२०८३ असार ३०, मंगलवार
July 14, 2026, Tuesday

५० प्रतिशत अनुदानमा बेलौरीका किसानलाई आधुनिक कृषि उपकरण वितरण

५० प्रतिशत अनुदानमा बेलौरीका किसानलाई आधुनिक कृषि उपकरण वितरण

कञ्चनपुर । कृषिलाई प्रविधिमैत्री, आधुनिक र व्यावसायिक बनाउने उद्देश्यका साथ कञ्चनपुरको बेलौरी नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई आधुनिक कृषि उपकरण वितरण गरेको छ।

चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत नगरपालिकाको कृषि विकास शाखाले कृषक, कृषक समूह तथा कृषि फार्मलाई कुल १८२ थान कृषि यन्त्र तथा उपकरण हस्तान्तरण गरेको हो। यस कार्यक्रमका लागि नगरपालिका र लाभग्राही किसानले समान रूपमा रु. ४२–४२ लाख बराबरको लगानी गरेका छन्।

कृषि विकास शाखाका प्राविधिक सहायक हरिश सेठीका अनुसार वितरण गरिएका उपकरणमा ९२ थान विद्युतीय सिँचाइ मोटर, १७ थान पम्पसेट, १० थान मिनी टिलर, पाँच थान रोटाभेटर, १० थान कल्टिभेटर, १० थान २२ हर्सपावरका पावर टिलर लगायतका सामग्री रहेका छन्।

यस्तै, पाँच थान चारचक्के पावर टिलर, दुई थान सुगरकेन मल्चर, दुई थान राजाहल, दुई थान रिपर, दुई थान कम्बाइन मिल, दुई थान लेजर ल्यान्ड लेभलर, एक थान रिजर तथा पाँच थान पावर स्प्रेयर र ट्रेन्चर समेत किसानलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ।

उपकरण वितरण कार्यक्रममा नगर प्रमुख पोतिलाल चौधरीले कृषि क्षेत्रलाई आधुनिक र व्यावसायिक बनाउने लक्ष्यसहित नगरपालिकाले निरन्तर लगानी गर्दै आएको बताए। आधुनिक उपकरणको प्रयोगबाट श्रम अभाव कम हुने, उत्पादन लागत घट्ने, समयमै खेतीपाती सम्पन्न हुने तथा किसानको आम्दानी बढ्ने विश्वास उनले व्यक्त गरे।

नगर उपप्रमुख जोगराम चौधरीले बेलौरीको आर्थिक समृद्धिको मुख्य आधार कृषि भएकाले आधुनिक प्रविधिमा आधारित खेती प्रणाली विस्तार गर्नु आवश्यक रहेको बताए।

कृषि विकास शाखाका प्रमुख सुमनराज जोशीका अनुसार कृषि यान्त्रिकीकरण कार्यक्रमले खेतीपाती समयमै सम्पन्न गर्न, उत्पादन लागत घटाउन र कृषि उत्पादकत्व वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

बेलौरी नगरपालिकाले पछिल्ला वर्षहरूमा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै विभिन्न अनुदान, प्रविधि हस्तान्तरण तथा कृषि यान्त्रिकीकरणका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

Related News

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक तत्काल मर्मत गर्न निर्देशन
  • २०८३ असार २४

बझाङ जीप दुर्घटनापछि पीडितलाई स्थानीय तहबाट आर्थिक सहयोग, जोखिमयुक्त सडक...

TOP