२०७७ मंसिर १५, सोमबार
November 30, 2020, Monday

चस्मा लगाउने मानिसलाई कोरोना सर्ने सम्भावना कम !

चीनका केही कोरोना बिरामीबारे अध्ययन गरेका अध्येताले एउटा नयाँ अनुमान गरेका छन्- नियमित चस्मा लगाउनेहरू नलगाउनेभन्दा कोरोनाबाट बढी सुरक्षित हुन सक्छन्!

अध्येताहरूले कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका बिरामीहरूको तथ्यांक विश्लेषण गरेका थिए। यही क्रममा उनीहरूले यो अनौठो प्रवृत्ति फेला पारेका हुन्। उनीहरूले अध्ययन गरेका बिरामीमध्ये नियमित रूपमा चस्मा लगाउनेहरू थोरै मात्र थिए। 

चीनको सिजोउस्थित एक अस्पतालमा ४७ दिनको अन्तरमा दुई सय ७६ बिरामी भर्ना भएका थिए। कुल बिरामीको ६ प्रतिशत अर्थात् १६ जनाले दैनिक आठ घन्टाभन्दा बढी समय चस्मा लगाउन पर्थ्यो। उनीहरूमा नजिकका दृश्य मात्र देख्ने रोग (म्योपिया) थियो।

जबकि यसअघिको अर्को अध्ययनले त्यही भेगमा यही उमेर समूहका मानिसमा आँखाको यो कमजोरी ३० प्रतिशतभन्दा बढी जनसंख्यामा फेला परेको थियो। यति धेरै जनसंख्याले चस्मा लगाउने भए पनि कोरोना संक्रमितमध्ये चस्मा लगाउनेहरू त निकै कम छन्।

यसले वैज्ञानिकहरूमा एउटा आशंका भयोः कतै चस्मा लगाएका कारण पनि मानिसहरू संक्रमित हुनबाट जोगिएका त होइनन् ?

‘चीनमा सबै उमेर समूहका मानिसबीच चस्मा लगाउने प्रवृत्ति आम छ,’ अध्ययनपछिको लेखमा उल्लेख छ, ‘वुहानमा डिसेम्बर २०१९ ताका व्यापक मात्रामा कोरोना फैलिएकै बेला हामीले अस्पतालहरूमा चस्मा लगाउने थोरै बिरामी मात्र देखेका थियौं।’

यो निष्कर्ष उपलब्ध प्रमाणमाथिको प्रारम्भिक अध्ययनको आधारमा हो। तै पनि दैनिक चस्मा लगाउनेमा कोरोना सर्ने सम्भावना कमै देखिएको भनेर लेखकहरूले उल्लेख गरेका छन्।

यसबारे अहिल्यै निष्कर्षमा पुग्नु भने हतारो हुने विज्ञहरूले बताएका छन्। मानिसहरूलाई जोखिमबाट बचाउन मास्कसहित चस्मा पनि लगाउनु भनेर सुझाव दिन अहिले नै पर्याप्त आधार नभेटिइसकेको उनीहरूले औंल्याएका छन्।

हुनसक्छ, चस्माले केही हदसम्म संक्रमण छेक्ने काम गर्ला! चस्मा लाएका बेला अगाडि बसेका मानिसले हाँछ्यु गर्दा वा खोक्दा छिटाहरू आँखामा पर्नबाट रोक्ला। वा अर्को कारण, चस्मा लगाइरहेका मानिसले अरूलेजस्तो घरिघरि हातले आँखा मिचिरहने सम्भावना पनि कमै होला। यसले हातमा भाइरस भए अनुहारसम्म पुग्न कम हुन सक्ला।

मान्छेले आफ्नो अनुहार कत्तिको छुन्छन् भन्नेबारे सन् २०१५ मै एउटा अध्ययन भएको थियो। उक्त अध्ययनअनुसार कुनै पनि कक्षामा बसेका विद्यार्थीले शिक्षकले पढाइरहेका बेला एक घन्टामा औसत दस पटकसम्म आफ्ना आँखा, नाक र मुख हातले छुन्छन् वा कोट्याउँछन्। त्यति बेला अध्येताहरूले चस्मा लगाउनेको अवस्था के हुन्छ भन्नेबारे छुट्टै निष्कर्ष भने निकालेका थिएनन्।

अहिलेको यो अध्ययन भने ‘जामा अप्थाल्मालोजी’ ले प्रकाशन गरेको हो। यसमा जोन हपकिन्स स्कुल अफ मेडिसिनकी संक्रामक रोग विशेषज्ञ तथा मेडिसिनका एसोसिएट प्राध्यापक डा. लिसा मारागाकिसको संलग्नता थियो। उनले यो अध्ययनको नतिजा परिभाषित गर्ने बेलामा सावधानी अपनाउन अनुरोध पनि गरेकी थिइन्।

यो अध्ययन तीन सयभन्दा कम संक्रमितमा भएकाले यसलाई सानो अध्ययन भनिन्छ। अहिले संसारभर करिब तीन करोडमा फैलिसकेको कोरोनाका अगाडि यो धेरै सानो मात्रा हो। त्यसबाहेक नजिकका दृश्य मात्र स्पष्ट देख्नेको जुन तथ्यांक र अध्ययनका आधारसँग तुलना गरिएको छ, त्यो तथ्यांक झन्डै एक दशक पुरानो हो। त्यसैले पनि यसलाई बलियो दाबीका रूपमा प्रस्तुत गर्न मुश्किल भएको छ।

डा. मारागाकिसका अनुसार पछि यो कुराको कुनै तुक नहुन पनि सक्छ। अरू नै कारणले चस्मा लगाउनेहरू संक्रमित नभएका हुन पनि सक्छन्। 

उदाहरणका निम्ति चस्मा लगाउने बढीजसो स्वाभाविक रूपले अलि बुढेसकाल लागेका हुन सक्छन्। महामारी फैलिएको छ भन्ने सुनेपछि बढी सावधानी अपनाउँदै धेरै घरैमा बसेका हुन सक्छन्। र संक्रमणबाट जोगिएका होलान्!

त्यसैगरी अर्को कारण चस्मा किन्न सक्नेहरू स्वयंलाई सुरक्षित राख्न भिडभाड भएको ठाउँमा जान्नँ भनेर जोगाउन सक्ने अवस्थामा पनि हुन सक्छन्।

यी सबै अध्ययनकै क्रममा छन्।

‘यो एउटा अध्ययन हो,’ डा. मारागाकिस भन्छिन्, ‘त्यसै पनि हामीले स्वास्थ्य हेरचाहका निम्ति सावधानी अपनाउने बेलामा फेस-सिल्ड वा गगल्स लगाउनु उपयुक्त देख्दै आएका छौं। यो अवस्थामा चस्मामा केही आधार पनि छन्।’

तर, जसरी सार्वजनिक स्थान वा भिडभाडमा मास्क लगाएर जाँदा र दुरी कायम राख्दा सुरक्षित भइन्छ भनिन्छ, त्यही हिसाबले मास्कका साथै चस्मा पनि जरुरी छ भनिहाल्न अझै अनुसन्धान खाँचो रहेको उनी स्पष्ट पार्छिन्।

स्वास्थ्यकर्मीहरूले अरू कसैले खोकी वा हाँछ्यु गर्दा थुकका छिटा उडेर आँखामा असर नगरोस् भन्दै सुरक्षा उपकरण लगाउँदै आइरहेकै हुन्। तर, आम जनसमुदायका हकमा भने भिडभाडमा जाँदा सही तरिकाले मास्क लगाएको छ र आवश्यक भौतिक दुरी कायम राखेको छ भने सम्भवत थप सुरक्षा उपकरणबारे चिन्ता लिइरहनु पर्दैन।

बरू चस्मा लगाउनाले थप जोखिमका सम्भावना पनि देखिन्छ। जस्तो, कसैले चस्मा लगाएपछि अरू बेलाभन्दा झन् बढी अनुहारमा हात लगिरहने खतरा हुने डा. मारागाकिस बताउँछिन्।

अमेरिकाको आँखासम्बन्धी अध्ययन संस्था ‘अमेरिकन एकेडेमी अफ अप्थाल्मोलोजी’ का प्रवक्ता तथा क्लेभल्यान्डस्थित मेट्रो हेल्थ मेडिकल सेन्टरका आँखासम्बन्धी प्राध्यापक डा. थोमस स्टेनम्यानका अनुसार निष्कर्षमा पुग्नुअघि यसबारे फरक घेरामा गएर अझ बढी अध्ययन जरूरी छ।

‘यो अत्यन्तै रोचक र थप बुझ्नका निम्ति उत्सुकता जगाउने विषय हो,’ डा. स्टेनम्यान भन्छन्।

यो अध्ययनले चस्मा नलगाउने धेरै मानिसलाई चिन्ता दिने काम भने गर्न नहुनेतर्फ पनि डा. स्टेनम्यान सचेत गराउँछन्।

