएर बस्दा सरुवा रोगको जोखिम बढ्दै गएको छ । गर्मीको समयमा धेरै जना एकै ठाउँमा बस्दा छालासम्बन्धी रोग, झाडपखाला र अन्य सरुवा रोगको सङ्क्रमण हुनसक्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले बताए । उनले गर्मीको समयमा सरुवा रोगको बढी जोखिम हुने हुँदा बसाइलाई व्यवस्थित बसाइ बनाउन सुझाव दिन्छन्।
यसैबीच बुवा बितेको चार दिनसम्म बैतडीका तीन जना नागरिकले भने नेपाल प्रवेश गर्ने आदेश पाएका छन् । भारतीय क्वारेन्टाइनमा रहेकै बेला उनीहरुका बुबाको निधनको खबर आएको थियो । जिल्लाको पुर्चौडी नगरपालिकाका प्रेम धामी, अम्मर धामी र राम धामीको बुवा बितेको चार दिनसम्म पनि नेपाल प्रवेश गर्न पाएका थिएनन्।
यसअघि दार्चुलाको शैल्यशिखर नगरपालिकाका वासुदेव भट्टको पनि आमाको निधनको खबर आएपछि क्वारेन्टाइनमै किरीया बसेको समाचार प्रकाशन भएपछि उनलाई पनि ६ दिनपछि नेपाल भित्र्याइएको थियो।
सुदूरपश्चिमेली समाज अन्तराष्ट्रिय समितिले सीमावर्ती भारतीय क्षेत्रमा रहेका नेपालीहरुलाई तत्काल नेपाल प्रवेश गर्न दिन सरकारसंग आग्रह गरेका छन् ।
‘भैरहवा लगायतका नाकाहरुबाट नेपालीलाई प्रवेश गर्न दिएपनि एक महिना अघिदेखि सीमामा रहेका सुदूरपश्चिमेलीहरुलाई नेपाल प्रवेश गर्न नदिनु दुःखद कुरा हो,’सुदूरपश्चिमेली समाज अन्तराष्ट्रिय समितिका अध्यक्ष धन बहादुर बलायरले भने –‘नेपाल सरकारले तत्काल धार्चुला, झुलाघाट, बनवासा, पलिया लगायतका भारतीय भू-भागमा एक महिनादेखि कष्टपूर्ण जिन्दगी बिताइरहेका नेपालीहरुललाई तत्काल नेपाल प्रवेश गर्न दिनुपर्छ ।’
उनीहरुको स्वास्थ्य परीक्षण गरी नेपाली भूमिमै क्वारेन्टीनमा राख्ने व्यवस्था मिलाउन पनि बलायरले सरकारसंग आग्रह गरे ।उनले भारत, मलेशिया, खाडी मुलुकहरु लगायत प्रवासमा रहेका नेपालीहरुको राहत तथा उद्दारका लागि पहल गर्न समेत आग्रह गरे ।
यसैगरी सुदूरपश्चिमेली समाज अन्तराष्ट्रिय समितिका कोषाध्यक्ष भुवन प्रसाद भट्ट, सुदूरपश्चिमेली समाज भारतका कावा अध्यक्ष कटक बहादुर बिष्ट र महासचिव मोहन बीर साउ“दले सीमामा रहेका नेपालीहरुलाई तत्काल नेपाल प्रवेश गर्न दिन आग्रह गरेका छन्।
उनीहरुले भारतको मुम्बई, पुना, बैग्लोर, दिल्ली लगायतका शहरमा लकडाउनका कारण अप्ठ्यारोमा परेका नेपालीहरुको राहत तथा उद्दारका लागि भारत सरकारसंग समन्वय गर्न नेपाल सरकारसंग आग्रह गरेका छन्।
भारतको बिभिन्न शहरबाट आएका झण्डै दुई हजार सुदूरपश्चिमेली एक महिनादेखि सीमावर्ती भारतीय भू-भागको क्वारेन्टाईनमा कष्टपूर्ण जिन्दगी बिताईरहेका छन् । उनीहरुले सरकारसंग नेपाल प्रवेश गर्न दिन आग्रह गर्दै आएका छन्।
दिपायल- सुदूरपश्चिम प्रदेशका १६ वटा निर्वाचन क्षेत्रमध्य १० सिटमा राष्ट्रिय...