
दिपायल — जिल्ला अस्पताल डोटीमा करार सेवामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरू सेवा सुविधामा भएको विभेद अन्त्य गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका छन्। समान काम र जिम्मेवारी निर्वाह गर्दै आए पनि सेवा सुविधामा विभेद गरिएको भन्दै उनीहरूले शुक्रबारदेखि शान्तिपूर्ण विरोधका कार्यक्रम सुरु गरेका हुन्।
अस्पतालमा कार्यरत दरबन्दीका करार कर्मचारी र अन्य करार सेवाका कर्मचारीबीच सेवा सुविधामा असमानता रहेको उनीहरूको गुनासो छ। समान प्रकृतिको काम र जिम्मेवारी पूरा गर्दै आए पनि कर्मचारीको नियुक्तिको प्रकृतिका आधारमा सेवा सुविधामा फरक व्यवहार गरिएको उनीहरूको भनाइ छ।
उनीहरूका अनुसार स्थायी तथा दरबन्दीका करार कर्मचारीहरूले सरकारले वृद्धि गरेको तलब, महँगी भत्ता, दसैँ पेस्की, पोसाक भत्तालगायतका सुविधा प्राप्त गर्दै आएका छन्। तर, अन्य करार सेवामा कार्यरत कर्मचारीहरू भने यस्ता सुविधाबाट वञ्चित हुँदै आएका छन्।
यस विषयमा लामो समयदेखि प्रदेश सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको भए पनि आफ्ना मागप्रति सुनुवाइ नभएको कर्मचारीहरूले बताएका छन्। पटक–पटक मौखिक तथा लिखित रूपमा माग राख्दा समेत समस्या समाधानका लागि ठोस पहल नभएपछि आन्दोलन गर्न बाध्य भएको उनीहरूको भनाइ छ।
आन्दोलनका क्रममा शुक्रबार कर्मचारीहरूले हातमा कालोपट्टी बाँधेर अस्पताल परिसरमा शान्तिपूर्ण धर्ना दिएका छन्। उनीहरूले आफ्ना माग सम्बोधन नभएसम्म चरणबद्ध रूपमा विरोधका कार्यक्रम अघि बढाउने बताएका छन्।
यद्यपि, आन्दोलनका कार्यक्रम सञ्चालन गर्दा अस्पतालको नियमित स्वास्थ्य सेवा प्रवाहमा अवरोध नपुग्ने र बिरामीहरूलाई कुनै किसिमको असुविधा नहुने गरी विरोधका गतिविधि सञ्चालन गर्ने कर्मचारीहरूले प्रतिबद्धता जनाएका छन्।
कर्मचारीहरूले श्रम विभेदको अन्त्य, समान कामको समान सुविधा र सबै कर्मचारीलाई न्यायोचित सेवा सुविधाको व्यवस्था गर्न प्रदेश सरकार, अस्पताल प्रशासन तथा सम्बन्धित निकायसँग माग गरेका छन्।
समान काम गर्ने कर्मचारीबीच सेवा सुविधामा रहेको असमानता अन्त्य गरी आफूहरूका जायज माग तत्काल सम्बोधन गर्न सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने उनीहरूको जोड छ।
दिपायल – डोटीको शिखर नगरपालिका–८ गोल्मागाडस्थित सेती नदी किनारमा एक...