२०८२ जेष्ठ ३, शुक्रबार
May 16, 2025, Friday

कोरोनाको आशंका गरिएका युवालाई अस्पतालले भर्ना लिएन : स्वास्थ्यकर्मीले छुनै मानेनन्

नवलपरासी । कोरोनाको संक्रमण भएको आशंका गरिएका एक बिरामीलाई अस्पतालले भर्ना लिन नमानेपछि नवलपरासीमा बिरामी र उनको परिवार अलपत्र परेको छ ।

स्वास्थ्यकर्मीहरुले समेत बिरामीलाई छुन नमानेपछि बिरामीका आफन्त आत्तिएका छन् । चार वटा अस्पतालमा जाँदासमेत कसैले उनलाई भर्ना गरेका छैनन् ।

तीन दिनअघि खोकी लाग्ने, टाउको दुख्ने र ज्वरो आएका पश्चिम नवलपरासी रामग्राम नगरपालिका–१६ हकुइका ३५ वर्षीय एक युवकलाई परासी, बुटवल, चितवन र काठमाडौंका अस्पतालले भर्ना लिन नमानेपछि बिरामी अलपत्र परेका हुन् ।

उनको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ । बिरामी ट्रक चालक हुन् । सुरुमा खोकी र ज्वरो आएको उनलाई परासीको एक क्लिनिक पुर्‍याइएको र त्यहाँबाट पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी पठाएपछि अस्पतालले प्रादेशिक अस्पताल बुटवल रिफर गरेको थियो ।

प्रादेशिक अस्पतालमा सामान्य चेकजाँच पछि त्यहाँका चिकित्सकले कोरोनाको आशंका गर्दै पुरानो मेडिकल कलेज चितवन पठाएकोमा कोरोनाको लक्षण भन्दै काठमाडौं पठाएको थियो ।

तीन दिनसम्म अस्पताल खोज्दै हिँडेका आफन्तले बिरामीलाई कलंकीको एक निजी अस्पतालमा पुर्‍याएका थिए ।

उक्त अस्पतालले टेकु अस्पताल पठाएपछि बिरामीका आफन्तले निको नहुने सोचले पुन हिजो परासी अस्पताल ल्याएका थिए ।

सरकारले हरेक अस्पतालमा आइसोलेसन वार्ड स्थापना गरेको जनाए पनि बिरामीलाई त्यहाँ राखेर निगरानी गर्नुको सट्टा गैर जिम्मेवार तरिकाले रिफर गर्दै गएको बिरामीको आफन्तले गुनासो गरेका छन् ।

जिल्ला अस्पतालमा समेत चार वटा आईसोलेशन बेड स्थापना गरिए पनि उनलाई त्यहाँ नराखी रिफर गरिएको हो ।

संक्रमितको उपचारमा संलग्न हुँदा लगाउनु पर्ने कपडा र अन्य सामाग्री नभएकाले रोग सर्न सक्ने कारण देखाउँदै चिकित्सकले बिरामीलाई हेर्न नमानेको बताउँदै प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले बिरामीलाई त्यसरी बेवास्ता गर्नु गलत भएको जानकारी दिए । 

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७६ चैत्र ७

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP