२०८२ बैशाख २९, सोमबार
May 12, 2025, Monday

भिडियोमार्फत स्वास्थ्यकर्मी र प्रहरीको मनोबल बढाउँदै धुर्मुस-सुन्तली (भिडियो सहित)

काठमाडौँ- अहिले विश्‍व कोरोना भाइरस (कोभिड १९) को महामारीले आक्रान्त छ। मानिसहरुको ज्‍यान कोरोना भाइरसले दिनका दिन लिइरहेको छ विभिन्‍न देशमा। नेपालमा पनि यसले आफ्नो संक्रमण फैलाइरहेको छ, प्रत्‍येक दिन। विश्व स्वास्थ्य संगठनका अनुसार नेपाल कोरोनाको उच्च जोखिममा पर्छ।

सरकारले उच्च सतर्कता भन्दै लकडाउन घोषणा गरेको छ। तर यहाँ स्वास्थ्य सामग्रीको अभाव छ। दक्ष जनशक्ति सीमित छन् तर पनि महामारी विरुद्ध लड्नुको अर्को उपाय छैन। कोरोनासँग दिनप्रतिदिन पहिलो चरणमा स्वास्थ्यकर्मीहरु र दोस्रो चरणमा नेपाल प्रहरी जोखिम मोलेर लडाइँ लडिरहेका छन्।

यही दायित्व महसुस गर्दै कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) मिलेर एउटा सन्देशमूलक दृश्य सामग्री (भिडियो) तयार गरेका छन्। उक्त भिडियोमा घरमा तीनजनाको परिवार देखाइएको छ जसमा आमा स्वास्थ्यकर्मी, बुवा प्रहरी (असई) र छोरी सानी।

देशलाई कोरोनाको महामारीले सताइरहँदा आफ्नो जिम्‍मेवारी र कर्तव्‍यबाट भाग्‍ने कुरा पनि आएन। आमा अस्पताल जान तयार हुन्छिन्, त्‍यतिबेलै सानी छोरीले प्रश्‍न गर्छिन्- ‘ममी आज पनि अफिस जाने?’ उनी आफ्नो कामको प्रकृति नै त्यस्तै भएको भन्दै छोरीलाई सम्झाउँछिन्।

आमा आफ्नो मन भारी बनाउँदै छोरीलाई चक्लेट ल्याइदिने वाचा गर्दै बिदा हुन्छिन् र अस्पताल जान्छिन्।

अब पालो आउँछ बुवाको। बुवा पेशाले प्रहरी। उनी पनि आफ्नो ड्रेस लगाइरहँदा छोरीले बुवाको औँला समात्दै फेरि उही प्रश्न दोहोर्‍याउँछिन्। भन्छिन्, ‘ बाबा हजुर पनि अफिस जाने ?’ छोरीको यो प्रश्‍न सुनेर भावुक हुँदै बुवा भन्छन्, ‘तिम्रो बाबा यो देशको राष्ट्र सेवक हो छोरी। यो बेला देशलाई बाबाको धेरै ठूलो खाँचो छ। ठूलो भएपछि बुझ्छ्यौ।’ यसरी छोरीसँग विदा भएर एउटा देशभक्त प्रहरी (असई) काममा जान्छ।

यसरी उनीहरुको दिनचर्या बितिरहेको हुन्छ लकडाउनका बीच। तर घरभेटीले घरभित्र र बाहिर गर्दा घरमा रहेका अरु परिवारलाई पनि कोरोना सर्छ भन्दै तुरुन्त घर खाली गर्न भन्छन्। यसले उनीहरुको मन नै अमिलो हुन्छ। साँझ घर आइपुग्दा सानी छोरी निदाइसकेकी हुन्छिन्। उता, त्यहीबेला आइसोलेशन वार्डमा कोभिड १९ को नयाँ सक्रमित फेला परेको र भर्ना भएको भन्दै श्रीमतीको फोन आउँछ।उनी आफू आज घर आउन नसक्‍ने श्रीमान्‌लाई बताउँछिन्।

यता, घरपरिवार नभनी काम गरिरहेका उनीहरुलाई नै घरभेटीले पटक-पटक खबरदारी र ताकेता गर्दै घरबाट निस्केर जान भन्छन्। अन्ततः उनीहरु घर छोड्न बाध्य हुन्छन्। घर छोडेर निस्किँदै गर्दा दयालु छिमेकीले छतबाट देख्छन्। उनीहरुको पेशालाई अहिले सबैले सम्‍मान गर्नु पर्ने बताउँदै आफ्नै घरमा बस्न र घरभाडा पनि नलिने वाचा गर्छन् र भिडियो सकिन्छ।

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई मनोबल बढाउने यो भिडियोबारे कलाकार सीताराम कट्टेल भन्छन्, ‘देशमा कोरोनाको कहर चलिरहँदा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पहिलो र दोस्रो नम्बरका योद्धा हुन। उनीहरु हाम्रा लागि भगवान हुन।हामीले उहाँहरुकोमनोबल बढाउनु जरुरी छ/दायित्व पनि हो।त्‍यसकारण हामीले घरमै क्वारेन्टाइनमा बस्दा पनि यो सन्देशमूलक भिडियो बनाएका हौँ।’

उनी भन्छन्, ‘अहिले सरकारले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल बढाउनुपर्छ र उहाँहरुलाई काउन्सेलिङको जरुरी छ। हाम्रो उहाँहरुलाई काउन्सेलिङ गर्ने इच्छा हुँदा हुँदै पनि संक्रमणको जोखिमले घरभित्रै क्वारेन्टाइनमा जे सक्‍यो यहीबाट गरेका छौ।’

यस्तै कुञ्जना घिमिरेले अहिले महामारीको बेला एकले अर्कोलाई होच्याउने, घरभाडा माग्‍ने,घरबाट निकाल्‍ने नभइ सद्‌भाव जगाउनु पर्ने बेला आएको बताउँछिन्।

https://www.facebook.com/100000144259726/videos/3421616267853148/

भन्छिन्, ‘ देशका विभिन्‍न भागमा आफूलाई पहिलो र दोस्रो लाइनमा उभ्याएर आफ्नो जिम्मेवारी वहन गरिरहनु भएका उहाँहरुलाई होच्याउने र घरबाट निकाल्‍ने काम कसैले नगर्नुहोला। सबै स्वास्थ्यकर्मी र प्रहरीलाई मेरो हृदयबाट सलाम छ। हामीलाई तपाइहरुको यो विशेष सधैं यादगार रहनेछ। हामी सचेत तर सद्भाव कायम राखौँ।’

https://www.facebook.com/100000144259726/videos/3416677338347041/


Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७६ चैत्र ३०

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP