सुरुआतको गल्ती, खतिवडाका प्रयासहरु, आर्थिक परिसूचक, केमा सफल ?, कहाँ चुके ?
रवीन्द्र घिमिरे /अनलाईन खबर
काठमाडौं– चुनावपछि मन्त्रिपरिषद गठन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई वाहवाही दिलाउने पात्र बनेका थिए, अर्थमन्त्री डा. युवराज खतिवडा । नेपालमा पटक–पटक फेरिने सरकारमा विज्ञहरुले मन्त्री बन्न नपाइरहेका बेला डा. खतिवडा ओलीको क्याबिनेटमा सोझै ‘विज्ञ अर्थमन्त्री’ बन्न पाउने भाग्यमानी हुन् ।
दलमा लामो समय योगदान गरेका नेतालाई छाडेर ‘टेक्नोक्र्याट’लाई रोजिएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा सबैभन्दा आशा गरिएका पात्र थिए, राष्ट्र बैंकका पूर्वगभर्नर र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष भइसकेका खतिवडा ।
नेकपा सचिवालयले वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेपछि अब अर्थमन्त्री डा. खतिवडाको कार्यकाल थपिने सम्भावना सकिएको छ । र, उनी आजैदखि सिंहदरबारबाट बाहिरिँदैछन् । खतिवडाको कार्यकाल भोलिसम्म रहने भएता पनि भोलि शनिबार परेकाले उनले अर्थमन्त्रीका रुपमा काम गर्न पाउने आज अन्तिम दिन हो ।
विज्ञका रुपमा अर्थमन्त्री खतिवडाले केपी ओलीको मन्त्रिपरिषदमा बसेर के–कस्ता कामहरु गरे ? यसबारे भविश्यमा समीक्षा हुँदै जानेछ ।
यो अढाई वर्षमा अर्थमन्त्री खतिवडाले दुईपटक मन्त्रालय पदभार सम्हाल्ने मौका पाए । राष्ट्रिय सभा सदस्यको दुईवर्षे कार्यकाल सकिएपछि गत फागुनमा उनी राजनीतिक रस्साकस्सीकै बीचमा अर्थमन्त्रीमा पुनः नियुक्त भएका थिए । यो पुनर्नियुक्तिको ६ महिने कार्यकाल पनि समाप्त भएको छ ।
खतिवडाको बहिर्गमन कोरोनाका कारण उत्पन्न अत्यन्त प्रतिकुल अवस्थाका बीच भएको छ । उनको फिर्तीको समयमा देश एउटा गम्भीर आर्थिक समस्यासँग जुध्दैछ ।
महामारीसँगसँगै उत्पन्न आर्थिक समस्यासँगको लडाइँको बीचमा हुन लागेको कमाण्डरको हेरफेरले कस्तो नतिजा दिन्छ भन्ने भविष्यले नै बताउने नै छ । तर, खतिवडाको कार्यकालको समीक्षा भने यही विन्दुमा पनि हुनेछ ।खतिवडाले आर्थिक सुशासनको नारा दिएर सिंहदरबारमा बजेट माग्न धाउने सांसद, नेतादेखि स्थानीय तहका जनप्रतिनिधिसम्मलाई रुखो जवाफ फर्काए । जसका कारण सुरुबाटै उनले राजनीतिकरुपमा प्रधानमन्त्रीबाहेक अन्य नेताहरुको बलियो साथ पाउन सकेनन्
अर्थविद डा. डिल्लीराज खनाल व्यक्तिगतरुपमा अर्थमन्त्रीको भन्दा पनि समग्र सरकारको काम गराइ र त्यसबाट प्राप्त नतिजाको समीक्षा हुनुपर्ने बताउँछन् । संविधानको मर्म र सत्तारुढ पार्टीको घोषणापत्रअनुरुप समाजवाद उन्मुख अर्थतन्त्रका लागि अपेक्षाकृत ढंगमा काम हुन नसकेको उनको विश्लेषण छ ।
‘सिंगो आर्थिक तथा बजेटरी जुन किसिमको छ, आधारभूत रुपमा त्यो नै मूल बाधक हो, त्यसलाई नसुधारी आशाउन्मुख काम गर्न सकिने अवस्था छैन,’ खनाल भन्छन्,‘त्यही कारणले भनिए र सोचेजस्तो नतिजा आएन।’
सुशासन, जवाफदेहिता, पारदर्शिता लगायतका पक्षमा समस्याहरु रहेको भन्दै यसलाई सुधार्न आवश्यक पहल र प्रयास हुन नसकेको उनले बताए । खनालले आर्थिक विकास नयाँ अध्यायमा जानुपर्ने भए पनि यथास्थितिमै हिँड्ने काम हुँदा समस्या भएको बताए ।
‘नयाँ दिशा र गतिमा जान अवरोधहरु होला्न । तर, पनि यसलाई पन्छाउने काम सरकारकै थियो,’ खनाल भन्छ्न, ‘यो अढाई वर्षका कतिपय कुरामा अघि जानुको साटो पछाडि फर्किएको पनि देखियो, जुन हुनै हुँदैनथ्यो ।’
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...