२०८३ बैशाख ७, सोमबार
April 20, 2026, Monday

दोधारा चाँदनी सुक्खा बन्दरगाहले पायो जग्गाको भोगाधिकार

कञ्चनपुर — दोधारा चाँदनी नगरपालिकामा सुक्खा बन्दरगाह निर्माणका लागि सरकारले जग्गाको भोकाधिकार दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको ४३ हेक्टर जमिन सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरेको हो ।

असोज २ मा बसेको मन्त्रिपरिषद् बैठकले सुक्खा बन्दरगाह निर्माणका लागि इन्टरमोडल यातायात विकास समितिलाई जमिनको भोगाधिकार दिने निर्णय गरेको छ। ‘अब सुक्खा बन्दरगाह निर्माणको बाटो खुलेको छ, तीन महिनाभित्र निर्माण सुरु गर्ने गरी हामीले काम गर्नेछौं,’ इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने, ‘अब छिट्टै रुख कटानको काम पनि सुरु हुनेछ ।’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई सुक्खा बन्दरगाह निर्माण हुने जमिनको सट्टाभर्नाका लागि अर्को ठाउँमा जमिनको खोजी गर्न पत्राचार गरिसकेको छ ।

निकुञ्ज कार्यालयले जमिन नपाए इन्टरमोडल यातायात विकास समितिले त्यति बराबरको रकम तिर्नुपर्ने कार्यकारी निर्देशक गजुरेलले जनाए ।

दसैंपछि कार्यालय स्थापना गरेर रुख कटानको काम सुरु हुने गजुरेल बताए । उनले दोधारा चाँदनी नगरपालिका–१ मा रहेको मायापुरी सामुदायिक वनमा सुक्खा बन्दरगाह निर्माण गर्ने भनेर तीन वर्षअघि निर्णय भएको बताए । त्यसअघि दोधारा चाँदनी नगरपालिकाकै वडा नम्बर ८ को कन्जभोजमा बनाउने तयारी थियो । उक्त क्षेत्रका स्थानीयले विरोध गरेपछि निर्माणस्थल परिवर्तन भएको हो ।

Related News

ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
ग्यासको अभावका बीच वायुपंखी चुलो वितरण 
  • २०८१ आश्विन १९

दिपायल – आस्था नेपालले समुदायमा वायुपंखी चुलो वितरण गर्न थालेको...

TOP