२०८१ बैशाख १४, शुक्रबार
April 26, 2024, Friday

फेसबुकमा लाइभ नाटक महोत्सव

‘लक डाउन’को अवधिमा पनि ‘रङ्गमञ्च महोत्सव’ हुने भएको छ। तर यो महोत्सव भर्चुअल हुनेछ। विश्व रङ्गमञ्च दिवसको अवसर पारेर थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले संयुक्त रूपमा महोत्सव आयोजना गर्न लागेको हो।

कोरोना भाइरसको महामारीले पैदा गरेको संकटको समयमा रङ्गमञ्चका दर्शकसँग निरन्तर सम्बन्धमा रहन फेस्टिभल गर्ने सोच बनाएको महोत्सव निर्देशक केदार श्रेष्ठले बताए।

‘हरेक दिन फेसबुक पेजबाट नाटक लाइभ स्ट्रिम हुनेछ। घरमै बसेर नाटक हेर्न सकिनेछ, प्रतिक्रिया दिन सकिनेछ,’ उनले भने।

हरेक साँझ ५ बजे थिएटर मलको फेसबुक पेजमा एउटा नाटक देखाइनेछ। (पेजमा जान यहाँ क्लिक गर्नुस्)

थिएटर मल तथा टिसिसी नेपालका अध्यक्षसमेत रहेका श्रेष्ठ भन्छन्, ‘सेल्फ क्वारेन्टाइनमा बसिरहँदा पनि रङ्गमञ्चबाट टाढा हुन नपरोस् भन्ने हाम्रो ध्येय हो। यसले रङ्गमञ्चका कलाकार र दर्शकबीच अन्तरक्रियाको अवसर पनि सिर्जना गर्छ।’

महोत्सवको पहिलो दिन विश्व रङ्गमञ्च दिवसको सन्देश वाचन गरिने र सम्भव भएसम्म अग्रजहरूको रेकर्डेड शुभकामना सन्देश पनि नाटकअघि देखाइने उनले जानकारी दिए।

‘यस्तो विपद, दुःख र भिन्न वातावरणमा नेपाली रङ्गमञ्चले पनि खास केही गर्न सक्ने अवस्था छैन। रङ्गमञ्च आफैंमा त्यस्तो जटिल माध्यम हो जसले दर्शकसँग नाटकमार्फत प्रत्यक्षमात्र सञ्चार र संवाद गर्न सक्छ,’ उनी भन्छन्, ‘तर पनि यस्तो संकटपूर्ण र जटिल अवस्थामा दर्शक र रङ्गप्रेमीहरूलाई दैनिक जीवनयापन सहज बनाउन र मानसिक रूपमा साथ दिन भर्चुअल माध्यम प्रयोग गर्दै नाटकको भिडिओ फेसबुकमा प्रस्तुत गर्दैछौं।’

उनले ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव’मा आफ्ना नाटकको भिडियोसहित सहभागी हुन सबै रङ्गकर्मीहरुलाई आग्रह पनि गरेका छन्।

महोत्सवलाई ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’ अर्थात ‘क्वारेन्टाइन क्याम्पेनिङ थिएटर फेस्टिभल २०२०’ नाम दिइएको छ। विश्व रङ्गमञ्च दिवस अर्थात २७ मार्चकै दिन सुरू हुने महोत्सवको पहिलो चरण सात दिनसम्म चल्नेछ। महोत्सवको स्लोगन ‘क्वारेन्टाइन, इट्स योर टाइम’ तय भएको छ भने सब स्लोगन ‘फाइभ पिएम, इट्स थिएटर टाइम’ रहनेछ।

लाइभ स्ट्रिमिङमा विभिन्न समय र स्थानमा मञ्चन भएका नाटक प्रस्तुत गरिनेछ। थिएटर मलकै नाटकबाट सुरु गरेर अरू इच्छुक थिएटरहरूका नाटक पनि पालै–पालो प्रस्तुत गर्दै जाने योजना रहेको फेस्टिभल प्रस्तुति संयोजक प्रशुन सिन्धुलीयले जानकारी दिए।

उनले भने, ‘लाइभ स्ट्रिमिङ थिएटर टाइम जस्तै ठिक समयमा हुनेछ र थिएटरकै नियमहरू लागू हुनेछ।’

उनले लाइभ स्ट्रिमिङ पछि नाटक पुनः हेर्न नपाइने भएकाले दर्शकलाई समय छुट्याउनसमेत आग्रह गरे।

Related News

एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
  • २०७६ चैत्र १३

काठमाडौं- सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर...

TOP