‘हो चस्मा लगाउँदा कसैलाई कुनै हानी हुँदैन। तर के सबैले त्यसलाई लगाउनै पर्ने जरुरी छ? सायद छैन,’ उनी भन्छन्, ‘आँखा जोगाउन चस्मा वा फेस सिल्ड लगाउने आह्वान गर्नुअघि यसको व्यवहारिक पक्ष हेर्न जरुरी छ। कुनै कुनै पेसामा आवद्ध विशेषगरी बच्चा–बुढाबुढी वा बिरामी हेरचाह गर्नेले चाहिँ यो सुरक्षा उपाय अवलम्वन गर्दा राम्रै हुन्छ।’

भाइरस आँखाको बाटो हुँदै सर्ने सम्भावना कत्तिको रहन्छ भन्ने विषयमा यो अध्ययनको निष्कर्षले रोचक प्रश्न उभ्याएको छ।

अनुहारमा हुने लस्सेदार झिल्लीका कारण आँखा, नाक र मुखबाट भाइरस वा अन्य विकार शरीरभित्र प्रवेश गर्न सक्छन् भन्ने तथ्य निकैअघि प्रमाणित हो। तर, कोरोना भाइरसका मामिलामा भने संक्रमणका निम्ति नाक नै सबभन्दा अनुकूल विन्दु देखिएको छ।

भाइरस प्रवेश गराउन सबभन्दा बढी त नाककै भूमिका हुन्छ। यसबाट भाइरसलाई अनुकूल परिस्थिति हुने, थप विस्तार हुन र श्वासप्रश्वास प्रणालीसम्म सजिलै पुग्न सक्ने हुनाले नाक नै मुख्यद्वार देखिएको छ।

यद्यपी चिकित्सकहरूले थोरै यस्ता बिरामी पनि देखिरहेका छन् जसका आँखामा संकेत भेटिन्छ। कोरोनाका कतिपय बिरामीका आँखा राता भएका पाइएका छन् जसले शरीरमा भाइरस संक्रमण आँखाबाटै भइरहेको संकेत गर्छ।

त्यसो त आमरूपमा देखिएको खोकी वा ज्वरोका तुलनामा आँखाले देखाउने लक्षण असाध्यै कम छ। तै पनि कतिपय अध्ययनले ती लक्षणकै आधारमा आँखाबाटै संक्रमण भएको हुनसक्ने औंल्याएका छन्।

चीनको वुहानमै कोरोनाका कारण अस्पतालमा भर्ना भएका २ सय १६ जना बालबालिकामा गरिएको एउटा अध्ययनमार्फत् अध्येताले गत महिना प्रतिवेदन पेश गरेका थिए। तीमध्ये ४९ बालबालिका अर्थात् कुल संख्याको २३ प्रतिशतमा आँखाका लक्षण देखिएका थिए।

त्यसमा आँखा रातो देखिनु, धेरै मिच्नुदेखि लिएर सेतो भाग राताम्मे देखिनुजस्ता लक्षण थियो। त्यसैगरी राता आँखा, चिलाइरहने, आँसु झरिरहने, धमिलो देखिनेदेखि लिएर कसिंगर परेजस्तो (घोचिरहने) लक्षण त्यतिबेला कोरोना बिरामीले देखाएका थिए। #सोतेपाटी

Related News

सुदूरपश्चिममा ५४ जना कोरोना संक्रमितको मृत्यु :  को हुन मृतक ?
सुदूरपश्चिममा ५४ जना कोरोना संक्रमितको मृत्यु : को हुन मृतक ?
  • २०७७ आश्विन २

सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ । शनिबार धनगढीमा एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुने...

सेतीको परीक्षणमा सुदूरपश्चिमका थप ४१ जनामा कोरोना संक्रमण पुष्टी
सेतीको परीक्षणमा सुदूरपश्चिमका थप ४१ जनामा कोरोना संक्रमण पुष्टी
  • २०७७ आश्विन २

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा थप ४१ जनामा कोराना संक्रमण पुष्टि भएको छ । १३३ जनाको परीक्षण गर्दा थप ४१ जनामा...

पछिल्लो २४ घण्टामा १६१४ संक्रमित थपिए : थप २३ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा १६१४ संक्रमित थपिए : थप २३ जनाको मृत्यु
  • २०७७ आश्विन २

पछिल्लो २४ घण्टामा देशभर १ हजार ६ सय १४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज...

TOP