२०८१ बैशाख २८, शुक्रबार
May 10, 2024, Friday

पहाडमा महल ठड्याइरहेका पौरखी संघारी


दिपायल- कैलालीको टीकापुर नगरपालिका–६, नारायणपुरका ३३ वर्षीय टीकाराम चौधरी कामको खोजीमा पहाड उक्लिन थालेको १५ वर्ष भयो  । पहाडका युवा कामको खोजीमा भारतलगायत अन्य मुलुक पस्दा टिकाराम भने २०/३० जना कामदारको समूह नै बटुलेर पहाड उक्लिने गर्छन् । १८ वर्षको उमेरदेखि सहयोगी कामदारका रूपमा पहाड चढेका चौधरी घर बनाउने दक्ष मिस्त्रीका रूपमा चर्चित छन् । पहाडी क्षेत्रमा कङ्क्रिटको ठुलठुलो भवन निर्माणमा उनको विशेष दक्षता रहेको छ ।

तराईबाट २०/३० जना संघारी (साथी) को नेतृत्व गर्दै पहाडी उक्लिने चौधरी चार÷पाँचतले भवन निर्माण गर्न सिपालु छन् । डोटी जिल्लामा निर्माण गरिएका अधिकांश घर तथा भवन निर्माणमा उनको सिप र परिश्रम खर्चिएको छ । सात वर्षमा करिब ४२ भन्दा बढी निजी तथा सरकारी भवन निर्माण गरिएको उनले बताए । “यस वर्ष पाँच वटा भवन निर्माणको जिम्मा लिएका छौँ,” चौधरीले भने, “वैशाखभित्र निर्माण पूरा भएपछि थप कामको जिम्मा लिन्छौँ । कामदारको माग पनि बढेको छ । समय मिलाउन धौ धौ परेको छ ।”

चौधरी समुहले निर्माण गरेको इलाका प्रहरी कार्यालय दिपायलको भवन

काम नपाएर भारतलगायत खाडी मुलुक भौँतारिनेका लागि तराईका संघारीको समूह उदाहरण बनेको छ । मजदुरका रूपमा बर्सेनि पहाड उक्लिने संघारीको समूह चाडपर्व र खेतीपातीका समयमा मात्रै तराई झर्ने गरेको छ । टीकारामले आफूसँगै श्रीमतीलाई पनि कामका लागि पहाडमा नै ल्याउने गर्छन् । तराईको भन्दा पहाडमा कामको चापका साथै पारिश्रमिक पनि राम्रो पाइने गरेको उनको भनाइ छ ।

उनकी श्रीमती सीमा चौधरी आफ्नो मुख्य आयस्रोत नै निर्माण व्यवसाय बनेको बताउछिन् पहाड उक्लिनुभन्दा पहिला टीकारामको परिवार खेतीपातीमा आश्रित थियो । पछिल्लो समय भने मुख्य आयस्रोत नै निर्माण व्यवसाय बनेको छ ।

कामको खोजीमा पहाड चढ्न थालेपछि आर्थिक अवस्थामा निकै सुधार आएको चौधरी दम्पती बताउन्छ । चौधरीले पहाडमा घर निर्माण गरेर सात जना परिवार धानिरहेका छन् । घरपरिवारका सदस्यको औषधी उपचार र तीन बच्चाको पढाइ खर्च कटाएर वार्षिक तीनदेखि चार लाखसम्म बचत हुने गरेको कालिगड टीकारामले बताए । उनीसँग कार्यरत मजदुरले मासिक ३० हजारसम्म कमाउने गरेका छन् ।

नेपाल प्रेस युनियन डोटी शाखाको भवन निर्माण गर्दै टिकारमा चौधरी

टीकाराम दम्पती र संघारीको समूह एउटा उदाहरण मात्रै हो । विकास निर्माणका काममा तराईका संघारीको पहाडी जिल्लामा उल्लेखनीय सहभागिता रहेको छ । भवन निर्माण, सडक निर्माण, सिँचाइलगायतका कङ्क्रिट सिमेन्टबाट बन्ने आयोजनामा संघारीको सहभागिता बढ्दो छ । निर्माण व्यवसायी सङ्घ डोटीका अध्यक्ष घनश्यामदत्त पाठकले आफ्नो कम्पनीबाट काम गर्ने मजदुर तराईबाटनै ल्याउने गरेको बताए  ।

दक्ष जनशक्तिको अभाव

पहाडी क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुने गरेका कारण तराईबाट चौधरी समूदायका युवा कामको खोजीमा पहाड आउने गरेको निर्माण व्यवसायी बताउँछन् ।

पहाडका युवा मजदुरीका लागि भारतलगायतका अन्य मुलुकमा जाने गरेका कारण पनि जनशक्तिको अभाव हुँदै आएको बताइन्छ । जिल्लामा सिप भएका मजदुर नहुँदा बाहिरबाट ल्याउनुपर्ने बाध्यात्मक अवस्था रहेको निर्माण व्यवसायी सङ्घका अध्यक्ष पाठकले बताए । “पहाडका युवा विदेश पलायन हुने प्रचलन छ, भएको जनशक्ति पनि दक्ष छैन, सिपको अभाव छ, “उनले भने, “सिप सिकेका पनि मन लगाएर काम गर्न चाहँदैनन् । नियमित काममा सहभागी हुँदैनन् ।”

अर्का निर्माण व्यवसायी प्रेमशङ्कर भट्टले गाउँमा युवा नबस्दा सानो सानो कामका लागि पनि बाहिरबाट मजदुर ल्याउनुपर्ने अवस्था रहेको बताए । तालिम लिएको जनशक्ति काम गर्न रुचाउँदैन । उनका अनुसार विकास निर्माणका काममा तराईका कामदारको सहभागिता बढ्दो रहेको छ ।

Related News

युवा व्यवसायी कठायत एक लाख नगद सहित पुरस्कृत
युवा व्यवसायी कठायत एक लाख नगद सहित पुरस्कृत
  • २०८१ बैशाख १६

कैलाली – युवा व्यवसायी रोशन कठायत एक लाख नगद सहित...

TOP