शनिवार नोवेल कोरोना भाईरस(कोभिड-१९)को संक्रमण पुष्टी भएका कञ्चनपुरका संक्रमित लुकिछिपि नेपाल प्रवेश गरेको खुलेको छ।
भारतको उत्तराखण्डबाट फर्किएका ती ४१ वर्षीय पुरूष वेदकोटका हुन् । भारतको उत्तराखण्डको चम्फावत जिल्ला लुहाघाट सल्लीगाउँमा कार्यरत थिए । नेपालका सीमानाका बन्दभएपछि पैदलै हिँडेर महाकाली नदीको टनकपुर–ब्रह्मदेव क्षेत्रबाट अवैधानिक रुपमा ट्युवबाट नेपाल छिरेको बताईएको छ ।
अवैध बाटोमार्फत नेपाल छिरेको थाहा पाउने बित्तिकै चैत १४ गते ती पुरुषलाई सशस्त्र प्रहरीले पक्राउगरी भीमदत्त नगरपालिका–९ मटैनास्थित गडाचौकी पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। त्यसपछि सशस्त्र प्रहरीले उनीलाई गड्डाचौकीबाट बेदकोट गाउँपालिका–९ लालपुर गाडीमा हालेर पठाएको थियो। उनीलाई बेदकोट नगरपालिकाले सुन्दरपुर क्वारेन्टाइनमा राखेको थियो। त्यसै दिन राति उनीसँगै अन्य ९ जनालाई सुन्दरपुरमा रहेको क्वारेन्टाइनमा राखेर खाना खुवाएको पाइएको छ।
अवैध बाटोमार्फत नेपाल आएको खबर थाहा पाउनेबित्तिकै नेपाली सेनाको मेडिकल टिमले उनको थ्रोट स्वाव परीक्षणका लागि लगेको थियो। र शनिबार उनको कोरोना रिपोर्ट पोजेटिभ आएको छ।
अहिले उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
कैलालीको लम्कीमा भेटिएका कोरोना संक्रमित २१ वर्षीय युवक सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट फर्किएको थिए। चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टामा नाराबाजीमा उत्रिएको भीडमा उनी पनि सहभागी रहेको पाइएको प्रहरीले जनाएको छ।
उनीसँगै गौरीफन्टामा नाकामा रहेका ९ सय ९९ जनाले नेपाल आउन पाउनुपर्ने माग गर्दै प्रर्दशन गरेका थिए। त्यसपछि मन्त्रीपरिषद् बैठकको निर्णयपश्चात सीमामा रोकिएका ९ सय ९९ जनालाई प्रहरीले २१ वटा बसमार्फत गन्तव्य पठाएको थियो।
ती ९ सय ९९ जना मध्ये २२ जना धनगढीका पनि रहेका थिए। सम्बन्धीत स्थानीय तहले उनीहरुका लागि क्वारेन्टाइन व्यवस्थापन गरी १४ दिन अनिवार्य राख्नुपर्ने निर्देशन आएको भएपनि ती २२ जना घरमै रहेको पाइएको छ।
गौरीफन्टा नाकाबाट धनगढी प्रवेश गरी सोझै घर पुगेका उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र ती सबैमा कोरोनाको लक्षण नदेखिएको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शखा उपसंयोजक लक्ष्मीराज उपाध्यायले बताए।
‘हामी वडासँग समन्वय गरेर घरमै ती २२ जनाको नियमित निगरानी गरिरहेका छौ’ उनले भने, ‘हालसम्म कारोनाको कुनै लक्षण देखिएको छैन।’
दुबईबाट फर्किएका धनगढीका ३४ वर्षीय युवाबाट उनकी भाउजूमा पनि कोरोना सरेको पृष्टी भएको छ।
ती महिलामा अहिलेसम्म कुनै लक्षण नदेखिएको उनको परिवारका सदस्यहरुले बताएका छन्। तर संक्रमित युवासँग भेट भएको १२ दिनपछि परिवारका ९ जना सदस्यहरुको बिहीबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको थियो। जसमध्ये युवककी भाउजुमा कोरोना पोजेटिभ देखिएको छ।
कोरोना भाइरसको संक्रमण भएका मानिसमा सामान्यतया रुघाखोकी लाग्ने, ज्वरो आउने, शरीर दुख्ने, सास फेर्न गाह्रो हुने लगायतका लक्षण देखापर्ने चिकित्सकहरुले बताउदै आएका छन्। तर ती महिलामा विना कुनै लक्षण कोरोना पोजेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका चिकित्सहरुले बताएका छन्।
स्थानीय संक्रमण देखिएकी ३४ वर्षीया महिला, चौथो संक्रमितका आफन्त हुन् । दुबईबाट नयाँ दिल्ली हुँदै नेपाल आएका धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षका पुरुषलाई कोरोना संक्रमण भएको रिपोर्ट १४ चैतमा आएको थियो ।
त्यसको भोलिपल्ट परिवारका सबै सदस्यलाई १५ गते धनगढी रंगशालामा बनाइएको क्वारेन्टाइनमा ल्याइएको थियो । तर कोरोनाको कुनै लक्षण नदेखिएको भनेर दुई दिनपछि घर पठाइएको पाइएको छ । ‘१५ र १६ गते क्वारेन्टाइनमा बसेर घर फर्किनु भएको हो,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले भने ।
सेती प्रादेशिक अस्पतालका प्रवक्ता जगदिश जोशीकाअनुसार त्यसबेला संक्रमित युवकको परिवारका सबै सदस्यको नमुना संकलन गरिएको थियो । र ३४ वर्षीया महिलाबाहेक अरुको रिपोर्ट आउन बाँकी रहेको प्रवक्ता डा. जोशीले बताए ।
शनिबार मात्रै सुदूरपश्चिमका थप तीनजनाका कोरोना संक्रमण देखिएको छ। धनगढीका पहिलो संक्रमित युवाकी ३४ वर्षीय भाउजु, भारतको मुम्बईबाट फर्किएका कैलालीको लम्कीका २१ वर्षीय पुरुष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हो।
दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...