२०७६ सालको सुरुवात नेपालीहरुका लागि राम्रै भए पनि अन्त सुखद् भएन। कोरोना भाइरसको जोखिमका कारण लागू गरिएको बन्दाबन्दी (लकडाउन) का कारण नयाँ वर्ष पनि घरभित्रै बित्ने भएको छ।
उत्पादनमुखी हुनुपर्ने नेपालको अर्थतन्त्र वितरणमुखी भएपछि धारासायी बन्दै गएको छ। कोरोना महामारीले समाज त्रसित छँदै थियो, कोरोना नियन्त्रणका लागि खरिद गर्न लागिएको स्वास्थ्य उपकरण सरकारी स्तरबाटै भ्रष्टाचार भएको आशंका उब्जिएको छ।
२०७६ का लागि प्रधानमन्त्री केपी ओलीले दुई घोषणा गरेका थिए। अन्य थुप्रै घोषणा थिए तर यी दुई बढी चर्चामा रहे। २०७४ सालको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनताका निकै चर्चाको विषय बनेको थियो, नेपालको आफ्नै पानी जहाज र रेल।
तत्कालिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रेल र पानी जहाजको सपना निकै बाँडेका थिए। जनताले कम्युनिष्ट पार्टीलाई बहुमत दिए। ओली आफूले बाँडेका सपना पूरा गर्नसक्ने शक्तिशाली प्रधानमन्त्री बने।
‘रेलको कुरा गर्दा खेलौना देखाए, जहाजको कुरा गर्दा बाल्टीमा पानी हालेर कागजको जहाज बनाएर उडाए। हेर्दाहेर्दै हनुमाननगरबाट रेल चल्छ। अहिले सन् २०१८ हो, सन् २०१९को सुरूमै जहाज चल्छ। पुस १६ गते स्टिमर चढेर कलकत्ता गइन्छ। सबैलाई निम्तो छ,’ २०७५ जेठ ३ गते मदन भण्डारीको जन्मजयन्ती सभामा उपस्थित सयौँ नेता–कार्यकर्ताका सामु प्रधानमन्त्रीले घोषणा गरेका थिए।
अहिले सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको अर्को भिडियो भाइरल भइरहेको छ। जसमा उनले ठोकुवा गरेका छन्– २०७५ मा नभए २०७६ सम्म पानी जहाज कुद्नेछ।’
तर, २०७६ पनि गयो, पानी जहाज चलेन। आफ्नै झण्डा बोकेको पानी जहाज समुद्रबाट हनुमाननगरसम्म मालसामान बोकेर आएन।
पानी जहाजको टिकट कटाउनसम्मको निम्तो दिएको ओली सरकारले पानी जहाज कार्यालय स्थापना गर्नु बाहेकको अन्य काम गर्न सकेन। पानी जहाज कार्यालय अहिले पनि अलपत्र अवस्थामा छ। २०७६ फागुन २ गते पानी जहाज कार्यालय स्थापना भएको छ।
नयाँ रेल हैन, जनकपुरको रेल पनि कुदेन
प्रधानमन्त्री ओलीले देशका विभिन्न शहरलाई छिमेकी चीन र भारतसँग रेल मार्गले जोड्ने दाबी गरेका थिए। पहाडलाई चिर्दै चीनबाट रेल काठमाडौं आइपुग्ने दाबी पनि प्रधानमन्त्रीको थियो।
प्रधानमन्त्री ओलीले जनकपुर–जयनगर रेल्वे २०७५ भित्रै सञ्चालनमा आउने दाबी पटक पटक गरेका थिए। २०७६ मा त कैयौं पटक मिति नै घोषणा भएको थियो।
जनकपुर–जयनगरका लागि खरिद गरिएको रेल नेपाल आउन अझै समय लाग्ने भएको छ। रेल विक्रेता भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन र रेल विभागबीच चैत १८ गते पहिलो रेल सेट हस्तान्तरण गर्ने सहमति भएको थियो। तर, लकडाउनका कारण रेल सेट हस्तान्तरण हुन नसकेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जनाएका छन्।
रेल सञ्चालन गर्ने प्राविधिक नभएसम्म नेपालमा रेल ल्याएर राख्ने ठाउँको पनि अभाव छ। ग्यारेजमा राख्न पनि सुरक्षा दिनुपर्छ। रेल सञ्चालन गर्न आवश्यक पूर्व तयारी पूरा नभएसँगै कोंकणकै मातहतमा रेल राखिनेछ। अर्कोतर्फ रेल सञ्चालनका लागि सरकारले पूर्व तयारी स्वरूप रेल्वे विधेयक संसदमा विचाराधीन अवस्थामा छ।
बिना सिलिण्डर ग्यास, बिजुलीवाला बस
प्रधानमन्त्री ओलीको अरु धेरै महत्वाकांक्षा मध्ये बिना सिलिण्डर पाइपबाट घरघरमा ग्याँस पुर्याउने पनि थियो। विराटनगरमा प्रयोग पनि भयो। तर, असफल भयो।
अहिले लकडाउनको अवधिमा पनि सरकारले आधा–आधा सिलिन्डर ग्यास बाँडेको थियो।
यसैगरी २०७५ कात्तिक ५ गते तामझामका साथ बिजुली बसको उद्घाटन प्रधानमन्त्रीले गरेका थिए।
उनले सन् २०२० सम्म नेपालमा २० प्रतिशत गाडी बिजुलीबाट चल्ने घोषणा गरेका थिए। तर, साझा यातायातलाई बिजुली बस खरिद गर्न दिइएको रकम पनि फिर्ता लिइएको छ।
मेलम्चीको पानी २०७६ को वैशाखभित्रै काठमाडौंमा झर्ने दाबी प्रधानमन्त्री ओलीको थियो। तर, २०७७ सालको वैशाखभित्र पनि पानी काठमाडौंमा झर्ने सम्भावना छैन।
प्रधानमन्त्री केपी शर्मा ओलीका भविष्यवाणीहरु गलत सावित भएपछि उनका गुरु नेता राधाकृष्ण मैनालीले लेखेको एउटा लेख सम्झिन्छन् धेरैले।
प्रधानमन्त्री ओलीको सन्दर्भमा २०७६ सालमा निकै चर्चामा रहेको उक्त लेखमा मैनालीले ओलीलाई ‘उधुम गफाडी’ भनेका थिए।
कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेवबाट स्रोत नखुलेको २५...