
हिमाल जोशी, धनगढी- गत बुधबार बलात्कारपछि हत्या गरिएकी १२ वर्षीय बालिका सम्झना कामीको हत्यारा आरोपितले यसअघि पनि गाउँमै एक बालिकालाई बलात्कार गरेको खुलेको छ। त्यस घटनामा सामान्य भन्दै त्यस बालिकाका आफन्त र गाउँले मिलेर ५ सय रुपैयाँ जरिवाना गरी माफी माग्न लगाएर सम्झनाका हत्यारा आरोपित राजेन्द्र बोहोरालाई छोडेको प्रहरी अनुसन्धानम खुलेको छ।
स्थानीय २० वर्षीय राजेन्द्र बोहोरा अपराधिक पृष्ठभूमिको रहेको प्रहरीको निष्कर्ष छ। राजेन्द्र श्रृङ्खलाबद्ध अपराधका घटनामा जोडिएको पाइएको प्रहरीले जनाएको छ।
खड्काले गत साउन २६ गते मात्रै खिकाला गाउँकै अर्को एक जना १३ वर्षीय दलित बालिकालाई बलात्कार गरेको घटना अनुसन्धानका क्रममा बाहिर आएको छ। उनले साउन २६ गते साँझ ५ स्थानीय धनचडी बोहराको घट्टभित्र पिठो पिस्न लागेकी ती बालिकालाई जबर्जस्ती करणी गरेको बारे आइतबार मात्रै जाहेरी आएको छ।
५ कक्षामा अध्ययनरत बलात्कृत बालिकाले तीन दिनपछि मात्रै त्यो घटना आफ्नी भाउजुलाई सुनाएकी थिइन्। घटनाको बारेमा थाहा पाएपछि बालिकाका दाजुभाउजूले राजेन्द्रका आमाबाबु सहित छलफल गराएका थिए। छलफलमा बसेकाहरुले एकै गाउँका केटाकेटीहरु यस्तो नगर्नु पर्ने भन्दै राजेन्द्रलाई हप्काएर पाँच सय रुपैयाँ जरिवाना गराएर घटना गाउँमै टुङ्ग्याएका थिए।
सम्झना हत्याबारे अनुसन्धानको क्रममा यो घटना बाहिर आएपछि प्रहरीले पीडितलाई जाहेरी दिन लगाएको छ। अहिले यो घटनाको विषयमा पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खडकाले बताए।
प्रहरी नायब उपरीक्षक खडकाले भने-‘सम्झनाको हत्यारा राजेन्द्र नै हो, उसले बलात्कार पछि हत्या गरेको छ, सँगसँगै उसको अर्को घटना पनि बाहिर आएको छ, त्यसको पनि अनुसन्धान गरिरहेका छौँ।’
घटना भएकै दिन घटना स्थल पुगेका प्रहरी नायब उपरीक्षक खडकाको टोलीले राजेन्द्रलाई नियन्त्रणमा लिएको थियो । यति धेरै घटनाक्रम बाहिर आउँदा पनि प्रहरी समक्ष भने राजेन्द्रले अझै अपराध स्वीकार भने गरेका छैनन्।
उसले स्वीकार नगरे पनि ऊ नै अपराधमा संलग्न थियो भन्ने पर्याप्त प्रमाणहरु आफूहरुले जुटाएको बताउँदै प्रहरी नायव उपरीक्षक खडकाले अपराधी राजेन्द्र नै रहेको उल्लेख गरे । राजेन्द्रले यसअघि पटकपटक महिला र बालिकाहरुका लगाएका गहना खोस्ने, कोही नभएको मौका पारेर घरपसल चोरी गर्ने गरेको स्थानीय बताउँछन्।
सोही वडाका वडाअध्यक्ष शेरबहादुर खड्का वडासम्म राजेन्द्रले चोरी गरेको एउटा घटना आएको र त्यस घटनामा जरिवाना र चोरेको रकम फिर्ता गरेर छोडिएको बताउँछन्। उनले साउन २६ गतेको बलात्कार घटनाबारे आफूलाई जानकारी नभएको बताए । राजेन्द्रका बारेमा अहिले आएर धेरै कुरा सुनेको वडाअध्यक्ष खड्काको भनाइ छ।
शनिबार र आइतबार बझाङ सदरमुकाम चैनपुरमा सम्झनाका हत्यारालाई कार्वाही गर्नुपर्ने भन्दै स्थानीय लगायत अधिकारकर्मीहरुले प्रर्दशन गरेका थिए। गत बुधबार साँझ घरबाट गोठमा गाईभैंसी बाध्न हिँडेकी सम्झनाको गोठ पुग्न नपाउँदै बीच बाटोमै हत्या भएको थियो।
सम्झना मष्टा निमाविमा कक्षा-६ मा अध्ययन गर्थिन्। घरकी ठूली छोरी सम्झना हजुरबुवा र हजुरआमासँग बस्दै आएकी थिइन् । उनको आमा बाबु रोजगारीका लागि भारतमा रहेका छन् । देश सञ्चारबाट
दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...