२०८० चैत्र १५, बिहीबार
March 28, 2024, Thursday

सेनीटाइजर र स्प्रेमा क्यान्सरयुक्त रसायन

विज्ञ भन्छन्– कीटनाशकले भाइरस मार्दैन

कोभिड–१९ (कोरोना भाइरस) महामारीपछि ह्यान्ड सेनीटाइज र डिस–इन्फेक्सन स्प्रेको प्रयोग बढ्दो छ । यसरी प्रयोग भएका कतिपय सेनीटाइजर र स्प्रे स्वास्थ्यका लागि हानिकारक रहेको पाइएको छ ।

स्थानीय सरकारहरूले डिस–इन्फेक्सनका लागि भनेर सार्वजनिक स्थलहरूमा मालाथीन, क्लोरिन छर्किरहेका छन् । मालाथीनको प्रयोग डेंगुका बेलासमेत भएको थियो ।

जनस्वास्थ्यका जानकार डा. नवराज सुब्बा मालाथीन लगायतका विषादी  क्यान्सरको कारकसम्म बन्न सक्ने बताउँछन् । उनी भन्छन्, ‘बालीनालीमा समेत प्रयोग गर्न निरुत्साहन गरिएको मालाथीन मानव शरीरमा त झन पार्नै हुँदैन ।’

औषधि व्यवस्थापन विभागका अनुसार बजारमा उपलब्ध कतिपय ह्याण्ड सेनीटाइजरमा पनि जनस्वास्थ्यका लागि निकै हानीकारक रसायन मिसाएको भेटिएको छ ।

विभागमा महानिर्देशक नारायणप्रसाद ढकाल मिथानोलयुक्त ह्याण्ड सेनीटाइजरसमेत बिक्री भएको फेला परेको बताउँछन् । उनी भन्छन्, ‘यस्तो सेनीटाइजरको प्रयोग गर्दा मान्छेको मृत्युसम्म हुन सक्छ ।’

आँखाको ज्योति गुम्ने, छालाको क्यान्सर गराउने सेनीटाइजर–स्प्रेको प्रयोग बढेपछि विभागले प्रहरीसँग मिलेर निगरानी बढाइरहेको महानिर्देशक ढकालले जानकारी दिए ।

‘कीटनाशकले भाइरस मार्दैन’

कोभिड–१९ सँग लड्न भाइरससँग कुनै सम्बन्धै नभएको रसायन समेत प्रयोग भइरहेको देखिन्छ । नयाँ कोरोना भाइरसविरुद्ध डेँगु, मलेरिया वा हैजाका बेला प्रयोग गरिएको उपायले काम नगर्ने जानकारहरू बताउँछन् ।

मेडिकल केमेस्ट्रइ एण्ड मोलिकुलर फर्मालोजीमा विद्यावारिधी गरेका जीवाणु वैज्ञानिक सुदीप खड्का कोरोना भाइरसमा कीटनाशकको कुनै प्रभाव नहुने बताउँछन् ।

‘कोरोनाविरुद्ध कीटनाशकको प्रयोग त कुनै पनि परिस्थितिमा उपयुक्त हुँदैन’ खड्काले अनलाइनखबरसँगको अन्तर्वातामा भनेका छन्, ‘केही निश्चित परिवेशमाबाहेक डिस–इन्फेक्सन स्प्रे छर्किनु भनेको समय र स्रोतको दुरुपयोग मात्रै होइन, वातावरण तथा जनस्वास्थ्यमाथिकै खेलवाड पनि हो ।’

मौलिक उपाय नै भरपर्दो

अल्कोहल बेस्ड सेनीटाइजरमा ७०–८० प्रतिशतसम्म अल्कोहल कन्टेन्ट हुनुपर्दछ । राम्रो र गुणस्तर युक्त ह्यान्ड सेनीटाइजरले पनि १०० प्रतिशत नै काम गर्छ भन्ने हुँदैन ।

बजार उपलब्ध कतिपय सेनीटाइजरमा अल्कोहलको आवश्यक मात्रा नै नभएको पछि औषधि व्यवस्था विभागले सूचना नै जारी गरेर सचेत हुन आग्रह गरेको छ ।

‘बजारमा मिथानोल समावेश भएको विषाक्त र अल्कोहल कन्टेन्ट तोकिए बमोजिमको नभएका न्यून गुणस्तरका ह्याण्ड सेनीटाइजर बिक्री वितरणमा रहेको देखिएकाले त्यस्ता सेनीटाइजर विक्री वितरण नगर्न र उल्लेखित विवरण लेवल यकिन गरेर मात्र खरिद तथा प्रयोग गर्न सूचित गरिन्छ’, विभागको सूचनामा भनिएको छ ।

जनस्वास्थ्यका जानकारहरू साबुन पानीले हात धुने, सामाजिक दुरी कायम राख्ने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने, अँगालो नहाल्ने जस्ता उपाय अपनाउन सुझाव दिन्छन् ।

‘यति राम्रो हाम्रो मौलिक संस्कारलाई बानीकै रुपमा विकास गर्नु नै दीर्घकालीन समाधान हो’ जनस्वास्थ्यका जानकार डा. सुब्बा भन्छन् ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७७ बैशाख १

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP