दार्चुला – दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङस्थित काठादुम्लिङमा श्रमदानमार्फत निर्माण गरिएको ७२ मिटर लामो झोलुङ्गे पुल ८५ दिनमै सम्पन्न भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले मंगलबार आयोजित एक समारोहबीच पुलको उद्घाटन गरेका हुन्।
गत चैत २४ गते शिलान्यास गरिएको पुल साम्पाङको नेतृत्वमा सञ्चालित श्रमदान अभियानमार्फत निर्माण गरिएको हो। पुल निर्माणमा ४०० भन्दा बढी स्वयंसेवीले प्रत्यक्ष श्रमदान गरेका थिए। निर्माण कार्यमा संलग्न नवीन राईका अनुसार निर्धारित समयभित्रै पुल निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको हो।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष साम्पाङले श्रमदानबाट असम्भव देखिएका काम पनि सम्भव हुने बताउँदै पुल कुनै दल वा व्यक्तिको नभई श्रमदाताहरूको पसिनाको प्रतिफल भएको बताए। उनले जनताको आवश्यकता पूरा गर्न श्रमदानको संस्कृतिलाई देशभर विस्तार गर्नुपर्नेमा जोड दिए।
पुल सञ्चालनमा आएपछि काठादुम्लिङबाट कञ्जु क्षेत्रसम्म आवतजावत सहज भएको स्थानीयले बताएका छन्। स्थानीय माया जोहारीले पुल निर्माणले गाउँमा विकासको नयाँ आशा जगाएको उल्लेख गर्दै विद्यालय जाने बालबालिका तथा दैनिक रूपमा खोला वारपार गर्ने स्थानीयलाई ठूलो राहत पुगेको बताइन्।
व्यास गाउँपालिका–२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले विगतमा प्रत्येक वर्ष काठेपुल निर्माण गर्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै झोलुङ्गे पुल बनेपछि स्थायी समाधान भएको बताए। उनले महाकाली नदीमाथि नेपाल–भारत जोड्ने पुल निर्माणका लागि पनि सरकारले पहल गर्नुपर्ने माग गरे।
श्रम संस्कृति पार्टीकी कोषाध्यक्ष समिता राईका अनुसार पुल निर्माण अभियानका लागि देश तथा विदेशबाट हालसम्म १ करोड रुपैयाँभन्दा बढी सहयोग संकलन भएको छ। पुल निर्माणमा करिब ४० लाख रुपैयाँ खर्च भएको र बाँकी आर्थिक विवरण सार्वजनिक गरिने उनले जानकारी दिइन्।
सुरुमा महाकाली नदीमाथि पुल निर्माण गर्ने योजना रहे पनि कूटनीतिक तथा प्राविधिक जटिलताका कारण तत्काल सम्भव नभएपछि वैकल्पिक रूपमा काठादुम्लिङमा पुल निर्माण गरिएको जनाइएको छ।
दार्चुला भ्रमणकै क्रममा अध्यक्ष साम्पाङले श्रम संस्कृति पार्टीको जिल्ला संगठन पनि विस्तार गरेका छन्। खलंगामा आयोजित भेलाले रमेशसिंह जोहारीको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरेको छ।
बझाङमा विद्यालय परिसरको कुटपिट घटनामा घाइते एक जनाको उपचारका क्रममा...