२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

सधैँ विवादमा सेती प्राविधिक शिक्षालय : पुनः लाग्यो ताला

डोटी- सेती प्राविधिक शिक्षालय पटक–पटक विवादमा आउने गरेको छ । शिक्षालय व्यवस्थापन, प्रशासन, अनुशासन, आर्थिक एवं विद्यार्थी बीचको झगडाका कारण विवादमा आउने गरेको छ ।

विवाद आउना साथ शिक्षालयमा पटक–पटक तालाबन्दी हुँदै आएको छ । शिक्षालयमा कहिले विद्यार्थी, कहिले कर्मचारी त कहिले अभिभावकहरुले तालाबन्दी गर्दै आएका छन् । तालबन्दी पछि स्थायी समाधानका लागि सम्बन्धित निकायले ध्यान नदिदा पटक–पटक तालाबन्दी हुने गरेको स्थानीयहरुको गुनासो छ ।

बुधबार शिक्षालयमा पुनः तालाबन्दी गरिएको छ । शिक्षालयको वार्षिक कार्यक्रम अन्तरगत खेलकुद कार्यक्रम भैरहेको समयमा विद्यार्थी बीच झडप हुँदा एक जना विद्यार्थी घाइते भएका छन् । समकक्षी विद्यार्थीहरुको आक्रमणबाट ओभरसियर तेस्रो वर्षमा अध्ययनरत दीपेन्द्र शाह घाइते भएका छन् । उनको दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचार भैरेको छ ।

घटनामा संलग्न विद्यार्थीहरु मंगलबार फरार रहेका थिए । घटनामा संलग्न विद्यार्थी आशिष साउँद लगायत पाँच जनालाई नियन्त्रणमा लिएर छलफल भैरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले जानकारी दिए ।

घटनामा हतियार सहित संलग्न विद्यार्थीहरुलाई शिक्षालय प्रशासनले कारबाही गर्नु पर्ने माग गर्दै अभिभावकहरुले ताला लगाएका हुन् । उनिहरुले शिक्षालय प्रमुख सहितका सञ्चालक समिति बसेर छलफल हुनुपर्ने र शिक्षालय हाताभित्र हुने यस्ता घटनाको जिम्मेबारी शिक्षालय प्रशासनले लिनुपर्ने माग गरेका छन् ।

यसअघि पनि शिक्षालय हात भित्र विद्यार्थीका बीच पटक-पटक झडप हुने गरेको थियो । शिक्षलयका शिक्षक एवं कर्मचारी माथि पनि दुव्र्यवहार भएका घटनाहरु छन् ।

शिक्षालयले दिएन सुरक्षा, गरेन व्यवस्थापन

प्रशिक्षार्थी कल्याण समितिले खेलकुद कार्यक्रम सञ्चालन गरेको भएपनि शिक्षालयका खेलकुद संयोजक दीपक चौधिरी भने शिक्षालयमा छैनन् । यस्ता कार्यक्रमहरु सञ्चालन गर्नुपूर्व विवाद रहित बनाउँन शिक्षालयले भुमिका निर्भाह गर्नु पर्ने हो, त्यसको व्यवस्थापन गर्नुपर्ने हो,‘स्थानीय रमेश जोराले भने,‘पूर्व तयारी विना, सुरक्षा निकायलाई समेत खबर नगरी गेम खेलाउँदा यो घटना भएको छ । शिक्षाल प्रमुखले समेत वास्ता नगरेको देखियो ।’

अभिभावकले शिक्षालयलाई विश्वास गरेर टाढा–टाढाबाट विद्यार्थीहरु पढाउँन पठाएका हुन्छन्,‘स्थानीय भोज शाहले भने,‘उनिहरुको पूर्ण अभिभावकत्व शिक्षालयलाई दिईएको हुन्छ तर शिक्षालयले बेवास्ता गरेको छ ।, विद्यार्थीलाई अनुशासित र मर्यादित बनाउँन नसक्नु पनि शिक्षालय प्रशासनको कमजोरी हो ।’

शिक्षालय प्रमुख वीरेन्द्र बाबु यादव घटना भएको मंगलबार विहान मात्रै शिक्षालयबाट बाहिर गएका छन् । उनले आफु बैठकमा जान लागेको जानकारी गराउँदै हिँडेका हुन् । उनि गएको दिउँसो शिक्षालय हाताभित्रै विद्यार्थीका बीच झडप भएको थियो ।

शिक्षालय प्रमुख यादवले कामका सम्बन्धमा कुनै जिम्मेबारी नै नदिएर गएको शिक्षालयका कर्मचारीले बताए । शिक्षालयका उप–प्रधानाध्यापक हरिदत्त ओझाले आफुले कार्यवाहक जिम्मेबारी दिएको पत्र नपाएको गुनासो गरे । उनले भने,‘मलाई कुनै जिम्मेबारी नै थिएन, म जादैछु भन्नु भयो पत्र दिनु भएन, कतिवेला निस्किनु भयो थाह भएन । पत्र आज मात्रै अन्य कर्मचारीले देखाए तर मैले बुझेको छैन ।’ यस विषयमा कुरा गर्न खोज्दा शिक्षाय प्रमुखको फोन उठाएनन् ।

शिक्षालय प्रमुख यादव शिक्षालय प्रवेश गरेदेखि विवादमा छन् । उनको व्यवहार र कार्यशैलीसँग शिक्षालयका अन्य कर्मचारीहरु पनि रुष्ट देखिन्छन् । शिक्षालयका कर्मचारी भीत्रै आन्तरिक द्वन्द्व रहेका कारण पनि शिक्षालयको अवस्था खस्किदै गएको स्थानीय बताउँछन् । शिक्षालयमा आर्थिक अनियमितता, गैर व्यवस्थापन, प्रशासनिक कमजोरी देखिने गरेको स्थानीयको आरोप छ ।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ पुष ७

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP